यौटै रुखमा किन झुण्डिए ३ किशोरी ?

यौटै रुखमा किन झुण्डिए ३ किशोरी ?

झापाको कचनकवल गाउँपालिका-५ स्थित एउटै रुखमा झुन्डिएको अवस्थामा तीन किशोरी मृत फेला परेको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

मृत भेटिएका तीनैजना पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा काम गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार तीनै जना हिजो शनिबार मध्यान्न १२ बजेको समयमा घुम्न भनी घरबाट निस्केका थिए । उनीहरु साँझ घर नफर्किए पनि आफन्तकोमा गएको ठानेर परिवारका सदस्यले शुरुमा खोजी नगरेको र आज बिहानसम्म सम्पर्कमा नआएपछि बल्ल प्रहरीलाई खबर गरेका थिए ।

आज बिहान काममा हिँडेका मजदुरहरुले सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा मान्छे झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएका थिए । एकजनाले गाई बाँध्ने दाम्लो,अर्कीले प्लाष्टिकको पहेंलो डोरी र अर्का एक जनाले गम्छा प्रयोग गरेको प्रहरीले बताएको छ ।

झापाका डीएसपी वसन्त पाठकका अनुसार अहिले घटनास्थलमा गाउँपालिकाको टोलीसहित इलाका प्रहरी र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी पुगेर घटनाको मुचुल्का उठाई शव पोष्टमार्टमको निम्ति वीपी काेइराला विज्ञान स्वास्थ्य प्रतिष्ठान धरान लगिएको छ ।

झुन्डिएको अवस्थामा भेटिएकाहरुमा कचनकवल-५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीया छोरी कल्पना हुन् । उनीहरुको साथमा दुई वटा एनड्रोइड मोबाइल पनि भेटिएको प्रहरीले जनाएको छ ।

घटना किन,के कारणले भएको अझै खुल्न सकेको छैन । आत्महत्याको अनुमान गरिए पनि पोष्टमार्टम रिपोर्ट नआउँदासम्म यसै भन्न नसकिने डिएसपी पाठकले बताए ।

टिप्पणीहरू