महिला लेखकहरुको यौन काण्डबाट बच्न ढकालको नयाँ जुक्ति

महिला लेखकहरुको यौन काण्डबाट बच्न ढकालको नयाँ जुक्ति

लेखक तथा प्रुफ रिडर चिरञ्जिवी ढकालले अब पुस्तकलगायत कथा, कविता लेखिकाहरुसँग नभेट्ने निर्णय गरेका छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर आजदेखि कुनै पनि लेखिकालाई प्रत्यक्ष नभेट्ने बाचा गरेका हुन् ।

उनले पछिल्लो समय सामाजिक सञ्जालमा छरपष्ट भएका यौन दुर्व्यवहारको आरोपमा आफू मुछिन नचाहेको भन्दै सामाजिक सञ्जालमा उक्त व्यङ्ग्य गरेका हुन् ।

असार ९ गते लेखिका सरिता तिवारीले फेसबुक लाइभमार्फत् २०७२ सालमा आफूमाथि एक जना लेखक,सम्पादक सङ्गीत श्रोताले यौन दुव्यर्वहार गरेको आरोप सार्वजनिक गरेकी थिइन् । तर,सङ्गीतले भने आफूमाथि लागेको आरोप झुठो भएको बताउँदै आएका छन् ।

ती घटनाप्रति व्यङ्ग्य गर्दै ढकाल लेख्छन्, ‘अबदेखि महिला लेखिकाहरुका किताबमा शुद्ध–अशुद्ध हेर्ने,विषय लेखन गर्ने काम गर्दा प्रत्यक्ष नभेट्ने निर्णय गरेको छु ।’

उनले आफ्ना कृतिहरु पठाउनुपरेमा इमेल, कुरियर अथवा नेपाल सरकारको हुलाक सेवा प्रयोग गर्न सुझाव दिएका छन् । साथै अहिले पुस्तक प्रकाशनको क्रममा आफूसँग सम्पर्कमा रहेका महिलाहरुलाई पनि पारिश्रमिकको निम्ति नभेट्न आग्रह गरेका छन् ।

भेटेर चिया खानै परे आफ्नो श्रीमान,काका, मामा,फुपाजु,ससुरा, नन्द,आमाजू अथवा एकाध साथीहरू लिएर आउन आग्रह गरेका छन् । उनले महिलालाई भनेका छन्, ‘भेट भइहालेमा तीन मीटरको दूरी कायम गरेर बस्नु । हात नमिलाउनु बरु जापानी शैलीमा झुकेर नमस्कार गर्नुहोला ।’ हात नमिलाएपछि खराब आशयको छुवाइको काण्डबाट बचिने उनको बुझाइ छ ।

पुस्तक सम्पादनको क्रममा फोन गर्दा श्रीमान, छोरा,छोरी,सासू,ससुरा भएको कोठामा सगोलमा या चौबाटोमा बसेर भिडियो कल गर्न, स्कुटरमा लिफ्ट नमाग्न, भेट्नै परेमा अरेबियन महिला झैं बुर्का लगाएर आउन आग्रह गरेका छन् । उनको बुझाई छ, ‘यसो गर्दा गलत हेराइबाट बचिन्छ ।’

टिप्पणीहरू