राष्ट्र बैंकका कर्मचारीद्वारा माधव नेपालमाथि ‘चामल चोर’ को आरोप

राष्ट्र बैंकका कर्मचारीद्वारा माधव नेपालमाथि ‘चामल चोर’ को आरोप

नेपाल राष्ट्र बैंकका एक जना उपनिर्देशकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुध्द अपमानजनक शब्द प्रयोग गरेका छन् । राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाइने बैंकको कर्मचारी सेवा विनियमावलीविरुध्द उनले नेपाललाई तुच्छ शब्दले गाली गरेर पूर्वप्रधानमन्त्रीको अपमान गरेका हुन् ।

उपनिर्देशक लक्ष्मी ताम्राकारले एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीको चर्को गाली गरेको भन्दै नेपालको खोइरो खनेको उनी निकटस्थले बताए । राजनीतिक नेतृत्वले जुहारी खेले पनि सरकारी कर्मचारीले सामाजिक सञ्जाल रंगाउन नहुने कानुनी प्रावधान छ । त्यसमा पनि ताम्राकारले भूतपूर्व प्रधानमन्त्री नेपालविरुध्द तुच्छ शब्द र चोरको गम्भीर आरोप लगाएपछि बैंकभित्रै आलोचना भएको हो ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीविरुध्द बोलेका कुरालाई एउटा अनलाइनले समाचार बनाएको थियो । सोही विषयलाई उल्लेख गर्दै त्यसको जवाफमा लक्ष्मीले पदीय मर्यादा,कर्मचारीको राजकीय सीमाको उल्लंघन गर्दै फेसबुक पृष्ठमा मनपरी लेखेका हुन् । गत शुक्रवार माधव नेपाललाई जवाफ दिँदै उनले लेखे, ‘तँलाई एकमुठी चामल चोरेर पनौतीमा भूमिगत हुँदा भात खुवाउने मान्छे नि अहिले जिउँदै छ । तैंले नि फूर्ति नलाए हुन्छ ।’

नेपालले ओलीलाई विगतमा दुई महिनासम्म भात खुवाएर पालेको उल्लेख गर्दै लेखिएको समाचारविरुध्द ताम्राकारले आफ्नो हैसियत बिर्सेर भूतपूर्व प्रधानमन्त्रीलाई उल्टै चामल चोरको आरोप लगाएका हुन् । उमेरको हिसाबले माधव नेपालको भूमिगत कालमा उनी जन्मिएकै थिएनन् । तर,माधव नेपालले एकमुठी चामल चोरेर भूमिगत भएको क्षण, पनौतीमा भात खुवाएको सन्दर्भ ताम्राकारले कसरी लेखे भन्ने विषय रहस्यमय भएको स्थानीयले समेत बताएका छन् ।

“कर्मचारीलाई शिष्ट भाषा,मर्यादा सिकाउनुपर्ने इकाइका उपनिर्देशकले नै सामाजिक सञ्जालमा प्रयोग गरेको अशिष्ट र असभ्य भाषाले सीमा नाघेको बैंकका एक जना कार्यकारी निर्देशकले स्वीकारे ।”

पनौती निवासी ताम्राकार बैंकको जनशक्ति व्यवस्थापन विभागअन्तर्गत बैंकर्स प्रशिक्षण केन्द्रमा कार्यरत छन् । कर्मचारीलाई शिष्ट भाषा,मर्यादा सिकाउनुपर्ने इकाइका उपनिर्देशकले नै सामाजिक सञ्जालमा प्रयोग गरेको अशिष्ट र असभ्य भाषाले सीमा नाघेको बैंकका एक जना कार्यकारी निर्देशकले स्वीकारे ।

उनले भने, ‘राजनीतिक तहमा चित्त नबुझेको कुरो कर्मचारीले बोल्न पाइन्न । सामाजिक सञ्जालमा मनपरी लेख्न त झन पाइन्न । लक्ष्मीको उक्त हर्कत अराजक हो ।’ उनका अनुसार ताम्राकारको पछिल्लो लेखाइमा साइबर क्राइम आकर्षित हुन्छ । राजनीतिक हैसियत जे जस्तो भए पनि मुलुकका प्रधानमन्त्री,मन्त्री वा संवैधानिक अंगको नेतृत्व गरिसकेका जो सुकैको आलोचना स्वस्थ तवरले गरिनुपर्ने उनको भनाइ छ ।

सर्वसाधारणको आलोचनामासमेत शिष्ट भाषा प्रयोग गरिनुपर्नेमा कसैको दुई मत छैन । तर कर्मचारीले त्यसतर्फ झन् बढी सजगता अपनाउनुपर्नेमा उनी राजनीतिक कार्यकर्ताभन्दा एक तह अघि बढेको पाइयो । बैंकको जनशक्ति व्यवस्थापन विभागमा यसबारे सोधनी गरिँदा अधिकांश हाकिम प्रतिक्रिया दिनबाट हच्किएका छन् ।

उनै लक्ष्मीले सामाजिक सञ्जालमा गभर्नर महाप्रसाद अधिकारीलगायतका हाकिमसँग तालिम कार्यक्रमका सहभागीलाई प्रमाणपत्र वितरण गरिँदाको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । यस्ता अशिष्ट भाषा प्रयोग गर्नेले सहभागीलाई कस्तो शिक्षा दिए ? त्यो थप रोचक विषय हुने केन्द्रीय बैंकका कर्मचारीहरु बताउँछन् ।

टिप्पणीहरू