चिकित्सा शिक्षाका शिक्षकको मापदण्ड तोकियो « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

चिकित्सा शिक्षाका शिक्षकको मापदण्ड तोकियो

प्रकाशित मिति :  २ भाद्र २०७९, बिहीबार १९:३०


चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्यापन गर्ने शिक्षकको मापदण्ड तोकेको छ । चिकित्साशास्त्रको स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गराउने शिक्षकको उमेर, योग्यता र पदलगायतका विषयमा एकरुपता ल्याउन आयोगले नयाँ मापदण्ड ल्याएको बताइएको छ ।

आयोगले ‘उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९’ पनि स्वीकृत गरेको छ । जसअनुसार शिक्षकको पद राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २१ बमोजिम प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक कायम हुनेछ ।

विश्वविद्यालय, प्रतिष्ठान वा शिक्षण संस्थाअन्तर्गत मेडिकल र डेन्टलतर्फको शिक्षक हुन सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी सम्बन्धित काउन्सिलमा दर्ता हुनुपर्ने कार्यविधिमा उल्लेख छ । प्राध्यापकका लागि सम्बन्धित विषयमा डिएम, एमसीएच, पिएचडी वा सोसरह शैक्षिक योग्यता हासिल गरेको र सह–प्राध्यापक तहमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त भएको हुनुपर्छ ।

त्यस्तै, १५ वर्ष शिक्षण र सम्बन्धित विषयमा कम्तीमा छ वटा मौलिक अनुसन्धान लेख प्रकाशन गरेको हुनुपर्ने आयोगले जनाएको छ । तीमध्ये कम्तीमा दुई वटा लेख मुख्य लेखकको हुनुपर्ने मापदण्ड तोकिएको छ । सहप्राध्यापकको हकमा सम्बन्धित विषयमा डिएम, एमसीएच वा सोसरह शैक्षिक योग्यता र पाँच वर्ष उपप्राध्यापक भएर काम गरेको अनुभव हुनुपर्नेछ ।

साथै, सम्बन्धित विषयमा कम्तीमा छ वटा मौलिक अनुसन्धान लेख प्रकाशन भएको र दुई वटा लेख मुख्य लेखकको हुनुपर्नेछ । प्रतिष्ठान÷विश्वविद्यालय÷बोर्ड वा मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातकोत्तर र काउन्सिलमा स्नातकोत्तर तहको विषय दर्ता भएको शिक्षक उपप्राध्यापक बन्न सक्नेछन् ।

यता, नर्सिङ विधाका शिक्षक (फ्याकल्टी) का लागि विद्यावारिधी अनिवार्य गरिएको छैन । सबै विधाका शिक्षक (फ्याकल्टी) को उमेर ७० वर्षभन्दा बढी हुन नपाउने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !