नेपाल टेलिकमको खुद नाफा आठ अर्ब नाघ्यो

नेपाल टेलिकमको खुद नाफा आठ अर्ब नाघ्यो

नेपाल टेलिकमको खुद नाफा आठ अर्ब ३८ करोडभन्दा बढी पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको खुद मुनाफा एक अर्ब २५ करोड छ लाख ४७ हजारले वृद्धि भएर आठ अर्ब ३८ करोड ८८ हजार रुपैयाँ पुगेको बताइएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा कम्पनीको खुद मुनाफा सात अर्ब १२ करोड ९४ लाख ४१ हजार थियो । त्यसबाहेक कम्पनीले गैर कार्य सञ्चालनतर्फको आयमा समेत वृद्धि गरेको टेलिकमले बताएको छ ।

यसैगरी कम्पनीले पछिल्लो एक वर्षमा ४४ अर्ब ३२ करोड तीन लाख रुपैयाँ कुल आम्दानी गरेको छ । गत आर्थिक वर्ष २०७८–७९ मा अघिल्लो आवको तुलनामा दुई अर्ब ११ करोड १४ लाख ५४ रुपैयाँ आम्दानी बढाएको देखिन्छ ।

यो आम्दानी पछिल्लो चार वर्षयताकै उच्च भएको बताइन्छ । आर्थिक वर्ष २०७४–०७५ मा ४५ अर्ब २७ करोड कुल आम्दानी गरेको टेलिकमले त्यसपछि २०७७–७८ सम्म क्रमशः ४३ अर्ब ४८ करोड रुपैयाँ, ४१ अर्ब ४९ करोड रुपैयाँ र ४२ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

टिप्पणीहरू