छोरीले चिठी लेखेर संसार छाडेपछि….

छोरीले चिठी लेखेर संसार छाडेपछि….

पूर्व दुईतारे जर्नेल डा.पूर्ण सिलवालको घरमा एउटा असह्य बेदनाले घेरेको छ । घर सुनसान थियो । बाथरुम गइरहने र भित्रै लामो समय टोलाउने उनको पुरानै आदत । तर, सोमबार दिउँसो १२ बजे जब बाथरुम छिरिन्, तब कहिल्यै यो धर्तिलाई जिउँदो आँखाले नियाल्न नसक्ने गरी बिदा भइन् । छेउमा अंग्रेजीमा लेखिएको एउटा चिर्कटो छाडिन् । लेखिएको थियो, ‘नोबडी इज टु बि ब्लेम्बड…!’ अर्थात्, ‘यो घटनाप्रति कोही आरोपित छैनन् (स्वेच्छाले) ।’

जर्नेल डा.पूर्णकी २७ वर्षिया कान्छी छोरी नयोनिकाले यसप्रकार सोमबार धर्ति छाडिन् । सेन्ट मेरिजकी प्रोडक्ट र भारतमा स्नातकोत्तरको अध्ययन सिध्याएर स्वदेश फर्किएकी उनी कुनै काम वा पेशामा आवद्ध हुने रुची राख्दिन थिइन् । परिवारका सदस्यहरूले कुनै जागिर वा समय बिताउने माध्यमका रूपमा केही न केही काममा लगाउने प्रयास गरेको धेरै भयो । तर, उनी ‘ह्याऽऽऽ’ भन्दै पन्छिन्थिन् । घरायसी मामिला होस् वा अन्य कुनै विषय होस्, न आफ्नो कुरा शेयर गर्थिन्, न अर्काका कुरामा प्रतिक्रिया जनाउँथिन् । यस्तोखाले अन्तर्मुखी स्वभावबाट मुक्त गराउन आमा जयन्तीले धेरै प्रयास गरिन् । तर, सकिनन् ।

बाहिरफेर आफू निस्कँदा सकेसम्म छोरीलाई लैजाने आमाको चाहना हुन्थ्यो । दुई वर्षअघि दिदीको विवाह भयो । यो वर्ष उनै बहिनीको पालो थियो । मंसिरतिर विवाह गर्ने सोचमा परिवार थियो । तर, नयोनिका न घरबाट निस्कन मान्ने, न विवाहका कुरै सुन्न चाहने ! अन्ततः अस्ति १२ गते दिउँसो घाँटीमा सलको पासो बेरेर प्राण त्यागिन् ।

बुबा डा.पूर्ण दुई वर्षअघि नेपाली सेनाको जर्नेल (सम्भाररथी) बाट अनिवार्य अवकास पाएर घर फर्किएका हुन् । तर, लामो समय सुरक्षा निकायमा सेवा गरेका कारण उनले अवकासपछि अध्ययन र अध्यापनका कामलाई अगाडि बढाए । यसकारण दिनको समय घरमा कमै बस्छन् । उनले विवाह गरेकी जयन्ती प्रधानसेनापति पूर्णचन्द्र थापाकी बहिनी हुन्, अर्थात् डा.पूर्ण प्रधानसेनापतिका बहिनी ज्वाइँ र आत्महत्या गर्ने नयोनिका भाञ्जी हुन् ।

पूर्णलाई सरकारले राष्ट्रिय सुरक्षा नीति निर्माणसम्बन्धी कार्यदलमा राखेको छ ।

टिप्पणीहरू