माओवादी अध्यक्षलाई चिठी : ‘हजुरलाई सातचोटी भोट हालेर जिताइयो’

माओवादी अध्यक्षलाई चिठी : ‘हजुरलाई सातचोटी भोट हालेर जिताइयो’

मिलन पुन, रोल्पा

अध्यक्ष कमरेड प्रचण्ड क्रान्तिकारी अभिवादन !

आराम छु, त्यहाँ हजुरलाई पनि निको–आरामै होला भन्ने कामना गर्दछु ।

२०६४ सालको संविधानसभा निर्वाचनमा रोल्पा ’ख’ बाट विजयी हुनुभएको पनि १५ वर्ष भएछ । विजयी भएको प्रमाणपत्र लिएर कमरेड दिपेन्द्रकुमार पुन ’सिजल’ (बुवा) र मैले कोटेश्वर कि कता हो, हजुरकै हातमा सुम्पेर हात मिलाएको पनि १५ वर्ष भएछ ।

१५ वर्षमा यो चिठी लेख्दासम्म हजुरसँग एक पटक पनि हात मिलाएर बोलेको छैन । नेकपा माओवादी केन्द्रले रोल्पालाई आफ्नो चुनावी ‘ब्याटल ग्राउण्ड’ बनाएर हजुरसहित तीन पटक चुनावी लडाइँ जितेछ ।

आगामी मंसिर ४ को चुनाव पनि माओवादीले नै जित्छ, जित्नैपर्छ । संयोग– हजुरले जितेको निर्वाचन क्षेत्र अहिले व्यवस्था परिवर्तनसँगै सानो भएको छ । रोल्पा जिल्ला सिंगो एउटा संघीय निर्वाचन क्षेत्रमा परिणत भएको छ । प्रदेशको दुईवटा क्षेत्र बन्यो । ’ख’ क्षेत्र जुन हजुरले जित्नुभएको थियो, त्यसमा २०७४ को चुनावमा कमरेड सिजल (बुवा) ले लुम्बिनी प्रदेशको प्रदेशसभा सदस्यको लागि जनताले अमुल्य भोट गरे र विजयी बनाए । ‘क’ बाट कमरेड सोनाम अर्थात् कुलप्रसाद केसी र संघमा कमरेड अनन्त अर्थात् वर्षमान पुन विजयी हुनुभएको हो ।

म अहिले तपाईंले के गर्नुभयो वा ‘रोल्पाबाट जितेका सांसद–मन्त्रीले के गरे वा गरेनन्’ भन्ने चर्चा गर्दिनँ । बरू म चुनावकै चर्चा गर्छु । २०६४ को चुनावमा मेरो नाम मतदाता सूचीमा थिएन । तर निर्वाचन आयोगले कारवाही गर्छ या गर्दैन– मैले तीन पटक मतदान गरेँ । अरू साथीहरूले सात पटकसम्म भोट हालेका हुन् । हजुर अर्थात् कमरेड ’प्रचण्ड’ अत्यधिक मतसहित विजयी हुनुभयो । अनि माओवादी पनि देशकै ठूलो पार्टी बन्यो क्यारे !

२०७० सम्म के–के गर्नु भो ! मेरो खासै ध्यान गएन किनकि हजुरप्रति विश्वास राख्ने, हजुरको परिवारपछि पार्टी सदस्यको रूपमा ठोकुवा साथ भन्छु म नै हुँ । म जन्मजात माओवादी हुँ । तर म पार्टी सदस्य बाहेक केही छैन किनकि मलाई विश्वास छ, कम्युनिष्ट पार्टीमा सदस्य मात्रै शक्तिशाली हो । तर आजभोलि म देख्छु म्याराथन चलेको छ, पद र सत्ताको निम्ति ।

२०७० को चुनावमा पनि २–३ पटक भोट हालियो । यो निर्वाचन प्रक्रिया नै यस्तै रहेछ…! अब चाहिँ होस् आउन थाल्यो आमा–बाबाले वा पछि आएर हामीले बहिष्कार गरेको चुनावको श्रृङ्खलाको…! अझै पनि लाग्दै थियो कि धाँधली गर्ने हो, चुनाव जित्ने हो र सत्ता कब्जा गर्ने हो ।

गलत स्कुलिङ थियो या यही । तर सिकाउनुभएको थियो, कमरेड प्रचण्डले । हामीले त त्यै गर्यौँ । हजुर प्रधानमन्त्री हुनुभयो । लगत्तै राजनीतिक संकट आइलाग्दा राजीनामा पनि दिनुभयो । सत्ताको अभ्यास गर्दै हुनुहुन्छ (अधकल्चो सिकाई, भोगाई, राष्ट्रिय– अन्तर्राष्ट्रिय) भन्दै आत्मसन्तुष्टि गर्यौँ । अरूले गरेनन्, मैले चाहिँ गरेँ । २०७० मा रोल्पाबाटै कमरेड उषा अर्थात् ओनसरी घर्तीले जित्नुभयो जस्तो लाग्छ । उहाँ प्रथम महिला सभामुख हुँदा गौरवको विषय पनि बन्यो ।

२०७४ सम्म फेरि हजुरले के–के गर्नुभयो ख्याल नराख्नु पार्टी सदस्यको हैसियतले मेरो पनि कमजोरी होला । तर अब यहाँ मेरो चलेन । म पार्टी सदस्य बनुँ या नबनुँ महत्व छैन । जो जहाँ जाक्कियोस्– यस्तो प्रवृत्ति हावी भयो । जनताको त के कुरा अब हामी सामान्य पार्टी सदस्यको कुरा नसुन्ने वा त्यहाँसम्म हाम्रो पहुँच नपुग्ने भयो, पिए वा सचिवालयबाट रोकिन थाल्यो ।

सायद अध्यक्ष कमरेडलगायत शीर्ष नेताहरूले हाम्रो कुरा सुन्न बनाएको घेराले यस्तो एउटा ‘सर्कल क्रिएट’ भयो कि जनताले त्यो पार गर्न कथाको लक्ष्मण रेखाभन्दा पनि गाह्रो भयो । तर दानवहरूको लागि लक्ष्मण रेखा सँधै फिक्का हुन्छ । रेखा बनाउनेहरू तीनका पछि दगुर्न थाले । (किनकि चुनावमा पैसा चाहिन्छ । हुन पनि हो हामी त्यही बहिष्कारवाला चुनावी संरचनामा आइपुग्यौँ । हजुरले कता–कता भाषण गरेको नी सुन्छु) तर हामीले त्यसलाई प्रोटोकल भन्यौँ, मान्यौँ र जनतालाईसमेत मान्न लगायौँ ।

२०७४ को चुनावमा जम्मा एक पटक मात्र भोट हाल्न पाइयो । अब गाह्रो भो ? कमरेड प्रचण्ड सारै बाठो ! पार्टी टुट्यो–फुट्यो कुनै प्रवाह छैन । विचार मिलोस् वा नमिलोस् कार्यकर्ता मिलुन वा नमिलुन् एमालेसँग पार्टी एकता ठोकिदिनुभयो । चुनाव क्या सजिलो भो । रोल्पामा एमालेका कमरेडसँग क्या प्यार बसाइदिनु भो ।

तत्कालीन नेकपाको पार्टी सदस्य नै हुन नपाई ब्रेकअप गरिदिनु भो– कमरेड प्रचण्ड । फेरि के जादु चलाउनु भो, ढुङ्गा हानाहान । तर मेरो बुबा कमरेड सिजल आजभोलि गम्भीर हुनुहुन्छ– सप्पै एमालेले नभने पनि धेरै एमालेजनले सिजललाई भोट हाल्नुभयो । अभिभावक मान्नु भयो । तर अहिले कमरेड अध्यक्षलाई गाह्रो भयो । उहाँले जुन उद्देश्यले निर्वाचनको समयमा भोट माग्नु भयो, त्यसमध्ये केही बाहेक अरु पूरा भएनन् । मुख्यतः जुन एमालेबाट आएको भोटले अपमान नै पायो त भन्दिनँ, सायद चाहेजति सम्मान पाएन । किनकि फेरि पार्टी टुक्रियो ।

यो २०७४ मा अलिक लामो व्याख्या हुन्छ– कमरेड प्रचण्ड चुनाव जितेपछि खासखास जनताको प्रतिनिधि हुने रहेछ । म चुनाव नलडे पनि परिवारको सदस्य हुनु या कार्यकर्ता हुनुको नाताले चुनाव जिताउन मद्दत गरे । बुबाको समीपमा रहेर सत्ता देखेँ । कमरेड सिजललाई जनताले कति रूचाउँछन् मलाई अझै ज्ञान छैन । किनकि जनता विकास चाहन्छन् । सहज चुलो बलोस् चाहन्छन् । शिक्षा, स्वास्थ्य र रोजगार चाहन्छ्न् । त्यो पूरा नभएर बाग्माका मनोज दाजुका बुबा टाईफाईड वा पेट दुखेको निको बनाउने औषधि नपाई कसरी बित्नु भो ? पल्लाघरे मामा गाउँको शिक्षामा विश्वास नभएर किन सहरतिरै बसाइँ सरे ? र तिनको पालन–पोषण शिक्षा–दीक्षाको लागि तुल्सी दाजै रोजगारीको लागि किन मुग्लान गए ?

ठेकेदारले पैसा नदिएर गाउँका मजदुर किन नेता र ठेकेदारको सम्बन्ध देखेर सुन्नै नसकिने सराप्नु सराप्छन् ? त्यो सत्तामा बसेर पूरा गर्न सकिँदैन वा पूरा गर्ने रूची हुँदैन । मैले अहिलेसम्म पत्ता लगाउन सकेको छैन, कमरेड प्रचण्ड । तर पनि केही आलोचकबाहेक रोल्पाका माओवादी कार्यकर्ताले सिजललाई बिछट्टै रूचाउँछन्, यो सत्ते हो । म यसमा ज्ञान राख्छु– किनकि म पनि नेकपा (माओवादी) को पार्टी सदस्य हुँ ।

अब आउने चुनावको चर्चा गरौँ– कमरेड प्रचण्ड सक्नुहुन्छ भने फेरि आफैं रोल्पामा चुनाव लड्न आउनुहोस् । अझै दुई पटकसम्म धाँधली गरेर हजुरलाई भोट हाल्ने हिम्मत राख्छु । हजुर न आउने हो भने कमरेड प्रचण्ड पैसावालालाई टिकट दिनुहोस् ।

चुनाव साह्रै महँगो हुँदोरहेछ, हजुरलाई जिताउँदा थाहा भएन । तर २०७० सम्म पनि खासै थाहा थिएन । अब त स्थानीय चुनावसम्म आउँदा सप्पै आँखैले देखेँ । आफै भोगेँ । कमरेड अध्यक्ष, अब गाह्रो भो । जितेपछि पनि साह्रै गाह्रो हुने रहेछ है । कमरेड प्रचण्ड हजुरले कसरी धान्नु भएको छ ? मन्त्री हुन पैसा, मुख्यमन्त्री पनि किनबेच, सिद्धान्त नै भुल्दा रचन् । त्यो पद पाइन भने जान्छु, फोड्छु–छोड्छु अरे वा ! घुर्की–धम्कीवालाले नै पाउँदा र’छन्, त्यो नि नजिकबाट देखेँ ।

चुनाव जित्न दलाल, ठेकेदार, कर्मचारी सरूवा–बढुवा, अवैध धन्दाकै संरक्षण गर्नुपर्ने भएकै हो भने कृपया मेरो बाबालाई चुनावी टिकट नदिनुहोला, कमरेड प्रचण्ड । मैले हजुरको समस्या पनि बुझेँ किन हजुर बस्ने घर ठेकेदारकै पर्यो भनेर, भलै भाडा दिनुहुन्छ होला । रोल्पामा पनि धेरै आकांक्षी कमरेडहरू हुनुहुन्छ, उहाँहरूलाई नै दिनुस् किनकि मेरो बुबाले मलाई नैतिकता सिकाएर हुर्काउनु भएको हो । उहाँबाट अनैतिक काम देख्न सकिँदैन । यदि चुनाव जित्न अमुक मान्छे, संस्था वा ठेकेदारले पैसा दिएवापत घर आगाडिको पुल, सडक, अस्पताल, विद्यालय वा राष्ट्रिय गौरवका आयोजना लथालिङ्ग हुने हो भने भो त्यो चुनाव लड्न पर्दैन, आदरणीय बुबा दिपेन्द्रकुमार पुन अर्थात् ‘कमरेड सिजल’ ।

यो लेखिरहँदा हजुरले लेखेका चिठी पनि सँगै राखेको छु । डायरीमा यतिमात्रै भेटिए । धेरै थिए, संग्रह गर्न सकिनँ माफ गरिदिनुहोला बुबा । जति भेटियो पढेँ नैतिकता सिकायो । यहाँ म जस्ता हजारौं छोराछोरीले हजुरजस्तो असल बुबा गुमाएका छन् । ती बुबाहरू यो चुनाव पाउनलाई शहीद भएका होइनन् । पाउनु अर्कै थियो, हजुरहरूले सिकाएअनुसार यहाँ अर्कै भइरहेछ । हजुरलाई पनि लागिराछ होला यो बाटोबाट त पुग्दै पुगिँदैन त ?

अन्त्यमा कमरेड प्रचण्ड व्यवस्था के हो, अझैसम्म बुझ्नै सकेको छैन– मैले। हजुरको भाषण अचेल मलाई झिँजो लाग्छ । किनकि परिकल्पना मीठा हुन्छ्न्, भोगाइ फरक परिसक्यो । सक्या गर्नुभो अब सक्नुहुन्छ भने जोसुकै आउन बालेन वा हर्क । ढुक्क हुनोस्, पुराना हजुर–हामीलाई झस्काइ राख्ने भुतप्रेत राजसंस्था आउँदैनन् ।

यो निर्वाचन प्रणाली फालौँ । प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि लडौँ । बरू मरौँ आखिर पैसावालाले मात्र चुनाव जित्ने भइसक्यो। हामी त्यसै पनि मरेजस्तै हो, कमरेड अध्यक्ष । सायद यो पढ्ने हजुरलाई फुर्सद छैन होला । सचिवालयका रमेश मल्ल दाजु, हजुर अखिल क्रान्तिकारीको जिम्मेवार हुँदा म पनि रोल्पा जिल्ला सदस्य थिएँ । केटोको चिठी छ भनिदिनु होला धन्यवाद ।

(मिलन प्रचण्डनिकट मानिने माओवादी नेता दीपेन्द्रकुमार पुन ‘सिजल’ का छोरा तथा रोल्पाका पार्टी सदस्य हुन् ।)

टिप्पणीहरू