देशमा अनर्थ हुँदैछ : रामचन्द्र पौडेल

देशमा अनर्थ हुँदैछ : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको निर्णय नसच्चिए मुलुकमा अनर्थ हुने बताएका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक,अलोकतान्त्रिक भन्दै उनले सच्याउनुको विकल्प नभएको उल्लेख गरेका छन् । ‘आन्दोलनको बलमा नै प्रधानमन्त्रीको असंवैधानिक कदम सच्याउन सकिन्छ’ भन्दै पौडेलले आन्दोलनमा उत्रिन र आन्दोलित हुन आमकार्यकर्तालाई आग्रह गरेका हुन् ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दा भएकाले संसद पुनर्स्थापनाको पक्षमा बोल्न नहुने सभापति शेरबहादुर देउवाको धारणा सार्वजनिक भइरहेको बेला पौडेलले जनताको आवाज सर्वोच्चसम्म पुर्याउनका लागि आन्दोलनमा आउन कार्यकर्तालाई अपिल गरेका हुन् । ‘देशभर आन्दोलन गरेर हाम्रो आवाज सर्वोच्चमा पु¥याउनुपर्छ,दबाव दिनुपर्छ’,उनले भने, ‘संसद विघटनको निर्णय नसच्चिए देशमा अनर्थ हुन्छ । सबैतिर जुटेर यसविरुद्ध सशक्त आवाज दिनुपर्ने आवश्यकता छ । गाउँ गाउँबाट जुटेर विरोध गरौँ ।’

भोलि शनिबार काँग्रेसले देशभरका ७ सय ५३ वटै पालिकामा गर्न लागेको विरोध कार्यक्रमको पूर्वसन्ध्यामा भर्चुअल सम्बोधनमार्फत् पौडेलले उक्त कुरा बताएका हुन् । संसद विघटनको निर्णयलाई प्रधानमन्त्री ओलीले नै राजनीतिक निर्णय भनेर असंवैधानिक कदमको रूपमा स्वीकारेको पौडेलको जिकिर छ । उनले संविधान र व्यवस्थामाथि एकैसाथ प्रहार भएकोले आन्दोलन गर्नुपरेको बताएका छन् ।

‘यो असंवैधानिक कार्यको तीव्र विरोध गरौँ’, उनले भने, ‘यसले संविधानमा ठूलो क्षति पुगेको छ । ७० वर्ष लगाएर तयार पारेको संविधान र व्यवस्थाको टुङ्गो बल्ल बल्ल लागेका बेला त्यसैमाथि प्रहार भएको छ ।’ प्रतिनिधिसभा विघटनले मुलुकलाई राजनीतिक अस्थिरताको भूमरीमा हाल्ने प्रपञ्च भैरहेको बताउँदै पौडेलले यसको विरुद्ध उत्रिनुपर्नेमा जोड दिए । ‘अन्यथा मुलुकमा अनर्थ हुने’ उनको भनाइ छ ।

टिप्पणीहरू