कम्युनिष्टभित्र गुपचुप जे पाक्दैछ

कम्युनिष्टभित्र गुपचुप जे पाक्दैछ

अन्ततः कम्युनिष्टबीच नयाँखाले ध्रुवीकरण हुने परिस्थिति देखा पर्न लागेको छ । तर, त्यसमा तत्काल केपी ओलीलाई सामेल गराइने – नगराइने टुंगो छैन । स्रोतका अनुसार, ओली आफैँले खोजखबरी गरेको अवस्थामा भने उहाँसँग अरु कम्युनिष्ट घटकका नेताले कुरा गर्ने भएका छन् ।

यस्तो विकासक्रमका सूत्रधार हुनुहुन्छ, वामदेव गौतम । एकता राष्ट्रिय अभियान नाम राखेर अलग्गै पार्टी खोल्नुभएका उहाँले समाजवादीको साथ रोज्ने हुनुभएको छ । सोमबार बेलुकी माधव, झलनाथ, वामदेव, हरि पराजुलीसहितको कुराकानीमा त्यस्तो टुंगो लागेको हो ।

वामदेवले हाल एकीकृत समाजवादीमा रहेका आफूनिकट नेताहरू बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठमार्फत सोमबार बिहान त्यस्तो सन्देश दिनुभयो । त्यहीअनुसार, बेलुकीको बसाइ भएको हो । वामदेवले आफ्नो पार्टीलाई समाजवादीसँग एकता गराउनुअघि नेकपाकालीन सचिवालय ब्युँताउनुपर्ने शर्त राख्नुभएको छ ।

नेकपाको राजनीतिक दस्तावेजअनुरुप अगाडि बढ्नुपर्छ भन्ने वामदेवको प्रस्तावमा माधव, झलनाथदेखि प्रचण्डसम्मको सहमति भइसकेको छ । त्यही विषयलाई लिएर अस्ति दिउँसो ३ बजे माधव र प्रचण्डबीच कुराकानी भएको थियो । नेकपाको सचिवालय ब्युताइँदा बहुमत समाजवादी र माओवादीतिरै हुन्छ ।

चुनावी तालमेल र अन्य विषयमा माधव, झलनाथ, प्रचण्ड, नारायणकाजीसहित वामदेवको बेग्लै बसाइ हुँदैछ । माधव, झलनाथ र प्रचण्डले ओलीलाई विश्वास गर्न नसकिने बताएपछि वामदेवले ‘म ओलीलाई सार्वजनिक रुपमा एकता आह्वान गर्ने बनाउँछु’ भन्नुभयो । ‘केपीलाई कसरी विश्वास गर्ने ?’ वामदेवले त्यति वचन दिइसकेपछि पनि माधवले यसो भन्दै टिप्पणी गर्नुभयो । झलनाथचाहिँ शंकाको सुविधासहित अगाडि बढ्ने कुरा गर्दैै हुनुहुन्थ्यो ।

कांग्रेसले आफ्नो बहुमतसहितको गठबन्धन भन्ने शर्त राख्नु, पाँचै वर्ष आफ्नो प्रधानमन्त्री हुने गरी जाने भन्नुलाई कम्युनिष्ट जनमतको अपमानका रुपमा कतिपय नेताले बुझेका छन् । यदि कांग्रेसले भावी भूमिका सुनिश्चित गर्दै गठबन्धन गर्छ र कम्युनिष्टहरूलाई आफ्नो टाङमुनि छिराउने प्रयत्न गर्छ भने उसलाई काउण्टर जवाफ फर्काउनुपर्ने कारण अहिले वामपन्थीबीच यसरी छलफल चलेको एक नेताले बताए ।

टिप्पणीहरू