“र” चिफको नेपालमा ब्यस्त समय तालिका

“र” चिफको नेपालमा ब्यस्त समय तालिका

छद्म भेषमा सूचना संकलन र चलखेल गर्नुपर्ने भारतीय अन्तर्राष्ट्रिय जासुसी संस्था ‘र’ का प्रमुख सामन्त गोयलले सेनाको विशेष विमानबाट बुधबार दिउँसो एक्कासी काठमाडौं आएर खुल्लमखुल्ला सरकार प्रमुखसङ्ग भेट्वार्ता सकाएका छन् । लन्च यतै, डिनर यतै अनि भोलिपल्ट बिहानको ब्रेकफाष्ट पनि यतै लिएर उनको टोली अस्ति बिहान नयाँ दिल्लीतर्फ फर्के पनि उक्त भ्रमणको तरङ्ग भने सकिएकै छैन । विशेषगरी पार्टीभित्रको तनावमा पर्नुभएका सरकार प्रमुखसँग भारतीय खुफिया संस्थाका प्रमुखले गरेको गोप्य भेटघाटले नयाँ समीकरणको तरङ्गलाई छताछुल्ल पारिदिएको छ ।

स्रोतका अनुसार गोयल सवार वायुसेनाको इण्डिया फोक्स्टर चार्ली ४६२० कल साइनको विशेष विमान कात्तिक ५ गते मध्यान्ह १२:४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । नौ जना सवार भनिएको उक्त विमानमा गोयलसँगै भूकम्पताका नेपालस्थित “र” को स्टेशनमा रहेका अरुण जैन पनि थिए ।

बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा समेत केही कोठा बुक गरिएको भएपनि टोली विमानस्थलबाट सोझै १ बजे चाबहिल चुच्चेपाटीस्थित होटल हायात रिजेन्सीमा पुगेको थियो । लन्चपछि केहीबेर आराम गरेर गोयल बा ००१ च ०२०९ नम्बरको गाडी चढेर ४ बजेर ४ मिनेटमा लैनचौरस्थित दूतावास छिरेका थिए ।

दूतावासमा केही बेरको छलफलपछि साँझको नास्ता लिएर राति ९ बजे प्रधानमन्त्री निवास बालुवाटार छिरेका उनी त्यहाँबाट निस्कँदा मध्यरातको १२ बजेर १० मिनेट गएको उच्च स्रोतले दाबी गरेको छ । राती ठ्याक्कै तीन घण्टा प्रधानमन्त्रीसँग गोयलले मज्जैसङ्ग वार्ता गरेका थिए ।

प्रधानमन्त्री निवासबाट निस्केर गोयल मध्यरात ‘र’ का काठमाडौं इन्चार्ज अभिजित हल्दरको निवास बालुवाटार चोक पुगे । प्रधानमन्त्री निवास र हल्दरको निवास मुश्किलले केही केही सय मीटरको दूरीमा छ । “र” का नेपाल प्रमुखको निम्ति राष्ट्र बैंकको दक्षिण पश्चिम कुनोमा अवस्थित सभामुख (हाल राष्ट्रिय सभा अध्यक्ष) को निवासबाट ठ्याक्कै सामुन्ने दक्षिणतर्फ बाटैमा विपुला निवास रहेको छ ।

राती अभिजितसँग आधा घण्टा भलाकुसारी गरेपछि गोयलको टोली आरामको निम्ति रातको पौने दुई बजे बल्ल हायात होटल पुगेको थियो । बिहान ८ बजे ब्रेकफास्ट खाएपछि उनी र अरुण जैन ९:४० बजे विमानस्थल पुगेर १० बजेर ८ मिनेटमा फर्केको सेड्युलमा देखिन्छ ।

टिप्पणीहरू