कमरेडको उत्पत्ति र कम्प्रोम्याटको बिगबिगी !

कमरेडको उत्पत्ति र कम्प्रोम्याटको बिगबिगी !

नारायण पौडेल

कमरेड शब्द स्पेनिश भाषाको कामाराडाबाट आएको हो । जसको शाब्दिक अर्थ कोठामा सँगै बस्ने साथी हुन्छ । कमरेड शब्दले राजनीतिक रंग फ्रान्सेली क्रान्तिबाट पायो । समाजवादी र मजदुरहरूबीच संबोधन गर्नका लागि प्रिय शब्द बन्यो–कमरेड । युरोपमा कमरेड शब्द उन्नाइसौँ शताब्दीमा निकै चल्तीमा थियो । समाजवादी आन्दोलनसँगै कमरेड शब्दको प्रयोग राजनीतिकवृत्तमा व्यापक भएको हो । भारतका नेहरूदेखि नेपाली काँग्रेसका संस्थापक विपी कोइरालाका लागि कामरेड आफ्नै जातको शब्द थियो ।

कमरेड शब्दको साइनो रुसी भाषासँग छैन तर यसको विश्वव्यापीकरण र कम्युनिष्टीकरणका लागि रुसी क्रान्तिको मुख्य हात छ । सोभियत क्रान्तिकारीहरू एकअर्कालाई संबोधन गर्न तबारिस शब्दको प्रयोग गर्थे । छोटकरीमा टोभ भनिन्थ्यो । सोभियत क्रान्तिसम्बद्ध लेख, रचना, दस्ताबेज, भाषण आदिमा तबारिस शब्दको प्रयोग नभएको सायदै भेटिएला । कम्युनिष्टहरूको बन्न पुग्यो । आज विपीका अनुयायी कोही कँग्रेसजनलाई कमरेड भनियो भने उसको सामान्यतया जवाफ हुन्छ – म कमरेड होइन । अर्थात म कम्युनिष्ट होइन ।

नेपालको सन्दर्भमा कमरेड शब्दको प्रयोग सायद उच्चतम विन्दुमा पुगेर ओरालो लाग्ने चरणमा छ । साविकको नेकपा एमालेमा पहिले जुनसुकै नेता– कार्यकर्ताबीच कुरा गर्दा कमरेड शब्दको प्रयोग हुन्थ्यो । पार्टी महासचिव र सेल कमिटीका सदस्यबीच सम्वाद हुँदा उही समान हैसियतको शब्द कमरेडको प्रयोग सुनिन्थ्यो । विस्तारै यो शब्दको विस्थापन पारिवारिक सम्बन्ध जनाउने शब्दले लिँदै गरेको देखिन्छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीलाई उनका समर्थकले सायदै कमरेड भनेर बोलाउने गर्छन् । उनको अति निकट हुँ भन्ने देखिन निःसन्तान ओलीलाई बा भन्न तँछाडमछाड छ । बा प्रवृत्ति कम्युनिष्ट संस्कृति नभएको भन्दै वरिष्ठ नेता माधव नेपालले सार्वजनिक रूपमै आपत्ति जनाइसकेका छन् ।

साविकको नेकपा माओवादीमा औपचारिक संबोधनका सन्दर्भमा कमरेड शब्द चल्तीमा थियो । व्यक्तिगत भाषामा कमरेड शब्दको साटो सर बढी प्रयोग भएको देखिन्छ । प्रचण्डलाई भूमिगतकालमै एकथरीले बा भनेर संबोधन गर्थे । अहिले एक कदम अघि बढेर प्रचण्डलाई सिएम र उनकी पत्नीलाई ममी भनेर संबोधन गर्ने परिवारबाहिरका केन्द्रीय सदस्य पनि धेरै छन् । डाँडापाखामा जन्मे÷हुर्केका र मम्मी भन्ने शब्दसँग शान्तिप्रक्रियामा आएपछि साक्षात्कार गरेका युवा नेताहरूसमेतले निर्धक्क सीता कमरेडलाई मम्मी भनिदिन सक्ने हैसियत पूर्वमाओवादीको बनेको छ ।

अहिले कमरेडहरू कमरेड भन्दैनन् । न त कमरेडहरू मर्दा र पर्दाका भएका छन् । बरु निर्वस्त्र एकअर्कालाई सिध्याउने अर्जुनदृष्टिमा छन् ।

कमरेड शब्दको मूलमै फर्कौं । कोठामा सँगै बस्ने साथी अर्थात् आफ्नो सुख–दुःख निर्वस्त्र रूपमा देखेको मर्दापर्दा सबैभन्दा बढी काम लाग्ने मित्र भन्ने अर्थ थियो कमरेडको । राज्यव्यवस्थाअनुसार संबोधनका लागि विभिन्न शब्दको प्रयोग हुन्थ्यो वा हुने गर्छ । राजा र रैतीलाई गर्ने संबोधनमा फरक, धनी र गरिबका लागि गरिने संबोधनमा फरक, लिंगअनुसार संबोधनमा फरक अर्थात् संबोधनमै मान्छेको औकात झल्काउने शब्दको प्रयोग समाजमा थिए वा छन् । समाजवादी हुन् कि कम्युनिष्टहरू संबोधनमै हुने विभेद रुचाउँदैनथे । त्यसैले वर्ग, जात, औकात, लिंग केही नछुटाउने कमरेड शब्दलाई प्रगतिशीलले पछ्याए । अहिले कमरेडहरू कमरेड भन्दैनन् । न त कमरेडहरू मर्दा र पर्दाका भएका छन् । बरु निर्वस्त्र एकअर्कालाई सिध्याउने अर्जुनदृष्टिमा छन् ।

कमरेडहरू दस्ताबेजमा वैज्ञानिक समाजवादको कुरा गर्छन् । सरल भाषामा भन्दा विज्ञान र प्रमाणलाई विश्वास गर्ने र समाजको हितमा आफूलाई समर्पित गर्ने वाद नै वैज्ञानिक समाजवाद हो । तर, कमरेडहरूका दस्ताबेजमा वैज्ञानिक समाजवाद शब्दावली भेटिए पनि वैज्ञानिक समाजवादको अभ्यास भेटिन छाडेको छ । मन पर्दा अलकत्रा भए पनि चाट्ने र रिस उठ्दा मुलाझैँ काट्ने प्रवृत्ति कमरेडहरूमा झ्यांगिएको छ । आम मानिसले समेत झ्याप्प भन्न डराउने आरोप प्रचण्डले ओलीलाई र ओलीले प्रचण्डलाई औपचारिक रूपमै लगाएका छन् । भोलि मिल्ने परिस्थिति देखिए शब्दको प्रयोगमा आकाश जमिनको फरक पर्नेछ । र, भनिनेछ–देशभक्त, क्रान्तिकारी, कम्युनिष्ट…हरू एक हुनु आजको आवश्यकता हो । अरे बाबा, आजको भ्रष्टाचारी, देशद्रोही, प्रतिगामी….आदि रातारात कसरी देशभक्त, क्रान्तिकारी, कम्युनिष्ट हुन सक्छ ? विज्ञानमा विश्वास गर्ने र समाजमा समर्पित हुने वैज्ञानिक समाजवादका अनुयायीसँग यसको उत्तर छ ?

आफू मरेर पनि सहयोद्धालाई बचाउने सिद्धान्त बोकेका कमरेडहरू एकअर्कालाई सिध्याउन विभिन्न हतियार प्रयोग गर्दै छन् । त्यसमध्येको एउटा हतियार हो–कम्प्रोम्याट । भौतिक कुरासँग सम्झौता अर्थात कम्प्रोमाइज गरेको भन्ने अर्थ लाग्ने यो शब्दको राजनीतिक र साँस्कृतिक अर्थ भने व्यापक छ । कसैलाई आमरूपमा नष्ट गर्नुप¥यो भने उसले यौनका सवालमा गरेको सम्झौता वा रोमान्सलाई बाहिर ल्याउने षड्यन्त्रलाई कम्प्रोम्याट भनिन्छ । रुसी भाषासँग सम्बन्धित कम्प्रोम्याटको प्रयोग राजनीतिमा नयाँ होइन । तर, जनताले बुझ्ने गरी अर्थात् नांगोरूपमा कम्प्रोम्याटको प्रयोग पछिल्लो चरण हुन थालेको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा कम्प्रोम्याटबाट शिकार भएका सबैभन्दा उच्चपदस्थ व्यक्ति हुन् । उनी र रोशनी शाहीबीचको विवाद पार्टीको मूलपंक्तिका लागि नयाँ थिएन । पार्टीमा उजुरीसमेत दिइएको बताइन्छ । तर, सुनुवाइ गरिएनछ । जब कुरा सार्वजनिक भयो, कृष्णबहादुर महरालाई पदमुक्त हुन निर्देशन दिइयो । त्यसपछि महरा प्रकरणलाई विशुद्ध अदालती विषयका रूपमा मात्र हेरियो । केन्द्रीय नेतृत्वमा रहिसकेको र संवैधानिक ओहोदामा रहेको व्यक्तिमाथिको आरोप विशुद्ध अदालती प्रसंग मात्र हो ? अझ कम्युनिष्ट पार्टीका लागि त्यो ‘बुर्जुवा’ अदालती विषयभन्दा आन्तरिक छानबिन, सजायँ वा न्यायको विषय हुनु पथ्र्यो । तर, अहिलेसम्म आन्तरिक छानबिन गरिएको छैन, पार्टीमा एजेण्डासमेत बनेको छैन ।

महरा प्रकरणको वर्षदिन नपुग्दै अर्का नेता नारायणकाजी श्रेष्ठमाथि कम्प्रोम्याटको तरवार झुण्डिएको छ । सार्वजनिक भएको भिडियोमा श्रेष्ठ दोषी हुने कुनै आधार देखिँदैन, न त उनी आफू प्रत्यक्ष लेनदेनमा रहेको बुझिन्छ । तर, उनको स्वकीय सचिव रहिसकेकी सुसन कर्माचार्य मुझिएको विषय रहेकाले श्रेष्ठ पनि दोषी रहेको स्थापित गर्न खोजिएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीका कटु आलोचकको रूपमा देखिएकाले उनको विरुद्ध ओली समर्थकहरू खुलेयाम लागेका छन् । अविवाहित श्रेष्ठ कम्युनिष्ट नैतिक र आदर्शवादी हुनुपर्ने बताउने गर्छन् । उनलाई नैतिकता र आदर्शवाद यही हो भनेर आमरूपमा खिसिट्युरी गरिएको छ । नारायणकाजी लेनदेनमा सहभागी छन् वा छैनन्, उनीसँग नाम जोडिएका महिला पात्र र उनको सम्बन्ध विशुद्ध कमरेड्ली वा अरू केही ? यसबारे सायदै कहिलै छानबिन होला । तर, यो विषयलाई लिएर कमरेडहरूले छेडखानी हान्न नारायणकाजीलाई सायदै कहिल्यै छाड्नेछन् ।

एकले अर्कोलाई सिध्याउन प्रयोग गरिएको र हालै अदालती प्रक्रियाबाट बिट मारिएको अर्को कम्प्रोम्याट हो –शेरधन राई र बालिका खड्काको सम्बन्ध । बालिकाले आफूमाथि यौन शोषणसमेत भएको भनी राईविरुद्ध पार्टीमा निवेदन दिएकी थिइन् । त्यसबारे आधिकारिक छलफल नै भएन । केटी नै उस्ती भन्ने मनोविज्ञान शीर्ष नेतृत्वमा देखियो । खड्का न्यायको माग गर्दै अदालत पुगिन् । पछि अदालतमा खड्काले अर्काको लहैलहैमा लागेर आफू राईका बिरुद्ध लागेको भन्दै पश्चातापपूर्ण लिखित निवेदन दिएपछि कुरा टुँगियो । अर्का नेता कृपाशुर शेर्पाको उक्साहटमा खड्का राईविरुद्ध खनिएको राई पक्षको दाबी छ । केन्द्रीय तहका दुई नेताबीचको यो स्तरको दाउपेच हुँदा पनि साविकको नेकपा एमालेमा कुनै आधिकारिक एजेण्डा बनेन । अहिले नेकपालाई यस्ता कुरा गर्ने फुर्सद नै छैन । पूर्वप्रधानमन्त्री रहिसकेका माधव नेपाललाई अख्तियार लगाउने भय सिर्जना गरिएको छ । अख्तियार प्रमुखलाई नेपालविरुद्ध मुद्दा चलाउन प्रधानमन्त्री ओलीले दबाब दिएको बताइन्छ । प्रचण्डमाथि हेग पु¥याउने डर देखाइन्छ ।

भनिरहनुपर्दैन नेकपाका हाइकमाण्डदेखि सेल कमिटीका सदस्यसमेत कम्प्रोम्याट प्रयोग गर्ने होडमा वा कम्प्रोम्याटको शिकार हुने जोखिममा छन् । एउटा गुटकाले अर्को गुटकालाई सिध्याउन मात्र होइन आफ्नै गुटभित्र पनि खत्रा दाउपेच हुन थालेका छन् । कुनै बेला एउटै थालमा खाने भनिएका, दाइभाइसरह ठानिएकाहरूबीच श्रीमती खोसेको बात लागेको प्रसंग नेकपावृत्तमा तात्तातो छ । या यो त्यसै सेलाउनेछ या त ऐनमौकामा कम्प्रोम्याट बनाइनेछ । नेकपामा विषय नीतिगत रूपमा उठान गर्न छाडिएको छ । कसैलाई सिध्याउन वा बनाउनका लागि मात्र विषय उठ्न थालेजस्तो देखिँदै गएको छ । नेकपा साइजमा जति विशाल छ उत्ति नै कमरेड्लीपन खुम्चिएको छ । कम्प्रोम्याटको बिगबिगी बढेको छ ।

टिप्पणीहरू