राजधानीमा कतै प्रेसर बम, कतै चर्का नारा लेखिएका पम्प्लेट

राजधानीमा कतै प्रेसर बम, कतै चर्का नारा लेखिएका पम्प्लेट

आमनिर्वाचनको पूर्व सन्ध्यामा राजधानीमा शंकास्पद वस्तुहरु फेला पर्न थालेको छ । हिजोदेखि भेटिएका त्यस्ता सामाग्रीहरु गए राति र अहिले पनि उपत्यकाका विभिन्न भागमा पाइएको बताइएको छ ।

आज मध्यान्ह नागर्जुन ५ मा रहेको नगरपालिका कार्यालय अगाडि शंकास्पद झोला फेला परेको छ । उक्त झोलालाई सेनाको कालीध्वज गणबाट खटिएको सेनानी रोशन लामिछानेसहित १७ जनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ । 

उक्त घटनास्थलमा सशस्त्र प्रहरी बलबाट डिएसपी रामप्रसाद भण्डारीको कमाण्डमा १५ जनाको टोली पनि लगत्तै पुगेको थियो । त्यसैगरी नेपाल प्रहरीबाट डिएसी राजबाबु महर्जनको कमान्डमा नौ जनाको टोलीले घटनास्थलको सुरक्षा दिएको बताइन्छ ।

आजै बिहान कलंकीमा चुनाव बहिष्कारको पम्प्लेट भेटिएको छ । बिहान पौने १० बजेको हाराहारीमा स्थानीय खसीबजारस्थित पुलमा राखिएको सडक डिभाइडरमा त्यस्तो पम्प्लेट भेटिएको हो । 

नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवाद जिन्दावाद, संसदीय चुनावको अवज्ञा गरौं, वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अगाडि बढौं लेखिएको पम्पलेट टाँसिएको हो । पम्प्लेटलाई खसी बजारमा रहेका प्रहरीले हटाएका थिए ।

गए राति काठमाडौंको भत्केको पुल, गोल्फुटार र ललितपुरको जावलाखेलमा शंकास्पद प्रेसर कुकुर फेला परेको थियो । हिजो तारकेश्वर नगरपालिकामा सकेट बम फेला परेपछि सेनाको डिस्पोजल टोलीले सबै शंकास्पद वस्तुलाई निस्क्रिय बनाएको हो ।

टिप्पणीहरू