आइएमई कम्पेल्क्स परिसरमा इन्डोनेसियाको झण्डा फहराइयो

आइएमई कम्पेल्क्स परिसरमा इन्डोनेसियाको झण्डा फहराइयो

राजधानीको पानीपोखरीस्थित रहेको नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्पेल्क्स परिसरमा भएको झण्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ ।

गणतन्त्र इन्डोनेसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित झण्डोत्तलन कार्यक्रम सम्पन्न भएको हो ।

नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झण्डा फहराएका हुन् ।

उनले यस अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल र इन्डोनेसियाबीच सम्बन्ध सुमधुर रहेको र यसलाई जनस्तरसम्म पुर्याउन आफूले प्रयास गरिरहेको बताए ।

साथै, उनले दुई मुलुकबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकाले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुद बनाउनुपर्ने कुरामा जोड दिएका छन् ।

झण्डोत्तलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्यदूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतको कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ ।

इन्डोनेसिया आसियान राष्ट्रहरुमध्येको सबैभन्दा ठूलो अर्थतन्त्र भएको राष्ट्र हो । नेपाल र इन्डोनेसियाबीचको व्यापारको परिमाण पनि ठूलो रहेको छ ।

दुई देशबीच पर्यटनलगायत व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।

टिप्पणीहरू