शुरु भयो सोह्र श्राद्ध, असोज १ गते खाली

शुरु भयो सोह्र श्राद्ध, असोज १ गते खाली

आजदेखि सोह्र श्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि प्रारम्भ भएको हो ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिन्छ । सोह्र दिनसम्म श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो ।

आजदेखि १६ दिन अर्थात घटस्थापनाको अघिल्लो दिनसम्मको अवधिलाई पितृपक्ष पनि भनिन्छ । आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कुनै कारणले सोह्र श्राद्ध गर्न नसकिएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्मको कुनै दिन गर्न मिल्ने शास्त्रीय मान्यता छ । त्यो अवधिमा पनि श्राद्ध हुन सकेन भने लक्ष्मीपूजाका दिन गर्न सकिने ज्योतिषहरु बताउँछन् ।

यो वर्ष असोज १ गते कुनै पनि तिथिको श्राद्ध नपरेको पञ्चाङ समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । सोह्र श्राद्धको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादशैँको थालनी हुन्छ । कुनै पनि ठूला पर्व वा चाड मनाउनुअघि हिन्दु संस्कारमा पितृ तर्पण गर्ने परम्परागत मान्यता छ ।

टिप्पणीहरू