एमाले प्रमुख सचेतकको कमलो मन

एमाले प्रमुख सचेतकको कमलो मन

एमाले प्रमुख सचेतक विशाल भट्टराईले पार्टी संगठन विभागमा सदस्यताको निम्ति दयालु सिफारिस गरेका छन् । उनले पाँच दशकअघिको सन्दर्भ जोडेर सोलुखुम्बुका एक जना शेर्पालाई सोही मितिदेखि लागु हुनेगरी सदस्यता कायम गर्न सिफारिस गरेका हुन् ।

भट्टराईले सोलुखुम्बुको तत्कालीन खुम्जुङ गाउँ पञ्चायत ५ मा जन्मेर अध्ययनको सिलसिलामा काठमाडौं जाने क्रममा २०३० सालतिर अनेरास्ववियुको विभिन्न जिम्मेवारी बहन गरेका लाक्पा गेलु शेर्पालाई पुरानै मितिदेखि लागु हुनेगरी सदस्यता कायम गरिदिन संगठन विभागका प्रमुखलाई पत्र लेखेका हुन् ।

भट्टराईका अनुसार शेर्पा त्यतिबेला अध्ययनपछि सोलुखुम्बु फर्केर शिक्षण पेशामा संलग्न भएको र उनलाई तत्कालीन पञ्चायती शासकहरुले मानसिक टर्चरसमेत दिएको थियो ।उनी आधिकारिक रुपमा सोलुखम्बु जिल्ला पार्टी कमिटीमा आवद्ध नभए पनि २०३७ सालको स्थानीय तह निर्वाचनमा खुम्बु पासाङल्हामु गाउँ पञ्चायतमा नेकपा (एमाले) लाई सबै वडामा जिताउने काममा सशक्त भूमिका निर्वाह गरेको दाबी गरिएको छ ।

तर, २०३७ सालमा एमाले पार्टी नभएको र त्यतिबेला सोलुखुम्बु गाउँ पञ्चायतका सबै वडामा जनपक्षीय उम्मेदवार उठेको विषयमाथि नै शंका उत्पन्न भएको छ ।प्रमुख सचेतकको पत्रमा लेखिएको छ, ‘पार्टी सम्पर्कमा रही विभिन्न जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्दै आउनु भएका,हाल काठमाण्डौ महानगरपालिका वडा नम्बर ३ का स्थायी निवासी क. लाक्पा गेलु शेर्पालाई पहिलेकै मितिको पार्टी सदस्यता समेत कायम गरी योग्यताअनुसारको कुनै कमिटीका विभागमा जिम्मेवारी दिई पार्टी काममा लगाउन सिफारिस गरिएको छ ।’

टिप्पणीहरू