झापाली र स्याङ्जालीबीच झडप

झापाली र स्याङ्जालीबीच झडप

नेकपाका अध्यक्षद्वयबीच पत्र युद्ध चलेकै शैलीमा सांगीतिक क्षेत्रका दुई हस्ती झापाली र स्याङ्जालीबीच पनि लडाइँ जारी छ । गायक प्रमोद खरेल र स्याङ्जाली म्युजिक कम्पनीका मालिक सुवास रेग्मीबीच पत्र युद्ध चलेको हो । १२ वर्षअघिको लफडा निकालेर सुवासले एक करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरिसकेका छन् ।

उनीहरूबीच लफडाको जड हो प्रणय नामको एल्बम । जहाँ याद गर्न पनि त कोही न कोही चाहिँदो रहेछ बोलको गीत चर्चित मात्र भएन । सो गीत गाएसँगै प्रमोदले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । कम्पनीका मालिक सुवासको आक्षेप छ आफ्नो लगानी रहेको एल्बम देश÷विदेशको स्टेज कार्यक्रममा अनुमतिबिना प्रयोग गरी प्रमोदले मनग्य आर्थिक आर्जन गरेको । अहिले सुवासहरू भन्दैछन्– १२ वर्ष प्रमोदलाई कसैले चिन्दैनथ्यो, उनलाई प्रमोद बनाउने नै मै हुँ (विन्ध्यावासिनी हो ) । संगीतकार महेश खड्काकै सम्बन्धका आधारमा आफूले प्रमोदमाथि लाखौं लगानी गरेर अडियो भिडियो तयार गरेको र सोही गीतबाट प्रमोदले लाखौं रोयल्टी बुझेको सिवाषले दावा गरेका छन् । अहिले आफ्नो कम्पनीले लगाएको गुनलाई घुन सम्झिएकै कारण एक करोड क्षतिपूर्ति माग गर्दै उनी प्रतिलिपि रजिष्ट्रारको कार्यालय गुहार्न पुगेका हुन् । खरेलले विन्ध्यबासिनी म्युजिकलाई सम्पूर्ण हिसाब किताब गरी गीतिसंग्रह फिर्ता पाऊँ भन्दै पत्र पठाएका छन् ।

गायक खरेलले विन्ध्यबासिनीलाई लेखेको पत्रको पेट बोली छ, ०६६ चैत २७ गते दुई पक्षबीच भएको सम्झौताबमोजिम आजको मितिसम्म कुनै हिसाब किताब बाँकी नभएको हुँदा सम्पूर्ण प्रतिलिपि अधिकार मै (प्रमोद खरेल)मा निहित रहेको, आफूलाई फिर्ता गरी विन्ध्यबासिनी म्युजिकले डिजिटल प्लेटफर्ममा राखेका सम्पूर्ण झिकिदिन वा रोकिदिन हार्दिक अनुरोध गर्दछु । सोको प्रत्युत्तरमा विन्ध्यबासिनीका मालिक सुवाष रेग्मीले तपाईं यत्तिका वर्षसम्म हराउनुभएकोमा चिन्ता लागेको थियो । ११ वर्षपछि सम्पर्कमा आउनुभयो । साह्रै खुशी लागेको छ । अबको साताभित्र विन्ध्यबासिनीको कार्यालयमा आएर हिसाब किताब फरफारक गर्नु ।

टिप्पणीहरू