मेलम्चीमा किन कालो बोको बलि दिएको ? « janaaasthanews
६ कार्तिक २०७७, बिहीबार

मेलम्चीमा किन कालो बोको बलि दिएको ?



शेरबहादुर तमाङ, पूर्व कानुनमन्त्री

एउटा सानो बहानामा कानुनमन्त्रीबाट राजीनामा गर्न बाध्य बनाइएका शेरबहादुर तामाङ अहिले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने र त्यसका उत्पादनबाट राज्यले लाभ लिनुपर्ने कुराको वकालत गरिरहेका छन् । कानुन विषय अध्ययन गरेका र वकालतको प्रमाणपत्र पनि लिएका शेरबहादुरको यो वकालतले भने अहिलेसम्म प्रभावकारी परिणाम दिन सकेको छ । अर्कातिर, उनैकी पत्नी तथा प्रदेश १ मा खोटाङबाट प्रतिनिधित्व गर्ने सांसद उषाकला राई सुरक्षाकर्मीले नष्ट गर्न हुन्न भन्दै छन् । पतिजस्तै पत्नी पनि कानुनमा स्नातकोत्तर हुन् ।

० तपाईंं गाँजा वैधानिकताको पक्षमा हुनुहुन्छ, यहाँकी पत्नी भने घरेलु मदिराको वैधानिकताका पक्षमा । के यो संयोग हो ?

– तपाईंं गाँजा भन्नुस् या घरेलु मदिरा, ती हाम्रा आन्तरिक उत्पादन हुन् । जति पनि आन्तरिक उत्पादन छन्, हाम्रै श्रममा आधारित । धेरै अघिदेखि नेपालमै उत्पादित वस्तुलाई प्रतिबन्ध लगाएर अन्तर्राष्ट्रिय उत्पादन भिœयाउने र त्यसलाई राष्ट्रिय पँुजी मानेर अघि बढ्ने, फेरि दलाल, नोकरशाही पँुजीपतिको विरोध पनि गर्ने काम हँुदै आयो । व्यवहारमा स्वाधिन अर्थतन्त्रको विकासतिर हामी कहिल्यै लागेनाैं ।

० अहिले नेकपामा देखिएको विवादबारे के भन्नुहुन्छ ?

विगतमा पनि कम्युनिष्ट पार्टीभित्र नेतृत्वको टकराव पर्ने र यसलाई सैद्धान्तिक लेपन लगाउने प्रवृत्ति देखिएको हो । यसलाई नेतृत्व तहबाटै मिलाउन सके राम्रो हुन्थ्यो । कार्यकर्ताचाहिँ पक्ष वा विपक्षमा सडकमा निस्कने गरी यो विवाद तन्काउनु हुँदैन । विवादले पार्टीलाई मात्र होइन, कालान्तरलाई मुलुकलाई नै नोक्सानी पु¥याउँछ ।

० मन्त्रीबाट कस्तो हालतमा तपाईंंहरूको बर्खास्ती भएको थियो ? कसरी सम्झनुहुन्छ ती दिन ?

बर्खास्तीको रूपमा म लिँदै लिन्न । आफैंले राजीनामा दिएर हिँडेको हो । परिवर्तनका लागि काम गर्दागर्दै झिनामसिना कुरामा विवादित हुनुपर्ने, सामान्य भनाइका क्रममा पनि आलोचित हुनुपर्ने । त्यही भएर राजीनामा दिएको हो ।

० त्यतिखेर तपाईंंलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी ओलीले हुर्मत लिएको पनि सुनिन्थ्यो । वास्तविकता के हो ?

सल्लाह त भइहाल्छ । आफ्नो पार्टीको प्रधानमन्त्री, पार्टी अध्यक्ष, टिमभित्रको कार्यकारी प्रमुखसँग ।

० त्यतिबेलाको क्याबिनेटमा गोकुल र तपाईंं मात्रै प्रधानमन्त्रीका रक्षक हुनुहुन्थ्यो । अहिले प्रधानमन्त्रीनिकट मानिएका ईश्वर पोखरेल, प्रदीप ज्ञवालीहरू चुपचाप रहनुहुन्थ्यो । यो कुरा कत्तिको सत्य हो ?

प्रधानमन्त्रीले गर्न खोज्नुभएको कैयौं चिजमा मन्त्रिमण्डलका सदस्यहरूले त्यसको डिफेन्ड गरेको त्यो बेला मात्र होइन, अहिले पनि पाइँदैन । प्रधानमन्त्री मुलुकको कार्यकारी । उहाँलाई मुलुक बनाऔं भन्ने सोच त हुन्छ नै ! त्यही सोचअनुरूप बोलिरहनुभएको हुन्छ । आफैं डिफेन्स गर्नुपर्ने, आफैं बाहिर आउनुपर्ने, आफैं मिडियामा पटक पटक बोल्नुपर्ने बाध्यता अहिले पनि छ । प्रधानमन्त्रीको सोचअनुसार मन्त्रीहरूले काम गरेको अहिले पनि देखिँदैन । त्यही कारण प्रधानमन्त्रीले बोलेको केही शब्दावली तल–माथि पर्दा बेला बेलामा उहाँ आलोचित भइरहनुभएको छ ।

० सिन्धुपाल्चोकको बाढी–पहिरोमा सरकारी उदासिनता देखियो । बरु यो विपद्को घडीमा पनि सरकारले अयोध्यालाई प्राथमिकता दिएको पाइयो । यस्तो देख्दा तपाईंंलाई कस्तो लाग्छ ?

सरकार भनेको केन्द्रका मन्त्रिमण्डल, प्रधानमन्त्री मात्र होइन । मुलुकमा ३ तहको सरकार छ । सबैले आ–आफ्नो ड्युटी निर्वाह गरेकै छन् । केन्द्र सरकारले प्रदेश, स्थानीय तहलाई बजेट पठाउँछ । तिनै बजेटको व्यवस्थापन गरी बाढी पहिरोलगायत व्यवस्थापन गर्ने हो । प्रदेश सरकारले अहिले बाढी–पहिरो पीडितलाई प्रतिपरिवार १ लाखको दरले दिने, मृतकहरूका लागि घर बनाइदिने, स्थानीय तहका १२ वटै पालिकाले विपद् व्यवस्थापन कोषमार्फत सहयोग पनि गरिरहेको छ । क्षति न्यूनीकरण गर्ने, पुनर्वासको कुरा अघि बढिरहेको छ । यी विषयलाई केपी ओलीले नै हेर्नुभयो वा हेर्नुभएन भन्ने कोणबाट मात्र हेर्नुहुन्न ।

० तपाईंंको पालामा न्यायाधीश नियुक्तिमा कस्तोसम्म तनाव र भागबण्डा भयो ?

न्यायाधीश नियुक्तिमा सिनियरिटी,काम गर्ने क्षमता,प्रक्रिया अवलम्बन गर्ने हो भने कुनै विवाद आउँदैन । तर यी कुरालाई नाघेर नियुक्ति गरिँदा विवाद आउने हो । आर्थिक चलखेल पनि हुन्छ कि भन्ने सुनिन्छ । जतिखेर म काममा सक्रिय थिएँ । मापदण्डअनुसारै काम गर्दा कुनै प्रकारको विवाद भएन् । कसैले प्रश्न उठाउने अवस्था पनि भएन । पछिल्ला नियुक्ति पनि त्यही ढंगबाट गरिँदा विवादै हुँदैन । विगतमा के भयो भन्नुभन्दा स्थापित मापदण्ड बनाएर नियुक्ति गर्ने हो भने कसैले कसैलाई प्रश्न उठाउने अवस्था नै रहँदैन ।

० आज न्यायालय यस्तो अप्ठ्यारो बेला सरकारलाई ब्याज, कर नतिर भन्छ, बूढानीलकण्ठमा मातेर श्रमिककी पत्नी,लालाबालाकी आमा किचेर मार्ने(जिल्ला,उच्चमा सावित) लाई कोरोनाको बहानामा सफाइ दिन्छ, सुन्दा कस्तो लाग्दै छ ?

जनता अन्यत्र कतैबाट न्याय नपाएपछि न्यायालय पुग्ने हो । कहीँबाट न्याय नपाएपछि त्यसको अन्तिम सुनुवाइ गर्ने थलो हो न्यायालय । न्यायालयमाथि नै विश्वास उड्यो भने सबै उडिहाल्यो । न्यायालयमाथिको विश्वास उड्नु हुँदैन । न्यायालयले फैसला त्रुटिपूर्ण ढंगले गर्नुहुँदैन । स्थापित मान्यतालाई जोगाउनै पर्छ । कोही पनि पीडक नछुटोस्, कोही पनि पीडित माथि अन्याय नहोस् भन्ने मान्यता राखिन्छ । न्यायाधीशले गर्ने त्रुटिपूर्ण फैसलाले त्यसको लेखाजोखा त हुन्छ ।

० अब फेरि न्यायाधीश नियुक्तिको खेल शुरु भएको छ, भनसुनको लागि कत्तिको आउँछन् ?

कतिपय मान्छे योग्यता, क्षमता पुग्दा, मापदण्डभित्र पर्ने हुँदाहुँदै पनि जिम्मेवारी नपाइरहेको अवस्थामा यस्तो कुरामा तपाईंंहरूले खबरदारी गरिदिनुपर्छ है भन्न आउँछन् । यद्यपि, निश्चित स्थापित मापदण्डभित्र रहेर न्यायाधीश नियुक्ति गर्ने हो भने कसै न कसैको जानुपर्ने भनसुन गर्नुपर्ने स्थिति रहँदैन ।

० न्यायालयमा तपाईंंले बसाल्न खोज्नुभएको विधिको परिपाटीमा तपाईंंपछिका मन्त्रीहरू कत्तिको सफल रहे ?

विधिसम्मत ढंगले चलाउने कुरामा केही तल–माथि नगरी अघि बढ्यो भने द्वन्द्व हुँदैन । न्यायालयलाई अझै बढी पारदर्शी, जनमुखी बनाउने, पीडित शोषित, जनताको पक्षमा बनाउने विषयमा अलि गहन ढंगले काम गर्नुपर्नेमा अलि उदासीन भएको हो कि भन्नेचाहिँ लाग्छ ।

० तपाईं पार्टीभित्र कहिल्यै स्थिर हुनु भएन । कहिले वामदेव, कहिले माधव, कहिले केपीको गुटमा हुनुभो । यसरी गुट बदलिरहँदा के असर हुँदो रहेछ ?

जहाँ छु त्यहीँ उभिएको छु कहिलेकाहीँ नेताहरूले फलानो खेमा भनिदिन्छन् । नेताहरू को, कता उभिन्छन् ठेगान छैन । नेताहरू उभिएको कारण कुनै कार्यकर्तालाई व्याख्या गरिदिनु छुट्टै कुरा हो । कहिलेकाहीँ दृष्टिकोण मिल्न सक्छ । दृष्टिकोण मिलेका कारण एउटा खेमाको, दृष्टिकोण बाझिएको कारण अर्काे खेमाको भनेर लेपन लगाउनु ठीक होइन । पार्टीभित्र खेमाबन्दी गर्ने कारणले नै आज यो विग्रहको स्थिति आइरहेको छ । किन खेमाबन्दी गर्नुप¥यो ? यति विशाल पार्टीमा मेरै भनेर बनाउनुपर्ने के जरुरी छ ? अहिले पनि प्रधानमन्त्रीको पक्षमा केही केही साथी सडकमा निस्किएर नारा लगाइरहेको देख्छु । उहाँ सडकमा निस्कने साथीहरूका मात्र प्रधानमन्त्री त होइन । समग्र देश र जनताको प्रधानमन्त्री । हामी कुनै पनि कार्यकर्ता पार्टीको अंश होइन । व्यक्ति मात्र केन्द्रित भएर सोच्ने हो भने खेमाबन्दी हुन्छ । मुलुकका लागि भनेर सोच्नेबित्तिकै किन खेमाबन्दी गरिरहनुप¥यो र ?

० तपाईं चीनसँग सीमा जोडिएको जिल्लाको माननीय, कति लाभान्वित हुनुभा’छ ?

पछिल्लो समय सीमा जोडिएका जिल्लामा चीन पक्षबाट नेपाल सरकारमार्फत सहयोग आइरहेको छ । दक्षिण भारतको पनि थियो हिजोका दिनमा त्योचाहिँ व्यक्तिमार्फत थियो । सीमना जोडिएका १४ जिल्लामध्ये सिन्धुपाल्चोकमा पनि पालिकाहरूमा केही सहयोग आइरहेको देखिन्छ । तातोपानी नाकामार्फत निकै ठूलो व्यापार हुन्थ्यो तर जुरेको पहिरो,भूकम्पपछि नाका राम्रो चलिरहेको छैन । कन्टेनर ओहोर दोहोर भइरहेको छ तर आमजनताले व्यावसायिक काम गर्ने स्थिति छैन । हिजो लाखौँ मान्छे त्यहाँ आश्रित थिए अहिले टुटेको छ । कोरोना पछाडि त्यो नाका खुल्छ । सम्बन्ध राम्रो हुँदा बोर्डर जिल्लामा केही न केही सपोर्ट त आउँछ नै !

० राणाहरूले हेलम्बूबाट तरुनी ओसार्थे, त्यो तपाईंंको निर्वाचन क्षेत्र, त्यहाँको अवस्था अहिले के छ ?

हिजो के थियो । यस्ता चीजमा नगई वर्तमानमा के गर्छांै त्यो मुख्य कुरा हो । कलंकित इतिहास हुनसक्छ । त्यस्ता चिज कम गर्ने र हुन नदिने हो । वर्तमानलाई राम्रो बनाउँदै भविष्यको अझ सुन्दर परिकल्पना गर्ने हो । यसरी हेर्दा सिन्धुपाल्चोक, हेलम्बु, पाँचपोखरी, जुगललगायत स्थान छन् । पर्यटकीय प्रचुर सम्भावना छ । यी ठाउँलाई भविष्यमा सुन्दर राख्ने,त्यहाँको पानी काठमाडौंको जनतालाई खुवाउने ढंगले अघि बढ्नुपर्ने छ । पछिल्लो समय सिन्धुपाल्चोक विकासमा पनि तंगँ्रदै गएको छ । हिजो बोकेका कतिपय कलंक मेटिँदै गएको छ ।

० तपाईंंको निर्वाचन क्षेत्र मेलम्चीको खेलोमेलो के हो ?

राष्ट्रिय गौरवको आयोजना शुरु भएको २०/२२ वर्ष भयो । यो नकारात्मक विम्बको रूपमा स्थापित हुने स्थिति बन्दै गएको थियो । अहिले धेरै मिहिनेतसाथ सम्पन्न गर्ने दिशातिर गएको छ । पानी छिटो ल्याउने कुरामा लागिरहेका छौं । अस्ति एउटा दुर्घटना भयो । टेस्टिङ गर्दा हामीलाई थाहै नदिई हतार हतार भयो भन्ने गुनासो छ । प्राविधिक हिसाबले राम्रोसँग चेक जाँच नभई परीक्षण हुँदा फुट्न गयो र दुर्घटना भयो । मन्त्रालयले कार्यदल बनाएर जाँचबुझ गर्दै छ । काठमाडौंभित्रै पनि मेलम्चीको पानी आइसकेपछि घर–घरमा पु¥याउन पाइपिङको काम २० देखि ३० प्रतिशत हाराहारी सम्पन्न भएको छ । मेलम्चीको पानी काठमाडौं भित्रिएको लामो समय बाग्मतीमा पानी छाड्नुपर्ने स्थिति छ ।

० अस्ति मेलम्चीमा यो दुर्घटना हुनुको पछाडि बलि निषेधित क्षेत्रमा बलि चढाइएको कारणले हो भन्ने पनि सुनियो । त्यस्तै हो ?

किन बलि दिइयो ? यो प्रश्नको जवाफ मलाई चाहिन्छ । कालो बोका बलि दिनुको अर्थ के हो ? त्यो क्षेत्र धार्मिक हिसाबले तपोभूमिको रूपमा स्थापित छ । गुरु रिम्पोछेहरूको तपस्यास्थल हो । काटमार निषेधित क्षेत्र हो । त्यहाँ कालोबोका बलि दिइयो । के होस् भनेर दिएको हो ? कतिपय साथीले भने कम्युनिष्ट भौतिकवादी भएर अन्धविश्वासको कुरा गर्ने ? कलोबोका नै किन काटेको ? पेटारे वा अरू रंगको काट्न सकिन्थ्यो । त्यसको जवाफ चाहिन्छ । तपाईं जतिसुकै भौतिकवादी भने पनि पशुपति, स्वयम्भूमा पुगेपछि शिर निहुरिन्छ । जतिसुकै नास्तिक भनिए पनि मन्दिरमा गएर पिसाब फेर्दैन, यो सत्य हो । आस्था जीवित छ र आस्थामाथि चोट लाग्यो भने कहीँ न कहीँ दुर्घटना हुन्छ । आस्थामाथि प्रहार गर्नु हुँदैन ।

० बौध्द गुम्बाको राजनीतिमा नेकपा नै कसरी विभाजित भयो ?

कतिपय संस्कार, संस्कृति र संरचना निर्माणको कुरा छ । आस्था र मान्यताहरू लाद्ने विषयमा कहिलेकाहीँ दृष्टिकोण बाझिन्छन् । तर ती दृष्टिकोणबाट माझिएर छलफल गरे निचोड निस्किहाल्छ । हरेक चिजमा बहस हुन्छ । बहसबाट निर्णय लागू हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रचण्डजीले उल्टो बाटो रोज्नुभयो
बलात्कारः मन्दिर ‘बधशाला’ अनि नरपिचास ?
यो पार्टी सिध्याउने खेल हो
हेर्दै जानुस्, उहाँले पछुताउने दिन आउँछ