जबजलाई तीन चिरा पार्ने तीन कमरेड !

जबजलाई तीन चिरा पार्ने तीन कमरेड !

-विराट अनुपम

मंगलबार जननेता मदन भण्डारीको ७१औं जन्मोत्सव मनाइयो । नेपाली वामपन्थी आन्दोलनको लोकतन्त्रीकरण र वामपन्थी पार्टीको एकीकरणका नायक मदन भण्डारीको ७१औं जन्मोत्सवमा एक नयाँ वामपन्थी पार्टी थपियो । योसँगै जबज पक्षधरहरूको तीन दल पुगेको छ । नेकपा (एमाले), नेकपा एकीकृत समाजवादी त छँदै छन् ।

उसो त नेकपा (एमाले) फुटेर बनेको नेकपा (माले) पनि छ । तर, मालेलाई जबज पक्षधर भन्न मिल्दैन । २०४९ माघ १४ देखि २० सम्म काठमाडौँमा सम्पन्न नेकपा (एमाले)को महाधिवेशनमा जबज पास हुँदा हाल मालेका प्रमुख सिपी मैनालीको समर्थन थिएन । उनले आफ्नो बेग्लै विचार राखेका थिए । मदनको जबज अर्थात् जनताको बहुदलीय जनवादको विपक्षमा उनले परिमार्जित नौलो जनवाद प्रस्ताव गरेका थिए ।

कमलादीको बन्दसत्रमा भएको चुनावमा जबजले ५४१ मत ल्याउँदा उनको परिमार्जित नौलो जनवादले १०१ मत पाएको थियो । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि जबज पक्षधर होइनन् । उनले खुलेआम ‘दक्षप्रजापतिको टाउको’ भनेर जबजलाई स्वीकार गरेनन् । खनालले त्यति मात्रै गरेनन् नेकपा (एमाले)को २०४९ माघ १४ को खुलासत्रमा दशरथ रंगशालामा मदन भण्डारीलाई बोल्न दिएनन् ।

उद्घोषक खनालले मदनले बोल्न पाउनुपर्छ भनेर हुटिङ हुँदासमेत बोल्न दिएका थिएनन् । यसर्थ जबजमा झलनाथ खनाल र सिपी मैनाली बाहेक एमाले पृष्ठभूमिका तीन प्रमुख नेताहरू केपी शर्मा ओली, माधवकुमार नेपाल र वामदेव गौतमले जुन कोणबाट जबजको मर्म बोक्नुपर्ने हो बोक्न सकेका छैनन् । जबजलाई अंगीकार गरे पनि त्यसको मर्म अर्थात् संयुक्त मोर्चा र एकबद्ध पार्टीको पक्षमा उनीहरू आउन सकेका छैनन् ।

यी तीन नेताको व्यक्तिगत कारणले भएको अन्तरकलहले जबजको मर्ममा मात्रै प्रहार भएको छैन, जबज पक्षधर एक देख्न चाहने नेपालको विशाल मतदाता पंक्तिलाई समेत निराश बनाएको छ । जसको झल्को पछिल्लो चुनावी गणितले देखाएको छ । तीन दशकदेखि स्थानीय चुनावमा एकछत्र भएको एमाले भारी मतान्तरले दोश्रोमा झरेको छ । संसदको शक्तिशाली चौथो शक्ति एकीकृत समाजवादी पाँचौं स्तरमा अत्यन्तै कमजोर प्रस्तुतिले उभिएको छ । वामदेव पक्षधर त चुनावमै सहभागी थिएनन् ।

मदन भण्डारीको मूल उद्देश्य नै नेपालका कम्युनिष्टलाई एकीकरण गर्ने र शक्तिशाली वामपन्थी पार्टी बनाउने थियो । उनले आफ्नो कार्यकालमा त्यो गरेका पनि थिए । त्यागसहित उनले भिन्नभिन्न पार्टी एकै ठाँउमा ल्याएका थिए । जस्तै ०४७ पुस ११ गते काठमाडौँको पानोरमा होटलमा एक पत्रकार सम्मेलन भयो । सम्मेलनले मदन भण्डारी नेतृत्वको नेकपा (माले) र मनमोहन अधिकारी नेतृत्वको नेकपा (माक्र्सवादी) बीच एकीकरण गर्ने जानकारी दियो ।

माले र माक्र्सवादी मिलेर बन्यो– नेकपा (एमाले) । युवाहरूले हाँकेको नेकपा (माले) र कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ता मनमोहनले हाँकेको नेकपा (माक्सवादी) दुवैको एकीकरण भएपछिको एकीकृत पार्टी नेकपा (एमाले) बनेको थियो । युवाहरूको व्यापक समर्थन र आम जनतामा भिजेको समूहको नेता भएर पनि मदनले अध्यक्ष त्याग गरेका थिए ।

पहिलो पुस्ताको कम्युनिष्ट नेता भनेर उनले धेरैको असन्तुष्टिका बाबजुद मनमोहन अधिकारीलाई अध्यक्ष स्वीकार गरे । त्यो मदनको कम्युनिष्ट पार्टीलाई एक बनाउन पदीय लोभ नगरेको एक विशाल नजिर हो । तर, अहिलेका जबज मान्ने तीन नेताहरूको स्थितिमा मदनको जस्तो त्याग देखिन्छ । बरु देखिन्छ इगो । बरु देखिन्छ कुन्ठा । बरु देखिन्छ अहम् । त्यही इगो, कुन्ठा र अहंकै छायाँ भएका छन् अहिलेका एमाले, एकीकृत समाजवादी र वामदेवको पार्टी ।

०७५ जेठ ३ गते मदन–आश्रित स्मृति दिवशको दिन जसरी एमाले र माओवादी मिलेर विशाल कम्युनिष्ट पार्टी बनेको थियो । त्यसैगरी अरु कम्युनिष्ट पार्टीहरूलाई समेत जोडेर एकै पार्टी बनाउने सम्भावना जीवित थियो । तर, त्यो सम्भावना त परै आओस् अहिले नेकपा एमाले, माओवादी, एकीकृत समाजवादी र वामदेवको पार्टीको रूपमा चार चिरा भएका छन् ।

चार वर्षअगाडि देशका दुई विशाल कम्युनिष्ट पार्टीहरूले मदन–आश्रित स्मृति दिवसमा दिएको एकीकरणको उपहार चार वर्षपछि चार पार्टीमा पुगेर मदनको जन्मजयन्तीको अवसरमा बीभत्स उदाहरण बनाएका छन् । जबजलाई हुबहु अस्वीकार गर्ने माओवादी कित्ताबाहेकका एकीकृत रहँदाको एमालेका नेताहरूसमेत जबज बोकेर पनि फरक–फरक पार्टीमा हुनु जबजकै लागि दुःखद कुरा हो । जबजले संयुक्त मोर्चा, एकीकृत पार्टी र शक्तिशाली कम्युनिष्ट पार्टीको पक्षमा बोल्छ । त्यसो हुन सकेन ।

जबज पक्षधर छिन्नभिन्न हुनु नेपाली मतदाता र करदातालाई पनि दुःखको कुरा हो । एकै पार्टी हुँदा एकै संसदीय दलको नेता हुन्छ, जनताको कर थोरै लाग्छ । छिन्नभिन्न हुँदा त्यसको अतिरिक्त आर्थिक भार करदाताकै काँधमा पर्छ । मतदातालाई पनि एकै पार्टीमा भोट हाल्ने उत्सवजस्तो छिन्नभिन्नमा हुँदैन ।

उनीहरूलाई पनि यो दुःखद हो । शक्तिशाली सत्ताधारी पार्टी र शक्तिशाली प्रमुख प्रतिपक्षी चाहने आमनागरिकलाई पनि पार्टी छिन्नभिन्न हुनुले दुःखी बनाएको छ । यो सबै दृश्यको जिम्मेवारी केपी शर्मा ओली, माधवकुमार नेपाल र वामदेव गौतमले लिनुपर्छ । जबज बोक्ने तर जबजको मर्म नबोक्ने यी तीन नेताको यो लाचारीको निर्मम समीक्षा हुनुपर्छ ।

टिप्पणीहरू