अचम्मका अपहरणकारी अझै अलप

अचम्मका अपहरणकारी अझै अलप

सन् १९७१ को नोभेम्बर २४ । भलादमीजस्ता देखिने एकजना व्यक्ति अमेरिकाको पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलस्थित नर्थवेष्ट ओरिएन्ट एअरलायन्सको काउन्टरअगाडि पुगे । आफ्नो नाउँ डान कुपर बताए र सियाटल जाने टिकट किने । ४०–४५ उमेरको जस्तो देखिने ती व्यक्तिले कालो रङको टाइ, सेतो कमिजको साथमा बिजनेस सुट लगाएका थिए । हातमा कालो रङको बृफकेस र खैरो रङको कागजको झोला थियो । उनले बोर्डिङ पास लिए र बोइङ ७२७–१०० को फ्लाइट नं ३०५ चढे । यात्रा मात्र ३५ मीनेटको थियो । पछिल्तिरको सिट १८–ई मा बसे । अरुले जस्तो ब्रिफकेश र झोला माथि राखेनन् र परिचारिकालाई बोर्बन ह्विस्की र सेभेन अपको अर्डर गरे । एकतिहाइ मात्र यात्रु थिए । विमान दिउँसो स्थानीय समय २ः५० मा उड्यो ।

केही समयपछि अर्थात् यात्राको मध्यभागतिर खल्तीबाट एउटा कागज निकाले र परिचारिका फ्लोरेन्स साफनरलाई दिए । साफनर कुपरको ठीक पछिल्तिर उभिएकी थिइन् । उनलाई लाग्यो, कि त्यसमा ब्यापारीको फोन नम्बर होला, अक्सर ब्यापारीले परिचारिकाहरूलाई आफ्नो नम्बर सुटुक्क दिने गर्छन् । त्यसैले हेर्दै नहेरी पर्सभित्र घुसारिन् । यो देखेर कुपर उनीतिर झुक्दै कानमा भन्न थाले’ ‘मिस, मैले लेखेर दिएको राम्रोसित पढ्दा राम्रै होला, मसित बम छ ।’

साफनरले कागज हेरिन् । प्रिन्ट गरेको सफा अक्षर थियो । सबै क्यापिटल अक्षरमा । कागज पाइलटलाई दिने मनशायले ककपिटतर्फ पाइला अगाडि बढाइन् तर कुपरले पाइलटलाई देखाउनुअघि एकछिन आफूसँगैको सिटमा बस्न आग्रह गरे । साफनर सँगैको खाली सिटमा बसिन् र सोधिन् ‘खोइ बम ?’

कुपरले ब्रिफकेश खोलेर देखाए । भित्र डाइनामाइटजस्तो देखिने ४–४ वटा गरी २ लाइनमा जम्मा रातो रङको ८ वटा सिलिण्डर थिए । तार जोडिएको थियो भने ब्याट्री पनि थियो । साफनर उठ्न नपाउँदै कुपरले आफ्नो माग कागजमा लेखेर दिए जुन लगेर तुरुन्त क्याप्टेन स्कटलाई बुझाइयो । कुपरको माग थियो – ५ बजेभित्र २ लाख डलर ब्यागमा राखेर बुझाउनुपर्ने, दुइटा प्यारासुट उपल्ब्ध गराउनु पर्ने, नगद नोट अमेरिकी डलर नै हुनुपर्ने । लगत्तै अर्की परिचारिका टीना मकलोलाई बोलाएर थप माग अघि सारे । विमान सियाटलमा इन्धन भर्नका लागि रोकिनुपर्ने, त्यो बेला सबै यात्रु आ–आफ्नो सिटमै बसेको हुनुपर्ने र त्यसबेलासम्म आफूले मागेको रकम हातमा पुगिसक्नुपर्ने ।

क्याप्टेन विलियम ए. स्कटले सियाटलको ताकोमा विमानस्थलको एअर कन्ट्रोल ट्रान्सपोर्टलाई सबै सूचना दिए । कन्ट्रोल अफिसले स्थानीय र संघीय प्रशासनलाई खबर ग¥यो । विमान अपहरणमा परिसकेको र अपहरणकारीसँग बम भएको खबरले यात्रुहरूमा खैलाबैला मच्चिएला भन्ने डरले क्याप्टेनले साधारण प्राविधिक समस्या आइपरेकोले विमान सियाटलमा अवतरण गर्न लागिएको सूचना दिए । नर्थवेष्ट ओरिएन्ट एअरलाइन्सका अध्यक्ष डोनाल्ड निरोप अपहरणकारीको सबै माग पूरा गर्न तयार भए । साथै, उनले सियाटलको प्रहरी र संघीय अनुसन्धान ब्युरो (एफबिआइ) लाई पनि खबर गरिदिए ।

विमान सियाटलको आकाशमा चक्कर काटेको काट्यै गरिरह्यो र अन्त्यमा अवतरण भयो । कुपरले माग पूरा नभएसम्म परिचारिका टिनालाई आफूसँगै उभिरहन भने । एकछिनपछि मागबमोजिम २ लाख डलर नगद राखिएको ब्याग र दुइटा प्यारासुट कुपरको हातमा थमाइयो । एफबिआइले नोटको नम्बर सबै टिपेको थियो ताकि सजिलै समात्न सकियोस् । कुपरले नगद र प्यारासुट बुझेपछि सबै ३६ जना यात्रु र ६ चालकदलका सदस्यमध्ये २ जनाबाहेक अरुलाई विमानबाट ओर्लन दिए । त्यो बेलासम्ममा बेलुकीको ८ बजिसकेको थियो । बीचमा विमानमा तेल भरियो पनि ।

यात्रु ओरालिसकेपछि कुपरले पाइलटलाई विमान मेक्सिको लान आदेश दिए । उता, एफबिआइले विमान अवतरण हुनेबित्तिकै अपहरणकारीलाई समाउन पछिपछि अर्को दुइटा विमान पिछा गर्न लगायो । विमान मेक्सिकोतर्फ जाँदै गर्दा अर्थात् उडिरहेकै बेला कुपरले कर्मचारीलाई ककपिटमा जान र भित्रबाट चुकुल लगाउन भने । एकछिनपछि पाइलटले हावाको दबाबमा फरक परेको महसुस गर्दै पछाडि फर्केर हेर्दा विमानको ढोका खुलेको पाए । तुरुन्तै परिचारिकालाई ढोका बन्द गर्न अह्राए ।

परिचारिकाले ढोका बन्द गरी कुपरलाई खोजिन् । कतै देखिनन् । विमान नेभादाको रेनो पुग्नुअगावै कुपर हातमा पैसा भएको ब्याग बोकेर प्यारासुटमार्फत हाम्फालिसकेका रहेछन् । विमान जब अवतरण भयो, त्यहाँ पहिल्यै तैनाथ प्रहरी जत्थाले चारैतिरबाट घे¥यो । विमान त्यहाँ पुग्नुअगावै कुपर फरार भैसकेको कसैले थाहा पाएनन्, यहाँसम्म कि विमानलाई पिछा गर्दै आएका हवाइसेनाको दुइटा विमानले समेत चालै पाएनन् कि कुपर कहिले र कुन स्थानमा पुग्दा गायब भएका छन् ।

एफबिआइले जाँचबुझ थाल्यो । परिचारिकाले दिएको हुलियाको आधारमा स्केच बनाउन लगाइयो । परिचारिकाहरूका अनुसार उनको कद ६ फुट १ इन्च र तौल ७७ देखि ८० किलो, उमेर ४० र ५० बीच हुनुपथ्र्याे । आँखा खैरो थियो, कपाल कालो । तर, कुपरको वास्तविक नाउँ के हो, कता झरे, मरे कि बाँचेकै छन्जस्ता कुनै एउटा सुराग पनि फेला पर्न सकेन । कुपरले विमानभित्र कुनै सुराक छाडेका थिएनन् ।

उनको सिटमुनि चुरोटको ठुटा, सिटमा एउटा कपाल र टाइबाहेक केही थिएनन्, ती वस्तुमा पनि औंलाको निशान थिएन । एफबिआइले करिब ८ सय मानिसलाई शंकाको घेरामा राखेर जाँचपडताल ग¥यो । एक जना ब्यक्तिमाथि ठूलै अनुसन्धान चलाइयो तर परिचारिकाहरूले दिएको कुपरको हुलियासित अलिकति पनि मेल नखाएका कारण रिहा गर्नुप¥यो । एफबीआईका विशेष एजेण्ट लैरी केरले सन् २००७ मा भन्यो ’कुनै पनि व्यक्ति अँध्यारो रातमा र पानी परिरहेको बेला प्यारासुटबाट हाम्फाल्नै सक्दैन, त्यो पनि विमान जब २०० माइल प्रति घण्टाको गतिमा दौडिरहेको होस्, त्यो समय हावाको झाेंकाले आँखा खोल्नै दिँदैन त्यसमाथि उनले बाक्लो र गह्रुंगो कोट लगाएका थिए ।’

एफबिआइले अपहरणकारी कुपर विमानबाट हाम्फाल्दा मरेको हुनुपर्ने निश्कर्ष निकाल्यो । उनीहरूका अनुसार कुपरले प्यारासुटबाट हाम्फाल्ने तालिम लिएकै थिएनन् । सन् १९८० को जाँचपडतालबाट एउटा आशाको किरण देखाप¥यो । ८ वर्षको बच्चा ब्रायन इंग्राम वासिङटनस्थित कोलम्बिया नदीमा खेल्दै थियो । खेल्नेक्रममै उसले खाल्डो खन्दा एउटा प्याकेट फेला प¥यो । प्याकेटभित्र २०÷ २० डलरको नोटको बन्डल थियो । त्यसमा कूल ५ हजार ८ सय डलर थियो । ब्रायनका आमाबाबुले प्रहरीलाई खबर गरे । ती नोट कुपरलाई दिइएको नम्बरकै थिए ।

यसबाट पनि कुपरबारे अनुसन्धान अघि बढेन । प्रहरीले ६ वर्षपछि फेला पारेको आधी रकम २ हजार ७ सय ६० डलर ब्रायनलाई फर्कायो । ब्रायनले २० डलरको नोट पछि सन् २००८ मा लिलाममा ३७ लाख डलरमा बेच्यो । यो घटनापश्चात् अमेरिकी हवाई विभागले ७२७ विमानको पछिल्तिरबाट निस्कने भर्याङको बाहिरबाट लगाउने छेस्किनी लगाउनुपर्ने आदेश जारी ग¥यो, ताकि उडिरहेको विमानबाट कोही पनि हाम्फाल्न नसकुन्, किनभने कुपरले त्यही गरेका थिए र सधैंका लागि गायब भएका थिए । उक्त विमानको अपहरण र अपहरणकर्ता कुपरलालाइ खोज्न एफबिआइ सन् २०१६ सम्म पनि घुँडा टेकेर लाग्यो ।

तर कुनै सुराग हात नपरेपछि फाइल बन्द ग¥यो । जाबो एकजना ब्यक्तिलाई खोज्न एफबिआइ जस्तो खुँखार संस्था असफल भएकोसम्बन्धी उक्त फाइल अहिले पनि सोही कार्यालयमा सुरक्षित छ ।

टिप्पणीहरू