आत्महत्याको डरलाग्दो तस्बिर, प्रतिदिन डेढ दर्जनको अकाल मृत्यु

आत्महत्याको डरलाग्दो तस्बिर, प्रतिदिन डेढ दर्जनको अकाल मृत्यु

साउन ८ गते झापाको केचनाकवल–५ बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङखोला किनारमा ढल्केको बयरको रूखमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेश झुण्डिएको अवस्थामा फेला परे  । एकै उमेरका तीन किशोरी एउटै रूखमा झुन्डिनु सामान्य घटना थिएन  । यो घटनाको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले तीनै जनाले एकैपटक आत्महत्या गरेको निश्कर्ष निकाल्यो । यद्यपि, अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाको भनाइ छ  ।

प्रहरीका अनुसार मृतक तीनै किशोरी सोही चियाबगानमा कार्यरत थिए  । त्यस्तै, उक्त घटनाको एक महिना नबित्दै गत भदौ १५ गते काठमाडौंको बुद्दनगरस्थित एक निर्माणाधीन घरको ६ तला माथिबाट हाम फालेर एक जोडीले सामूहिक आत्महत्या ग¥यो । भारत घर भएका १३ वर्षीय अनिकेत रोय र १४ वर्षीया कृतिका जैसवाल ६ तलामाथिबाट खसिरहेको देखेका स्थानीयले तत्काल उपचारका निम्ति सिभिल अस्पताल पु¥याए ।

तर, उपचारकै क्रममा उनीहरू दुवै जनाको मृत्यु भयो । निराशा, चिन्ता, प्रेममा धोका, आर्थिक अभावजस्ता जटिल समस्याका कारण जीवनको अस्तित्वबारे नबुझ्दा पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआईजी टेकप्रसाद राईले बताए । बेरोजगारी, गरिबी, बहुविवाह, सामाजिक मतभेद, पारिवारिक बेमेललगायतका कारण मानिसले आत्महत्या गर्ने गरेको उनको भनाइ छ ।

जब मानिस नैराश्यतासँगै चरम डिप्रेसनमा पुग्छ त्यसपछि त्यो व्यक्तिले विकल्पको रूपमा आत्महत्या रोज्ने गरेको प्रवक्ता राईको बुझाइ छ । त्यस्ता व्यक्तिलाई समयमै मनोपरामर्श केन्द्र लाने, परिवारको निगरानीमा राखेर सहयोग गरेमा आत्महत्या कम हुने उनी बताउँछन् ।

त्यससँगै स्थानीय तह तथा निकायले आत्महत्या गर्ने सोच बनाएका व्यक्ति पत्ता लगाई उनीहरूको मनोभावना, मर्म बुझ्ने मनोपरामर्श केन्द्रहरू स्थापना गरी निःशुल्क सेवा प्रदान गरेमा आत्महत्या कम हुने उनको भनाइ छ ।

प्रहरीको तथ्यांकअनुसार नेपालमा दैनिक १८/१९ जनाले आत्महत्या गर्दछन् । उमेर समूहअनुसार २६ देखि ३५ वर्षसम्मका २४ प्रतिशत, १६ देखि २५ वर्षसम्मका २५ प्रतिशत र ३६ देखि ४५ वर्षसम्मका २२ प्रतिशत मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको तथ्यांकमा उल्लेख छ ।

जसमध्ये सबैभन्दा धेरै आवेगमा आएर ३० प्रतिशतले आत्महत्या गर्ने गरेको प्रवक्ता राईले बताए । भने, ‘३० प्रतिशत मानिस आवेगमा आत्महत्या गर्ने गर्दछन् ।’ त्यस्तै, २८ प्रतिशत मानिसले झुण्डिएर, १५ प्रतिशतले विष सेवन गरेर आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा देखिन्छ । ०७८/७९ मा मात्रै देशभर ६ हजार ७९२ जनाले आत्महत्या गरेका छन् । यसलाई आधार मान्दा देशभर दैनिक कम्तीमा १८ जनाले आत्महत्या गरेको देखिन्छ । यद्यपि, यो तथ्यांक अघिल्लो वर्षको भन्दा ४.५६ प्रतिशत अर्थात् तीन सय २५ ले कम हो । गत ०७७/७८ मा देशभर सात हजार ११७ जनाले आत्महत्या गरेका थिए । त्यस वर्ष औसतमा प्रतिदिन १९ जनाले आत्महत्या गरेको तथ्यांकले देखाउँछ ।

प्रवक्ता राई मधेश प्रदेशमा आत्महत्याका धेरै घटना घटेको बताउँछन् । गत ०७८/७९ मा मात्रै त्यहाँ एक हजार ४९१ जनाले आत्महत्या गरेका थिए । सो अवधिमा लुम्बिनीमा एक हजार २९७ जना, बागमतीमा ९०१, गण्डकीमा ६९७, सुदूरपश्चिममा ५७९ र उपत्यकाभित्र ५२६ जनाले आत्महत्या गरेका छन् । यस अवधिमा कर्णालीमा २९० जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकमा उल्लेख छ ।

१० वर्षमा ५३ हजार बढीको आत्महत्या

१० वर्षको अवधिमा नेपालमा ५३ हजार २९८ जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६९/७० मा तीन हजार ९७४ जना, २०७०/७१ मा चार हजार ५०४ जना, २०७१/७२ मा चार हजार ३३२ जना, २०७२/७३ मा चार हजार ६८० जनाको यसरी ज्यान गएको तथ्यांक छ ।

त्यस्तै, २०७३/७४ मा पाँच हजार २२४ जना, २०७४/७५ मा पाँच हजार ३१७ जना, २०७५/७६ मा पाँच हजार ७५४ जना, २०७६/७७ मा ६ हजार २७९ जना, २०७८/७९ मा छ हजार ८३० जना र २०७७/८ मा सात हजार १४१ जनाले आत्महत्या गरेका छन् ।

मानसिक स्वास्थ्य परामर्श केन्द्रको मनोचिकत्सक डा. सुजिता बानियाँका अनुसार मानिसको मन र दिमागभित्र विचारहरूको आरोह–अवरोह चलिरहन्छ । सकारात्मक विचारले ऊर्जा दिए पनि नकारात्मक विचारले मानिसमा नैराश्यता, एक्लोपन, बाँच्नुको कुनै सार नरहेको महसुस गरेपछि मानिसले आत्महत्याको बाटो रोज्ने गरेको उनले बताए ।

आत्महत्याको संकेत देखाएका मानिसले समयमा नै सही परामर्श, परिवारको साथ पाएमा यसो गर्नबाट जोगिने मनोचिकित्सक बानियाँको भनाइ छ । उनले भने, ‘सधैं आत्महत्याको कुरा गर्ने, मर्ने इच्छा व्यक्त गर्ने व्यक्तिहरूको कुरा सुनिदिने, बाँच्ने आशा जगाउने र मनोपरामर्श केन्द्रसम्म पु¥याएर सहयोग गरेमा आत्महत्या हुनबाट बचाउन सकिन्छ ।’

टिप्पणीहरू