खसीको मासु भन्दै बाख्राको मासु बेच्नेलाई कारबाही

खसीको मासु भन्दै बाख्राको मासु बेच्नेलाई कारबाही

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एक व्यापारी कारबाहीमा परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले नेपालगञ्जमा रहेका मासु पसलको शुक्रबार अनुगमन गर्ने क्रममा खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्ने थ्री स्टार फ्रेस हाउसका सञ्चालक अख्तर अलि कारबाहीमा परेका हुन् ।

अनुगमन टोलीले नेपालगञ्जको बागेश्वरी हलरोडमा रहेको थ्री स्टार फ्रेस हाउसबाट बिक्रीका लागि राखिएको ७५ केजी बाख्राको मासु र ४ वटा जिउँदो बाख्रा फेला पारेको थियो ।

मासु पसलको अनुगमनका क्रममा उक्त पसलले झुक्याएर बाख्राको मासु बेच्ने गरेको तथ्य फेला परेको उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष प्रभातकुमारी ठकुरीले जानकारी दिए ।

जानकारी अनुसार, अनुगमन समितिमै रहेको बाणिज्य कार्यालयले थ्री स्टार फ्रेस हाउसका सञ्चालक अख्तर अलिलाई ५० हजार जरिवाना गराउदै बन्द गरेको छ ।

अनुगमनका क्रममा उक्त पसल बिनाअनुमति सञ्चालन गरेको समेत पाइएको छ । यसैगरी फुल्टेक्रामा रहेको आवेश दाना सप्लायर्समा दर्ता बिनै मासु बिक्री बितरण गरिरहेको पाइएको थियो । उक्त पसललाई समेत दर्ता गरेर सञ्चालन गर्न समितिले निर्देशन दिएको छ ।

टिप्पणीहरू