नियुक्ति पाउन समर्थन गर्नैपर्ने नियम : लेखेरै डेपुटी गभर्नरको लाइन

नियुक्ति पाउन समर्थन गर्नैपर्ने नियम : लेखेरै डेपुटी गभर्नरको लाइन

सरकारले गरेका पछिल्ला केही नियुक्तिलाई हेर्दा कुनैपनि पद उछिट्याउने हो भने सरकारको अन्धभक्त समर्थन गरे पुग्छ । त्यसैगरी नेकपाभित्रैका अन्य नेताको मानमर्दन हुनेगरी प्रचार गरेपनि त्यस्तालाई समेत नियुक्ति दिलाएको देखिन्छ ।

नेपाल राष्ट्र बैंककी कार्यकारी निर्देशक निलम ढुङ्गाना तिम्सिनाले बेमौसमको बाजा बजाएझैँ कोरोना र लकडाउनले थिलथिलो पारेको अर्थतन्त्रको गुणगान गाउँदै सरकारी अखबारमा लेखेकी छिन् । किनकि आगामी फागुन तेस्रो साता बैंकमा दुईवटा डेपुटी गभर्नरको पद रिक्त हुँदैछ ।

डेपुटीमा जानको लागि प्रधानमन्त्री र पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार युवराज खतिवडालाई खुशी पार्नुपर्ने रणनीति बुझेपछि तिम्सिना सोहीअनुसार लेख रचना प्रकाशित गर्न व्यस्त भएको अन्य कार्यकारी निर्देशकहरूले बताएका छन् ।

स्वयम् राष्ट्र बैंक,केन्द्रीय तथ्याङ्क विभाग,विश्व बैंक,अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंकले समेत मुलुकको आर्थिक बृद्धि इतिहासकै सर्वाधिक न्यूनतम विन्दूमा साँघुरिने बताएका छन् । तर,तिम्सिनाले नेतृत्वलाई रिझाउने एक मात्र उद्देश्यले ‘समृद्धिको लागि कोशेढुङ्गा’ भन्दै सरकारको पछिल्लो दुई वर्षको अन्धसमर्थन गरेकी हुन् ।

तथ्य र तथ्याङ्कबाट मात्र अर्थतन्त्रको उपलब्धि मापन गर्न सकिन्छ । वास्तविक तथ्य र तथ्याङ्क नै उल्लेख नगरी सस्तो प्रचारको निम्ति लेखिएको उनको निवन्धरूपी लेखले डेपुटीको सम्भावनालाई झन् पछाडि पारिदिएको छ ।

सरकारले पछिल्लो अढाई वर्षमा अन्य आयोगझैँ संघीय वित्तीय आयोगलाई समेत पूर्णता दिन नसकेको यथार्थ एकातिर छ । त्यस्तो अवस्थामा उनले उक्त आयोगको कारण पूर्व अर्थमन्त्री कर बाँडफाँड र स्रोत वितरणको समुचित व्यवस्थापनमा सफल भएको उल्लेख गरेकी छिन् ।

तिम्सिना आफैँ राष्ट्र ऋण व्यवस्थापन विभागकी प्रमुख हुन् । सरकारको वित्तीय अवस्था कत्तिको सहज वा असहज छ भन्ने तथ्याङ्क उनको सामुन्ने हरेक दिन विभागले नै तयार गर्दछ । तर, राज्यको आम्दानी र स्रोत परिचालन क्रमशः ओरालो लागेको बेलामा उनले समृद्धि र नसोचेको विकास भएको विषय उछाल्नु सूर्यलाई हत्केलाले छोप्न खोज्नु मात्र भएको उनका समकक्षी कार्यकारी निर्देशकले नै बताएका छन् ।

विगतमा खतिवडा गभर्नर छँदा अन्तर्राष्ट्रिय मुद्रा कोषको मुख्यालय वासिङ्गटन डिसीमा दुई वर्षमा दुई करोड रूपैयाँ कमाउने गतिलो अवसरबाट आफूलाई वञ्चित गराइएकोमा तिम्सिना फायर भएकी थिइन् र त्यो ठाउँमा खतिवडाले छोरी ज्वाईंलाई पठाएपछि गभर्नर खतिवडासँग नसोचेको दूरीमा बसिन् ।

विगतमा खतिवडा गभर्नर छँदा अन्तर्राष्ट्रिय मुद्रा कोषको मुख्यालय वासिङ्गटन डिसीमा दुई वर्षमा दुई करोड रूपैयाँ कमाउने गतिलो अवसरबाट आफूलाई वञ्चित गराइएकोमा तिम्सिना फायर भएकी थिइन् र त्यो ठाउँमा खतिवडाले छोरी ज्वाईंलाई पठाएपछि गभर्नर खतिवडासँग नसोचेको दूरीमा बसिन् ।

खतिवडा मन्त्री बनेपछि मात्रै उनले सम्बन्ध बढाउन थालेकी हुन् । डेपुटी नियुक्तिको समय वर आउँदै गरेको र वर्तमान सरकारले आगामी दुई वर्षसम्म निरन्तरता पाउने अवस्था देखिएपछि उनले लैङ्गिक समावेशीका नाममा समेत नयाँ कदम चालेको स्रोतको दाबी छ ।

खतिवडासँग त्यही पर भएको सम्बन्धलाई वर ल्याउन अहिले तिम्सिनाले सरकार र पूर्व अर्थमन्त्रीको समर्थनमा लेख रचना प्रकाशित गर्ने रणनीति अघि बढाएको हुनसक्ने अड्कल लगाइएको छ ।

तिम्सिना यसअघि आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत छँदा कानुनी,प्रशासनिक र पदीय हैसियत नाघेर गरेको कार्यबाट निकै अप्ठेरोमा परेकी थिइन् । त्यतिबेला उनको जागिर झण्डै चट् हुनबाट जोगिएको थियो ।

उनले सोझै अन्तर्राष्ट्रिय मुद्रा कोषलाई जोखिममा आधारित लेखापरीक्षणको निम्ति प्राविधिक सहयोग उपलब्ध गराइदिन पत्र लेखेकी थिइन् । गभर्नर चिरञ्जीवी नेपालले सदाशयता देखाएको कारण तिम्सिनाको जागिर जोगिएको एकजना सञ्चालक दाबी गर्छन् ।

बैंकले अन्तर्राष्ट्रिय संघसंस्था तथा दातृ निकायबाट कुनैपनि सहयोग तथा अनुदान लिन परेमा सञ्चालक समितिको निर्णयको आधारमा अर्थ मन्त्रालयमार्फत् पत्राचार हुनुपर्छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको हकमा गभर्नरले मात्र पत्र लेख्न सक्छन् ।

तर, त्यसबखत उनले सबै प्रक्रिया पूरा गरेपछि मात्र बैंकले रहस्य थाहा पाएको थियो । सम्भवतः बैंकको इतिहासमा तिम्सिनाले कोषसँग गरेको अवैध पत्राचारलाई वैधानिकता प्रदान गर्न गभर्नर नेपालले ब्याक डेटमा सञ्चालक समितिको बैठकबाट उक्त पत्रको समर्थन गराएका थिए  ।

रेल्वे विभागका महाप्रबन्धक गुरुप्रसाद भट्टराई र नगर विकास कोषको कार्यकारी निर्देशक कृष्ण सापकोटाहरूले पनि नियुक्तिअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सामाजिक सञ्जालमा उछित्तो काढेका थिए । अहिले ती पदमा नियुक्त भएपछि उनीहरू शान्त छन् ।

स्वयम् नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि गभर्नर नियुक्त हुनुअघि ट्वीटरमा प्रधानमन्त्रीको समर्थनमा बेलाबखत ट्वीट गर्ने गरेको फेला परेको छ । झापा निवासी तिम्सिनाले समेत अहिले त्यहि पदचापको अनुसरण गरेको बताइएको छ ।

द्रव्य शाह

टिप्पणीहरू