सिडिओका आँखा सहकर्मीको भत्ता र नुनसम्म

सिडिओका आँखा सहकर्मीको भत्ता र नुनसम्म

प्रमुख जिल्ला अधिकारीको मुख्य जिम्मेवारी जिल्लाको शान्ति–सुरक्षा कायम गराउनु हो तर बझाङका बाबुराम अर्यालले आफ्नै सहकर्मीले पाउने भत्तादेखि विकटका बासिन्दाले उपभोग गर्ने नुन खान खोजेपछि बजारमा राम्रै चर्चा छ ।

स्थानीय निर्वाचनमा खटिएका सुरक्षा निकायका प्रमुखले पाउनुपर्ने भत्ता आफैंले गोजीमा हालेको भन्दै उनी पहिलो पल्ट विवादमा आएका थिए । अर्यालको नेतृत्वमा जिल्ला निर्वाचन सेल गठन भएको थियो । सेलमा जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी इकाइ प्रमुख, सेनाप्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहन्छन् ।

निर्वाचन सम्पन्न भइसकेपछि सेलका सदस्यले खाइपाई आएको एक महिनाको तलबमा ६० प्रतिशत हुन आउने रकम भत्ताबापत पाउँछन् । तर, अर्यालले भने उक्त रकम निर्वाचन सेलका सदस्यलाई उपलब्ध गराएनन् । बरु २१ असारमा कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट आफ्नै कार्यालयका १२ जना कर्मचारी र चैनपुर फुड क्याफेको नाममा चेक काट्न लगाए । ‘२ लाख १५ हजारजति रकम हो । त्यसैमा पनि सिडिओ साबले ¥याल चुहाउनुभएछ,’ एकजना सुरक्षा प्रमुख भन्छन्, ‘प्रशासनकै कर्मचारीको नाममा चेक काटेर सिडिओले रकम लिएको भन्छन् । हामीले त एक रूपैयाँ पनि पाएनौँ’

०७८/८९ मा अर्थ मन्त्रालयबाट जारी नयाँ तलबमान र सुविधाअनुसार राजपत्र अंकित द्वितीय श्रेणीको शुरु तलबस्केल ४२ हजार ३ सय ८० छ । स्केलको ६० प्रतिशतअनुसार प्रजिअ अधिकारीले करिब २६ हजार भत्ता पाउने देखिन्छ ।

तर, उनको खातामा तलब स्केलभन्दा बढी ५५ हजार ८ सय ४३ रूपैयाँ भुक्तानी भएको कोलेनिकाका एक अधिकारीले बताए । निर्वाचन सेललाई भत्ता किन वितरण भएन भन्ने प्रश्नमा लेखापाल पृथ्वी थारूले पदाधिकारीको खाता नम्बर नभएकाले दिन नसकिएको बताए । भुक्तानी भएको धेरै लामो समय बितिसक्दा पनि किन खाता नम्बर माग्नु भएन भन्ने प्रश्नमा २५ असारमा मात्रै भुक्तानी लिएको र समय अभाव भएको भन्दै टक्टकिए ।

भने, ‘२५ असारको राति कोष तथा लेखा नियन्त्रकको कार्यालयका कर्मचारीसँग भुक्तानी दिन अनुरोध गरेको थिएँ । जिल्ला प्रशासन कार्यालयको नाममा एकमुष्ट चेक काटेको छु । सुरक्षा निकायका सरको खाता नम्बर मसँग भएन, त्यसैले कर्मचारीको नाममा चेक काटेको हो ।’ शुरुमा जिल्ला प्रशासनको नाममा एकमुष्ट चेक काटेको बताएका उनले एकैछिनमा कार्यालयका कर्मचारीको नाममा चेक काटिएको भन्दै बोली फेरे । तपाईंले कुरा मिलाउन २५ गते चेक काटेको भन्नुभएको होइन ? भन्ने प्रश्नमा भने अक्मकिए । ‘जिल्ला स्वास्थ्य कार्यालयमा पनि काम गर्ने भएकाले लोड धेरै हुन्छ । सिष्टममा हेरेर भन्छु’ भन्दै फोन काटेका थारूले त्यसपछि कल गरेनन् । पुनः डायल गर्दा फोनै उठेन ।

सिडिओ अर्यालले भने नियमविपरीत कर्मचारीको खातामा हालेको रकम राजश्व खातामा फिर्ता पठाइएको बताउँदै आएका छन् । ‘भूलवश अन्य कर्मचारीको खातामा गएको ९६ हजार राजश्व खातामा जम्मा गरिसकेका छौँ’, उनले भने ।

साइपालको नुनमा पनि आँखा

सिडिओ अर्यालले आफ्नै सहकर्मीको भत्ता मात्रै नभएर विकटका जनताको लागि ढुवानी अनुदानमा जाने नुनमा पनि आँखा गाडेको आरोप छ । ०७८/८९ का लागि साइपाल गाउँपालिकालाई छुट्याइएको १ हजार ३१० क्विन्टलमध्ये आर्थिक वर्ष सकिँदा पनि सय क्विन्टलभन्दा कम नुन मात्रै ढुवानी भएको भयो ।

तर, तोकिएको कोटाको सबै नुन गाउँपालिकामा नपुगेको भए पनि ठेकेदार कम्पनीले भने सबै नुन ढुवानी गरिसकेको भनेर साल्ट ट्रेडिङ कर्पाेरेसनको प्रदेश कार्यालयमा आवेदन हालेको पाइयो । पुग्दै नपुगेको नुन विद्या कन्स्ट्रक्सनले ढुवानी गरी ल्याइपु¥याएको भनेर मुचुल्कामा कर्पाेरेशनका बझाङ डिपो प्रमुख नरबहादुर भाट, साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहरा र साइपालस्थित लासी प्रहरी चौकीका असई कृष्णबहादुर विष्टले कार्यालयको छापसहित दस्तखत गरेका छन् । यो मुचुल्का सिडिओले दस्तखतसहित प्रमाणित गरी पठाएका छन् ।

टिएडिएको खेलो

सिडिओ अर्यालले सुरक्षा प्रमुखको भत्ता मात्रै नभएर आफ्नो कार्यालयका कर्मचारीको नाममा पालिका र अन्य कार्यालयबाट टिएडिए बुझेर खाने गरेको एक जना हाकिमले बताए । असारको अन्तिममा जिल्ला प्रशासन कार्यालयबाट १२/१३ जनालाई टिएडिए दिनुप¥यो भनेर फाइलका चाङ पठाएको र कार्यालय सहयोगीको नाममा समेत रकम बुझेर लिएको उनको भनाइ छ ।

‘एउटै कार्यालयबाट प्रशासनका कर्मचारीको नाममा १ लाख २० हजारसम्म रकम लिएका छन्’ उनले भने, ‘हाम्रै कार्यालयका सबै कर्मचारीले खान पाएनन् । सिडिओ कार्यालयका पियनको नाममा पनि भुक्तानी दियौं’, उनले अर्यालले कर्मचारीको नाममा मोटो रकम भुक्तानी लिए पनि उनीहरूलाई एक, दुई हजार दिएर बाँकी रकम आफैँले लिने गरेको थाहा पाएको बताए ।

टिप्पणीहरू