तस्कर र सरकार

तस्कर र सरकार

अहिले देशैभरि मलको हाहाकार छ । यो नेपालको समस्या नै हो । बर्खा मौसम शुरु भयो कि गाउँभरि मलको हाहाकार हुन्छ, शहरभरि ढलको हाहाकार हुन्छ । यो कसैले समाधान गर्न सक्ने समस्या होइन ।

हालै मात्र समाचारमा सुन्न पाइयो कि अहिले मल हाहाकार मच्चिरहेको बेला तस्करहरूले मल ल्याएर बेच्न थालेका छन् रे । तस्करलाई त भगवानै मान्नुपर्छ बा ! यत्रो मल हाहाकार मच्चिरहेको बेला जताबाट भए पनि ल्याएर किसानको उद्धार त गरिदिए नि ! एउटा तस्करले गर्ने जनसेवा योभन्दा बढी अरु के होला र ?

अब यही बेला विपक्षी पार्टीका केही नेताले भन्न थालेका छन्, यो सरकार त लाचारै रहेछ । किनभने यतिबेला तस्करहरू बरु मल ल्याउन सफल भइसके, सरकार अहिलेसम्म सफल हुन सकेको छैन । खत्तम छ यो सरकार ।

सरकार खत्तम होइन । बरु यस्तो आरोप लगाउने नेताहरू खत्तम हुन् । तस्करहरूले मल ल्याए भन्दैमा सरकारले पनि ल्याउनै पर्छ भन्ने के छ ? आखिर सरकार र तस्करको फरक भनेकै यही त हो नि ।

तस्करहरूले मल ल्याएजस्तै सरकारले पनि ल्याउन थाल्यो भने त सरकार र तस्करमा के फरक भयो ? तस्करले जे ल्याउँछ सरकारले पनि त्यही किन ल्याउनु प¥यो ?

तस्करले मल ल्याए अब सरकारले पनि ल्याऊ भन्नुभो भने त अप्रत्यक्ष रूपमा सरकारलाई पनि तस्कर जस्तै भन भनेको भयो नि । होइन र ?

टिप्पणीहरू