पौडेल पनि निस्कासित

पौडेल पनि निस्कासित

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको नेकपामा कारवाही र निस्कासनको सिलसिला जारी छ । एकले अर्को पक्षलाई बर्खास्ती, कारवाही र निस्कासन गर्ने होडबाजी नै चलिरहेका बेला बहुमत पक्षले महासचिव विष्णु पौडेललाई पदमुक्त गरेको छ ।

नेकपाको बहुमत समूह (माधव–प्रचण्ड)को शुक्रबार पेरिसडाडाँमा बसेको स्थायी कमिटीको बैठकले पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको हो । पौडेल एकीकृत नेकपाको महासचिव थिए । पार्टी बिभाजनपछि पौडेल ओली समूहमा लागेका छन् । सो समूहले उनलाई महासचिवमै यथावत राखेको जनाएको छ ।

बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । पार्टी अनुशासन विपरीत काम गर्न नछोडेकाले उनलाई साधारण सदस्यबाट समेत नहटाउने तयारी गरिएको बताइएको छ ।

यसअघि बहुमत पक्षले ओलीलाई अध्यक्षबाट हटाएर माधव कुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो । ओली पक्षले पनि प्रचण्डको कार्यकारी अधिकार खोस्नुका साथै नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको थियो । बहुमत पक्षले गण्डकीको इन्चार्जबाट पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीको प्रदेश इन्चार्जबाट शंकर पोखरेललाई हटाएको थियो ।

कारवाही र बर्खास्तीको क्रम प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म चलिरहेको छ । विभाजनको असर प्रदेश सरकारमा पनि परेको छ । बहुमत पक्षले सरकार प्रदेश १ र वाग्मती प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ भने दलका नेतालाई कारवाही गरेको छ । ओली पक्षले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई स्पष्टिकरण सोध्नेदेखि कारवाही गर्नेसम्मको गतिविधि गरिरहेको छ ।

टिप्पणीहरू