भारतीय सेनापतिको स्वागतमा भव्य तयारी

भारतीय सेनापतिको स्वागतमा भव्य तयारी

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाने नेपाली सेनाको मानार्थ सेनापतिको दर्जा ग्रहण गर्न बुधबार काठमाडौं आउँदै छन् । नरवानेलाई शीतल निवासमा आयोजना गरिने विशेष कार्यक्रममा बिहीबार राष्ट्रपति तथा नेपाली सेनाको परमाधिपति विद्यादेवी भण्डारीले तरवारसहित उक्त दर्जा प्रदान गर्नुहुनेछ ।

नेपाल भ्रमणको क्रममा नरवानेले नेपाली सेनालाई बिशेष प्रकारको एम्बुलेन्स,कोभिड–१९ सँग सम्बन्धित सामाग्री र अन्य बहुपयोगी सामान हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको छ । हस्तान्तरण हुने सामाग्रीमध्ये अत्याधुनिक स्वास्थ्य उपचारको सुविधायुक्त दुईवटा मोबाइल एम्बुलेन्स काठमाडौं ल्याइसकिएको छ ।

भ्रमणको सबै कार्यक्रम अति गोप्य राखिएको छ । परमाधिपतिको हातबाट मानार्थ सेनापतिको उपाधी दिइने हुँदा ट्राफिक प्रहरीको अगुवाइमा नेपाल प्रहरी,सशस्त्र र सेनाको कारकेड शीतल निवास जानेछ । अहिलेसम्मको तयारी हेर्दा भारतीय सेनाध्यक्ष र उनको टोलीलाई हात्तिसार,नागपोखरीस्थित मेरियट होटलमा राख्ने व्यवस्था मिलाइएको बुझिएको छ । उच्च सुरक्षा प्रबन्धको लागि नेपाली सेनासँगै नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूसमेत खटिएका छन् । जंगी अड्डामा देखिएका चार वटै सुरक्षा निकायका गाडीको ताँतीले पनि नरवानेको सुरक्षार्थ सुरक्षाकर्मीको परिचालन व्यवस्थापन दह्रो ढंगले गरिएको देखाएको छ ।

टिप्पणीहरू