चोख्याइए सेनापतिका सन्तान

दुईतारे जर्नेल अजितवरसिं थापालाई लागेको करोडौँको भ्रष्टाचार अभियोग झण्डै एक वर्षको अनुसन्धान र छानबीनपछि फासफुस बनाएर घर पठाइएको छ । थापाको कोर्ट अफ इन्क्वायरी लेफ्टिनेन्ट जनरल प्रभुराम शर्माले गरेका थिए । एक महिना सेवा बाँकी छँदा पूर्व सेनापति धर्मपालबर सिंह थापाका छोरा चोखिएर ठाँटका साथ घर बिदामा बसेका छन् ।

गोला, बारुद बनाउने मेशिन खरिदमा अरबौंको घप्लाबाजी भएको प्रचार स्वयं सेनाका एकथरिले शुरुमै गरेका थिए । तर, आरोपित थापा भने शुरुदेखि नै आफूलाई लगाइएको बात पुष्टि नहुनेमा ढुक्क थिए भनिन्छ । हुन तः अनुसन्धानको क्रममा थापाले आफूले निकै अपमानित हुनुपरेको आफन्तहरूसँग बताएका थिए । पूर्वसेनापतिको छोरा भएर पनि आवश्यकताभन्दा बढी पेलिएको उनको भनाई थियो ।

प्राविधिकहरूमध्ये सबैभन्दा वरिष्ठ योगेन्द्र खाँणचाँहि काँग्रेस नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँडको भाइ भएकाले उनीबिरुद्ध कसैले पनि चुईंक्क कुरो उठाउन नसकेको बताइन्छ । त्यसपछिका प्राविधिक भुवन अधिकारी जो लेखामा कार्यरत थिए उनले पनि सेनापतिलाई टाढाको नाता लगाएपछि कारबाही टरेको थियो ।
अधिकारीले प्रमुखको ग्रिन सिग्नल पाएपछि जर्नेलहरूको भेलामा सहभागीहरूलाई ‘सटअप’ भन्दै ‘दुई तारे जर्साबले क्याल्कुलेटर थिचेर सल्लाह दिन आवश्यक नरहेको र आफूलाई आर्थिक नियमहरूको बारेमा मात्र सल्लाह सुझाव चाहिएको’ बताएका थिए ।

सेनापति पूर्णचन्द्र थापा प्राविधिकहरूसँग फायर हुनुुमा फाष्टट्र्याकको राजनीति जोडिएको बताइन्छ । यसअघि उनले एउटा कार्यक्रमलाई संबोधन गर्ने क्रममा प्राविधिकहरूलाई लक्ष्यित गर्दै सेनाका प्राविधिकहरू पुल्पुलिएकाले त्यस्ता खराबहरूलाई जरैदेखि उन्मूलन गर्नुपर्ने आशय राखेका थिए । थापा यसअघि सेनाको फाष्टट्याक हेर्ने प्रमुख नै थिए ।

तर, योगेन्द्रका दाजु बालकृष्ण खाँडले सेनाभित्रको सम्पूर्ण निर्माण प्राविधिक अधिकृतको जिम्मेवारीमा हुनुपर्ने बताएपछि थापा सबै प्राविधिकमाथि खनिन थालेको उनीहरूको बुझाई छ । खाँणलाई ठीक पार्न अवकाशपछि पनि सेनापतिले उनको जिम्मेवारीमा रहेका निर्माण कार्यहरूको गहिरो अनुसन्धान गर्न लगाए । तर, पहाड खन्दा मुसो मात्रै निस्केपछि खाँणको विषय त्यत्तिकै सामसुम भएको बताइन्छ ।

टिप्पणीहरू