बालेन साह मुर्दावाद भन्दै पुत्ला दहन

बालेन साह मुर्दावाद भन्दै पुत्ला दहन

काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहविरुद्ध मध्य सहरमा नाराबाजी भएको छ । मेयर वालेन होशियार, मेयर वालेन मुर्दावाद भन्दै स्थानीयले साहको पुत्ला दहन गरेका छन् ।

मेयरविरुद्ध काठमाडौं महानगरपालिका २५ स्थित बाङ्गेमुडा चोकमा नारा घन्केको हो । त्वाःछे समितिलगायत नेवा संघ संस्थाहरुको आयोजनामा महानगरपालिकाको ज्यादतीविरुद्ध असन कोथुननी बचाउ अभियान तथा त्वाःछे संरक्षण संस्थाले खबरदारी सभा गरेका हुन् ।

उनीहरुले आज साँझ सिठी फुक्दै विरोध कार्यक्रम प्रारम्भ गरेका थिए । विरोध सभामा नेकपा माओवादी केन्द्र काठमाडौ महानगरपालिका समितिका प्रमुख रवीन्द्र श्रेष्ठ, जसपा नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष तथा काठमाडौ जिल्ला भूमि व्यवस्थाका अध्यक्ष श्यामकृष्ण प्रजापति, शहीद शुक्र क्लबका अध्यक्ष राजेश श्रेष्ठ, त्वाःछे समितिका अध्यक्ष रमेश श्रेष्ठलगायतको उपस्थिति थियो ।

 

बाङ्गेमुढामा सार्वजनिक जग्गा र भवनको विषयलाई लिएर स्थानीयले महानगरपालिकाको प्रतिकार गर्दै आएका छन् । साविकको २८ तथा हाल वडा नम्बर २५ बाङ्गेमुढास्थित कित्ता नम्बर ५९४ को जग्गामा महानगर र वडा कार्यालयले किचलो निकालेको स्थानीयको भनाइ छ ।

 

उक्त कित्ता नम्बरको जग्गा र भवनको स्वामित्वको विषयलाई लिएर परेको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । नेपालभाषा मंकाः खलः, नेपाल आदिवासी महासंघलगायत न्याय र समानताका लागि मुद्दा उठाउँदै आएका संस्थाहरुको कार्यालय पनि सोही भवनमा राखिएको छ । वडा नम्बर २५ कार्यालयले भवन खाली गर्न २४ घण्टे सूचना जारी गरेपछि स्थानीय आन्दोलित भएका हुन् ।

 

टिप्पणीहरू