पत्नीपीडित राष्ट्रपतिको रामकहानी « janaaasthanews
१३ कार्तिक २०७७, बिहीबार

पत्नीपीडित राष्ट्रपतिको रामकहानी



अमेरिकाको १६ औं राष्ट्रपति अब्राहम लिंकनलाई मानिसहरु धेरै दयालु, गरिबीबाट माथि उठेर राष्ट्रपति बनेका, दास प्रथाबाट जनतालाई उन्मुक्ति दिएका महानायकको रुपमा चिन्दछन् । हुन पनि उनी हिउँदको चिसो प्रहरमा काठका टुक्राटाक्रीले बनाइएको झुपडीमा जन्मेका थिए । राति चुलोको उज्यालोमा अथवा विश्वकर्मा (कामी) को पसलमा बलिरहेको आगोको उज्यालो अगाडि बसेर पढ्थे । जीवनमा के मात्र गरेनन् ? सुँगुर काट्ने र काठ चिर्ने कामसम्म गरे । खेतमा मजदुरी गरे । कुस्ती लडे । वकिल बनेर सम्झन लायक बहसमा भाग लिए र अन्त्यमा सन् १८६० मा राष्ट्रपतिको चुनाव जिते । राम्रा र असल कामहरु गरेको कारण समाजका दुष्टको हातबाट मारिए ।

लिंकनले गरिबी झेले, मिहिनेत गरे, सम्पूर्ण जीवन संघर्षमै बिताए । यीबाहेक पनि उनको जीवनको कहालीलाग्दो पाटो छ, त्यो हो उनकी जीवन संगिनी गतिली नहुनु । लिंकनले आफ्नो जीवनको २० वर्ष वकालतमै बिताएका थिए । त्यसबेला सहयोगी थिए– विलियम एच. हेड्रेन । जुन दिन लिंकनको बिहे भयो, त्यो दिन उनको जीवनको खुशीको अन्तिम दिन थियो । उनका अनुसार लिंकनकी पत्नी मेरी टाड घमण्डी र चाँडै रिसाउने अनि अत्यन्त महत्वाकांक्षी थिइन् । आत्मविश्वासी पनि । उनले एकपटक भनेकी थिइन्, ‘म बिहे त्योसित गर्छु, जो पछि अमेरिकाको राष्ट्रपति बन्न सक्षम होस् ।’

मेरी लिंकनका राजनीतिक प्रतिद्वन्द्वी स्टेफन डगलससित प्रेम गर्थिन् । डगलस त्यसबेला राजनीतिमा उदाउँदै गरेका तारा थिए । महत्वाकांक्षी मेरीले त्यसै कारण डगलसलाई रोजेकी थिइन् । उनीहरु बिहे गर्ने स्थितिसम्ममा पुगेका थिए । बिहेको प्रस्ताव राख्दा मेरीले नै हेरौं र पर्खौं भनेपछि डगलस हच्किए । यसबीच उनीहरुको भेटघाट दिनहुँजस्तो हुन्थ्यो । भेटघाट बाक्लिँदै गएपछि डगलसले मेरीको खराब बानी थाहा पाइहाले र विस्तारै टाढिए । डगलसको व्यवहारले मेरी क्रुद्ध बनिन् । इष्र्या जगाउनकै लागि लिंकनसँग नजिकिइन् । लिंकन त्यसबेला साधारण वकिल थिए । तर, लिंकनमा वाकपटुता र राजनीतिक क्षमता देखिन् र उनीसित सन् १८४२ को नोभम्बर ४ मा आफ्नी बहिनीको घरमा बिहे गरिन् । त्यसबेला मेरी २३ र लिंकन ३३ का थिए ।

बिहेपश्चात् स्प्रिंगफिल्डस्थित एउटा घरमा भाडामा बस्न पाए । घरको मालिक्नी क्याथरिन थिइन् । क्याथरिनका अनुसार मेरी लिंकनलाई पशुसरहको व्यवहार गर्थिन् । एकदिन त हदै गरिन् । रिसको झोंकमा सबैको अगाडि तातो चिया छ्यापिदिइन् । पत्नीले यस्तो व्यवहार गर्दा पनि लिंकनले क्रोध प्रकट गरेनन् । शान्त बसिरहे । अमेरिकाका अर्का चर्चित लेखक डेल कार्नेगी पनि मेरीलाई नै बदमास ठान्छन् । उनी पनि भन्थे, बिहेको केही दिनपछि नै मेरी कराउन, चिच्याउन थालेकी थिइन् । उनी लाठी बोकेर घर वरिपरि घुमिरहन्थिन् । मेरीलाई लिंकनको लवाइमा आपत्ति हुन्थ्यो । बोलीचाली, उठबसलाई लिएर पनि कराउँथिन् । प्रायः पाहुनाहरुकै अगाडि पतिको उपहास गर्थिन् । भन्थिन्, ‘तिम्रो लामो कान टाउकोबाट समकोण बनेर निस्केको छ, जुन मलाई पटक्कै मन पर्दैन । हेर न नाक पनि सिधा छैन । तल्लो ओंठ झुण्डिएको छ । तिम्रा हातखुट्टा धेरै लामा छन् जबकि टाउको सानो छ । शारीरिक बनोटमा खोटैखोट छ । हेर्दा पनि डरलाग्दो !’

मेरी धनी परिवारकी थिइन् । परिवारमा थुप्रै दासदासी थिए । मेरी ६ वर्षको हुँदै आमा मरिन् । बाबुले लगत्तै दोस्रो बिहे गरे । नौ जना भाइबहिनी भए । सौतेनी आमासँग सम्बन्ध राम्रो थिएन । मेरीमा धनको घमण्ड थियो । कुलिन वर्गसँग उठबस । लिंकन भने साधारण लुगा लगाउँथे, साधारण जीवन जिउँथे । मेरीलाई लिंकनको यो बानी पटक्कै मन पर्दैनथ्यो । उनी लोग्नेलाई यस्तो लुगा लगाऊ, यसरी बस, यसरी हिँड भनिराख्थिन् तर लिंकन उनको यो कुरा टेर्दैनथे ।

मेरीको बानी स्प्रिंगफिल्ड इलाकामा सबैलाई थाहा थियो । त्यसैले भुलेर पनि कोही छिमेकी, साथीभाइ, नातेदारहरु उनकोमा जाँदैनथे । यहाँसम्म कि लिंकनकी सौतेनी आमा बीस माइल मात्र टाढा बस्थिन् । लिंकन तिनलाई औधी माया गर्थे । सौतेनी आमा सराह बुस जोन्स्टन पनि लिंकनलाई त्यत्तिकै माया गर्थिन् । उनी पनि आफ्नो छोरासँग भेट्न पुग्दिनथिइन् । आवश्यक परेका बेला लिंकन आफैं आमालाई भेट्न जान्थे, त्यो पनि मेरीले थाहा नपाउने गरी । किनकि मेरी कसैसँग पनि सद्व्यवहार गर्दिन थिइन् । स्मरणीय छ, लिंकन नौ वर्षको छँदै आमा नान्सीको निधन भएको थियो । बाबु थोमसले अर्को वर्ष सराहलाई पत्नीको रुपमा भिœयाएका थिए । लिंकनले सौतेनी भए पनि सराहलाई ‘आमा’ नै भन्थे । पछि सराह तीन सन्तानको आमा बनिन् । तैपनि आफ्ना सन्तानलाई भन्दा लिंकनलाई माया गर्थिन् ।

मेरीको कचकच गरिराख्ने बानीबाट लिंकन आजित थिए तर प्रतिकार भने गर्दैनथे । मेरीकै कारण कम समय मात्र घरमा बिताउँथे । सात बजे नै घरबाट निस्कन्थे । जबकि उनका सहायक विलियम एच. हेड्रन एक घण्टापछि मात्र अफिस पुग्थे । विलियम पुग्दा लिंकन झ्यालबाट एकोहोरो आकाशतिर नियालिबसेका हुन्थे । जब विलियमले ‘गुड मर्निङ सर’ भन्थे, लिंकन ‘हुँ’ भन्ने आवाज निकालेर फेरि आकाशतिरै नियाल्थे । घरको समस्या थाहा पाएका विलियमले जानाजान लिंकनलाई काममा व्यस्त बनाउन खोज्थे तर उनी चुपचाप बस्थे । उनको अनुहारमा देखिएको तनावलाई विलियम पढ्थे । बरु बस्न नसकेर आफैं कोठाबाट बाहिरिन्थे । ल फर्ममा कोही ग्राहक आउँदा उनीहरुसँग कामको कुराकानीमा व्यस्त रहेपछि बल्ल लिंकनको अनुहारमा देखिएको तनाव हराउँथ्यो ।

दिउँसोको खाना खान विलियम घर जान्थे तर लिंकन त्यहीं बसिरहन्थे । नजिकको पसलबाट बिस्कुट र चिज मगाएर खान्थे । साँझ परेपछि विलियम घर जान्थे, लिंकन भने घर जाँदैनथे । अफिसको बाहिर, कहिले बरण्डा त कहिले भ¥याङमा बसेर अरुसँग गफ गर्थे । फेरि अफिस पस्थे र लाइट बालेर काम गरिरहन्थे । जब रात अलि बढी छिप्पिसकेको हुन्थ्यो, तब बल्ल अफिसबाट निस्कन्थे ।

६ फुट ४ इञ्च अग्ला उनी सुनसान सडकमा लखरलखर हिँड्न थाल्थे । विलियमको भनाइअनुसार लिंकन त्यसबेला यति तनावमा हुन्थे कि खल्तीमा चक्कु राखेर घुम्थे । साथीहरुसँगको गफमा आत्महत्याको कुरा गर्थे । मेरीको व्यवहारबाट आफ्नो आत्मसम्मानमा धक्का लाग्ने गरेको बताउँथे । मेरीले आफूलाई छाडेर अरुसँगै जाउन् र सुखी बनुन् भन्थे । उनी प्रतिनिधिसभाको सदस्य बन्दा पनि तनावमुक्त भइसकेका थिएनन् । एकपटक प्रतिनिधिसभालाई एउटा पत्र लेखेर भने, ‘म यति दुःखी छु कि मेरो दुःख मेरो राज्य (इलिनोइस) का जनतालाई बाँड्ने हो भने कोही एक जनाको अनुहार पनि हँसिलो पाउनु हुने छैन ।’

तर यसको बाबजुद धेरैको राय छ, मेरीकै कारण लिंकन राष्ट्रपति बन्न सफल भएका हुन् । मेरीको महत्वाकांक्षाले नै लिंकनलाई राष्ट्रपतिको चुनाव लड्न उक्साएको हो । लिंकन राष्ट्रपतिमा निर्वाचित भएपछि जब ह्वाइट हाउसमा बस्न गए, त्यहाँको साजसज्जा देखेर भने, ‘भवनको साजसज्जा त ठीकै छ तर राष्ट्रपति बस्ने घरमा यत्रो खर्च गर्नुको औचित्य के ?’

तर मेरीको स्वभाव ठीक उल्टो थियो । उनले विशाल भवन सुविधासम्पन्न नभएको र राष्ट्राध्यक्ष बस्ने कार्यालय र निवासजस्तो नभएको भनेर भवनको मर्मत र साजसज्जामा थप २० हजार डलर खर्च गर्न लगाइन् । राष्ट्रपतिमा निर्वाचित भएको केही समयपछि नै दक्षिणी राज्यहरुले विद्रोह गरे । लिंकन गृहयुद्धमा व्यस्त बने तर मेरी ह्वाइट हाउसलाई सजाउनमै व्यस्त भइरहिन् । मेरीले गरेको अत्यधिक खर्चका कारण लिंकन सांसदहरुको अपमान सहन विवश बने । मेरी भन्थिन्, ‘राष्ट्रपतिकी पत्नीको ओहोदाअनुरुप श्रृंगारपटार गर्न आवश्यक छ ।’

मेरीको व्यवहार ह्वाइटहाउसका कर्मचारीप्रति पनि सौहार्द्रपूर्ण थिएन, न लिंकनका साथीहरुसित राम्रो थियो । त्यसैले कर्मचारी सबै उनलाई जंगली बिरालो, पोथी ब्वाँसो, बोक्सी, सैतानजस्ता शब्द प्रयोग गर्थे । त्यसैले होला, गोली लागेका लिंकन राष्ट्रपति भवनमा पीडाले चिच्याइरहेका थिए, मेरी रुँदै नजिक गएर लिंकनको टाउको मुसार्न पुग्दा लिंकन झन् ठूलो स्वरले कराउन थाले । त्यसपछि त्यहाँ उपस्थित अधिकृत र नजिकका सबैले गाली गरेर मेरीलाई कोठाबाट बाहिर निकाले । यस्तो भएको भोलिपल्टै सन् १८६५ अप्रिल १५ को बिहानै लिंकनले देह त्यागेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

किस्सा नेपाल-भारत सम्बन्धको
गृहमन्त्री सिँहदरवारमा, गृह मन्त्रालय बालुवाटारमा ?
मन्त्री अझै ओछ्यानमा
प्रदेशलाई आदेश दिँदै प्रधानमन्त्री