राष्ट्रपतिविरुद्ध संयुक्त विद्यार्थी संगठनको आन्दोलन, लोसपा पनि मिसियो

राष्ट्रपतिविरुद्ध संयुक्त विद्यार्थी संगठनको आन्दोलन, लोसपा पनि मिसियो

सत्ता गठबन्धन सम्बद्ध विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपतिले संविधान मिचेको ठहर गर्दै संयुक्त विद्यार्थी संगठनले आन्दोलन घोषणा गरेका हुन् ।

आज अपरान्ह काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । जसअनुसार भोलि ७७ वटै जिल्लामा संयुक्त विरोध प्रदर्शन, कार्टुन प्रदर्शनी गर्ने कार्यक्रम छ । विद्यार्थी संगठनले भोलि बिहान माइतीघर मण्डलामा प्रदर्शन गर्ने जनाएका छन् । पर्सि ७ गते ११ बजे सडक बहस गर्ने जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा बोल्ने विद्यार्थी नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी दलीय स्वार्थ र इशाराबाट परिचालित भएर संविधान मिचेको विद्यार्थीहरुले आरोप लगाएका छन् । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भोलिदेखि राष्ट्रपतिविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय भएको जानकारी दिए ।

संयुक्त आन्दोलनमा लोकतान्त्रिक समाजवादी पार्टी सम्बद्ध समाजवादी विद्यार्थी यूनियन पनि मिसिएको छ । नेविसंघका सभापति डुजाङ्ग शेर्पा, अखिल –क्रान्तिकारी) का अध्यक्ष पन्चा सिंह, अनेरास्ववियु अध्यक्ष पराजुली, जनता समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष नेत्र चापागाईं, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रमेश यादवलगायत पत्रकार सम्मेलनमा उपस्थित थिए ।

टिप्पणीहरू