बेलायतमा कलाकार फालाफाल, पोष्टरमा नामी, स्टेजमा सी ग्रेड

बेलायतमा कलाकार फालाफाल, पोष्टरमा नामी, स्टेजमा सी ग्रेड

एचके इन्टरटेन्मेन्टले २९, ३० र ३१ जुलाईका दिन बेलायतका तीन शहरमा एज ब्याण्डको कन्सर्ट ग¥यो । कोभिडपछिको ठूलो शो । त्यसमाथि राष्ट्रिय कलाकार भएकाले इभेन्ट राम्रै भयो, ३० पाउण्ड टिकट मूल्य भएपछि आयोजकले मज्जाले कमाए ।

लोकप्रिय गायक राजु लामाको नाम बेचेर आयोजकले टिकट बेचे तर कार्यक्रममा राजु थिएनन् । आइतबार धादिङ–नुवाकोट समाजको वार्षिक समर भेटघाट भयो । यसमा पनि आयोजकले दर्शक झुक्याए । चर्चित हाँस्यकलाकार शैलेन्द्र सिम्खडा आउने भनेर टिकट बेचिएको थियो तर आए अस्मिता डल्लाकोटी र विशाल रायमाझी ।

किरात राई यायोक्खाले २४ जुलाईमा गायक राजेश पायल राईको एकल कन्सर्ट हुने भनेर धमाधम टिकट बेच्यो । तर, टिकट लिइसकेका दर्शक त्यतिखेर जिल्लिए जतिबेला आयोजकले कन्सर्ट अनिश्चितकालका लागि स्थगित भएको जनाउ दिए ।

भिसा टुंगो नलागेको जनाउँदै आयोजकले कार्यक्रम स्थगित भएको बतायो । ‘उक्त कार्यक्रम आयोजनाको सम्पूर्ण तयारी गरिसकिएको भए पनि राई इज किङ्गको नामले परिचित सुविख्यात गायक राजेश पायल राईज्यूको भीसा रसिया र युक्रेनबीच जारी युद्धका कारण अनिश्चित क्यूमा फस्न पुगेपछि हामी आयोजक संस्था निर्धारित कार्यक्रम स्थगित गर्ने निर्णयमा पुगेका हौं’, अध्यक्ष चन्द्रबहादुर राई, महासचिव चन्द्रवती राई र उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुमनचन्द्र राई यसरी संयुक्त विज्ञप्ति जारी गरेर उम्किए ।

केही समयअघि मगर संघ यूकेले आफ्नो ओपन कन्सर्टमा प्रकाश सपुत आउने भनेर अन्तिमसम्म टिकट बेचिरह्यो, समाचार प्रचार प्रसार भइरह्यो तर कार्यक्रमका बेला स्टेजमा देखिए सी ग्रेडका दोहोरी कलाकार मात्र । कोभिड महामारी अन्त्यपछि अहिले बेलायतमा कयौं कार्यक्रम आयोजना गरिएका छन् । यही मेसोमा आयोजक भने दर्शक झुक्याएर कमाउन तल्लीन छन् ।

‘नेपालबाट राष्ट्रिय कलाकार आउने भनेर टिकट बेच्ने तर स्टेजमा नामै नसुनेको कलाकार देखिने’, लण्डनस्थित एकजना दर्शकको गुनासो छ, ’पोष्टरमा नामी, स्टेजमा सी ग्रेडका कलाकार बोलाएर आयोजकले सरासर ठगी गरेका छन् । अब यसको अन्त्य हुन जरुरी भइसकेको छ ।’

यथेष्ट तयारी बिना, भीसा प्रक्रिया नै शुरु नगरी पोष्टर र टिकटमा नेपालका राष्ट्रिय कलाकारको नाम राखेर कार्यक्रम आयोजना गरिनु अब सामान्य हुन थालेको छ । आक्रोश पोख्ने दर्शकलाई रुस, युक्रेन युद्धका कारण बेलायतले भीसा दिन ढिलाइ गरेर हो भनिदिने नत्र चुपचाप पाउण्ड छापिरहने धन्दा अहिले बेलायतका नेपाली संघसंस्था अनि व्यक्तिहरूमा खुब बढेको छ ।

यतिखेर बेलायतमा दोहोरी साँझतिर गाउने, नाच्ने कलाकारहरूको बाक्लै भीड छ । रेष्टुरेन्टमा, धनी एनआरएनको जन्मदिन र उनीहरूका सन्तानको पास्नीमा अनि परिआए एनिभर्सरीमा समेत गएर गीत गाइदिने कलाकारका कारण नाम कमाएका कलाकारको प्रतिष्ठा मात्र गिरेको छैन्, कार्यक्रमको गुणस्तरीयता पनि खस्केको छ ।

अहिले यूकेमा नामै नसुनेका दोहोरी कलाकार थुप्रिंदा आयोजकले अन्तिम समय पारेर तिनैलाई सस्तोमा बोलाउँछन् । तर ठगिने त दर्शक नै हुन् । अनि बेलायतमा कमाएर फर्किने कोही पनि कलाकारले आयकर तिर्दैनन् ।

टिप्पणीहरू