राष्ट्रिय सभा बैठक ३ बजे बस्ने,नागरिकता विधेयक कार्यसूचीमा अटाएन

राष्ट्रिय सभा बैठक ३ बजे बस्ने,नागरिकता विधेयक कार्यसूचीमा अटाएन

राष्ट्रिय सभाको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा राज्यका निर्देशक सिध्दान्त,नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन समितिको वार्षिक प्रतिवेदन २०७६ र एकीकृत प्रतिवेदन २०७९ पेश गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै बिमा विधेयक २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव, शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा विधायन समितिले पारित गरेको नागरिकता विधेयक पेश गर्ने सम्भावना भए पनि सम्भावित कार्यसूचीमा भने राखिएको छैन । राष्ट्रिय सभाले थप छलफलको लागि भनेर विधायन समितिमा पठाएको उक्त विधेयकलाई कुनै संशोधन बिना नै समितिबाट बहुमतको आधारमा हिजो पारित गरिएको थियो।

विधायन समितिबाट पारित भएको उक्त विधेयकलाई सरकारले कार्यसूचीमा थपघट गराएर भए पनि आज बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने सम्भावना भने रहेको बुझिएको हो ।

टिप्पणीहरू