आर्थिक अनियमिततामा मुछिएका ‘हेडसर’ बर्खास्त

आर्थिक अनियमिततामा मुछिएका ‘हेडसर’ बर्खास्त

-रमेश बञ्जारा

मकवानपुरको हेटौँडा उपमहानगरपालिका १६, चिसापानीमा रहेको जनप्रिय माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालयमा कार्यरत प्रधानाध्यापक नवराज अर्याललाई हटाइएको छ । विद्यालयमा आर्थिक अनियमितता गरेको भन्दै विद्यालय व्यवस्थापन समितिले बर्खास्त गरेको बताइन्छ ।

२०७३ सालदेखि विद्यालयमा कार्यरत प्रधानाध्यापक अर्याललाई समितिको बहुमत सदस्यको निर्णय र विद्यालयका सल्लाहकारहरुको सहमतिमा बर्खास्त गरिएको हो । उनले समितिबाट अनुमोदन नगराई खरिद नगरिएको सामानको चार लाख ९९ हजारको चेक काटेर लेखापाल नवीन दाहालसहितको मिलेमतोमा अर्यालले आर्थिक अपचलन गरेपछि आर्थिक अनियमितताको आरोप लागेको थियो ।

मकवानपुरको पहिलो प्राविधिक शिक्षालयको रुपमा सर्वत्र नाम कमाउँदै आएको उक्त विद्यालयमा पछिल्लो समय प्रधानाध्यापकको लापरवाहीका कारण विद्यालय बदनाम हुँदै गएको स्थानीयले आरोप लगाउँदै आएका थिए । पहिले विद्यालय हाताभित्र राखिएको राष्ट्रिय झण्डासमेत थोत्रो हुँदा पनि नफेरेका उनले पछिल्लो दिनमा आर्थिक अनियमितता गरेको बताइन्छ ।

उनीमाथि नियमित विद्यालयमा अनुपस्थित भएको, विद्यालयको शैक्षिक गुणस्तरमा कमजोर परिणाम आउने काम गरेपछि अभिभावकहरुले नै हेडसर फेर्न दबाब दिएका थिए । तर अर्यालको ध्यान विद्यालयको शैक्षिक सुधारभन्दा पनि अन्यत्र धेरै भएपछि बाध्य भएर बर्खास्त गरिएको समितिका सदस्यहरु बताउँछन् ।

अहिले स्थानीय अभिभावकले उनको अकुत सम्पति छानबिन गर्नु पर्ने आवाज उठाउन थालेका छन् । उनै हेडसरले प्राविधिक शिक्षाको नाममा विद्यालयको खाताबाट नजिकैको मत्स्य विकास केन्द्रको नाममा दैनिक भ्रमणभत्ता खर्चेर रकम अपचलन गरिएको आरोपमा मुद्दा खेपेका थिए ।

समितिले पटक पटक सचेत गराउँदा पनि उनले अटेर गरेको, मनोमानी गरेको, हिसाब किताब नबुझाएको आरोप लागेको थियो । उनले विद्यार्थीको पोशाकमा समेत आर्थिक अनियमितता गरेको बताइन्छ । तल्लो कक्षामा पढेका तर परीक्षा नदिएका कतिपय विद्यार्थीलाई अभिभावकसँग मिलेर एक तह माथि भर्ना गराएको समेत स्थानीयको भनाइ छ ।

बर्खास्तमा परेका हेडसरले विद्यालयमा शिक्षक पदपूर्ति र सरुवा गर्दासमेत आर्थिक अपचलन गरेको रहस्य बाहिरिएको थियो । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत पटक पटक छानबिन र अनुसन्धान गरेको बताइन्छ ।

हेटौंडा उपमहानगरपालिका १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले हजारौं विद्यार्थीको भविश्य जोडिएकाले शिक्षक र प्रधानाध्यापकलाई अनुशासन कायम गराउन समिति र सल्लाहकारको निर्णयबमोजिम उपयुक्त कारबाही हुनुलाई स्वाभाविक भनेका छन् । बर्खास्तमा पर्नुअघि अर्यालले आफ्नो पक्षमा लबिङ गराउन अभिभावकहरुको विशेष भेलाको पहल गरेका थिए । उनले दस्तखत गराएका १०९ जना अभिभावकमध्ये अधिकांशको नक्कली हस्ताक्षर गराएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश खतिवडा भन्छन्,‘उहाँलाई हामीले विद्यालयको हिसाब देखाउन, खरिद गरिएको सामान देखाउन आग्रह गर्यौं तर उनले देखाउन सकेनन् । समितिलाई नेटेरेपछि बर्खास्त गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

टिप्पणीहरू