राप्रपा र एमालेवीच कुन कुन क्षेत्रको निम्ति रस्साकस्सी ?

राप्रपा र एमालेवीच कुन कुन क्षेत्रको निम्ति रस्साकस्सी ?

स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धनविरुध्द एक्लै लड्ने घोषणाविपरित भेटेजति शक्तिसँग तालमेल गरेको नेकपा एमालेले मंसिरको चुनावमा राप्रपासँग सहकार्य गर्ने भएको छ । गठबन्धन गर्ने सैध्दान्तिक सहमति गरिसकेका दुबै पार्टीका नेताहरु अहिले सिट भागबण्डा मिलाउन जुटेका छन् ।

एमाले नेताहरुले राष्ट्रियस्तरमा गठबन्धन नहुने दावी गरे पनि पहिले सिट भागबण्डा टुंग्याएर दुई पार्टीबीच सम्झौता गर्ने तयारी छ । जसका लागि एमालेबाट अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल र राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्गदेन आफै अघि सरेका छन् । दुई नेताबीच घनिभूत वार्ता चलिरहेको राप्रपाका एक नेताले बताए ।

गणतन्त्र,संघीयता र धर्मनिरपेक्षतामा एक ठाउँ उभिएका कांग्रेस-माओवादी नेतृत्वको सत्ता गठबन्धनलाई अप्राकृतिक भनिरहेको एमालेले राजतन्त्र बोकेर हिँडेको राप्रपासँग सहकार्यको हात अघि बढाए पनि सिट भागबण्डा मिलाउन भने सकस परिरहेको बताइन्छ । राप्रपाले न्यूनतम २० सिट मागेपछि कुरा मिलाउन अलिकति समय लागेको राप्रपा स्रोतले बतायो । एमाले अध्यक्ष ओलीले भने १२ देखि १५ सिटमा चित्त बुझाइदिन राप्रपा नेतृत्वलाई आग्रह गर्नुभएको छ ।

दुई अध्यक्षको झापामा जित सुनिश्चित गर्नेमा दुवै दल सहमत छन् । तर,राप्रपाले स्थानीय निर्वाचनको मतलाई आधार बनाएर केही क्षेत्रमा बलियो अडान राखेपछि छलफल लम्बिएको हो । जस्तो, राप्रपाले धादिङ-२ मा बुध्दिमान तामाङलाई अघि सार्ने तयारी गरेको छ । तर, स्थानीय निर्वाचनको परिणाम हेर्दा दुई पार्टीको मत जोड्दा पनि गठबन्धन धेरै अगाडि देखिन्छ ।

त्यस्तै, चितवन-३ मा प्रचण्डविरुध्द विक्रम पाण्डेलाई मैदानमा उतार्ने पक्कापक्की छ । तर,राप्रपाभन्दा एमाले बलियो यस क्षेत्रमा पाण्डेलाई छोड्दा प्रचण्डलाई हराउन कठिन हुने बालकोटको निष्कर्षमा राप्रपा नेताहरु सहमत भैसकेका छैनन् । चितवन-३ मा एमाले र राप्रपाको मत भन्दा गठबन्धनको मत धेरै छ ।

बताइएअनुसार राप्रपाले झापामा अध्यक्ष लिङ्गदेनको क्षेत्रबाहेक अर्को एउटा क्षेत्र पनि मागेको छ, जसमा एमाले सहमत भैसकेको छैन । रुपन्देहीमा पनि दुई सिट पाउनुपर्ने राप्रपाको माग छ । क्षेत्र नं. २ घनश्याम भुसालका लागि छोडेर १ नम्बरमा दिपक बोहोरालाई उठाउन मोटामोटी समझदारी बनेको बताइन्छ ।

त्यस्तै,राप्रपाले दावी गरेको अर्को ठाउँ हो,पश्चिम नवलपरासी । त्यहाँ ध्रुवबहादुर प्रधानलाई उठाउने तयारी छ । सुर्खेतका दुवै निर्वाचन क्षेत्रलाई राप्रपाले जित्ने सम्भावनाका रुपमा राखेको छ । त्यहाँ कम्तिमा एक क्षेत्र पाउनै पर्ने उनीहरुको अडान छ । यता,बाँकेमा धवलसमशेरका लागि राप्रपाले अन्तिमसम्म अडान राख्ने सम्भावना छ । नुवाकोटमा डा. प्रकाशचन्द्र लोहनी,सिन्धुपाल्चोकमा पशुपतिसमशेर राणाको पनि दावी कमजोर छैन । राप्रपाले दैलेखलाई पनि जित्ने सम्भावना भएको क्षेत्रका रुपमा राखेको छ ।

तर,अधिकांश क्षेत्रमा दुई पार्टी मिल्दा पनि गठबन्धनकै मत बढी देखिएकाले उम्मेदवार हेरेर भागबण्डा मिलाउने प्रयास भैरहेको एक नेताले बताए ।

टिप्पणीहरू