खर्च अभावले एमाले अध्यक्षकी छोरी तनावमा

खर्च अभावले एमाले अध्यक्षकी छोरी तनावमा

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिभावकत्व लिनुभएको मुगुको मुगूम कार्मारोङ गाउँपालिका–८, मांग्रीकी ठिल्लेसाङ्मु लामालाई पठनपाठनमा खर्च अभाव भएको छ ।

१ वैशाख २०७५ मा कर्णाली रारा पर्यटन महोत्सव उद्घाटन गर्दै लामाको अभिभावकत्व ग्रहण गर्नुभएका तत्कालीन प्रधानमन्त्री ओलीले भनेबमोजिम अध्ययन, गाँस, बास, कपासमा आर्थिक सहयोग नगर्दा छोरीको पढाइमा समस्या आएको आमा छिचु लामाले जानकारी दिइन् ।

ओलीले अभिभावकत्व ग्रहण गरेपछि लामालाई गाउँमा ‘ओलीको छोरी’ भनेर बोलाउने गरिएको छ । तर, पनि उनको दैनिकीमा कुनै परिवर्तन आएको छैन । अध्यक्ष ओलीले तीन पटक १०÷१० हजार रुपैयाँ नगद र एक पटक केही कपडा सहयोग गरेको छिचुले बताइन् ।

ठिल्लेसाङ्मु अहिले बुद्ध माद्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन् । अध्ययनमा तीक्ष्ण रहे पनि आर्थिक समस्याको कारण कापी, कलम, ड्रेस किन्न नसकेको प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले जानकारी दिए ।

अध्ययनका लागि आवश्यक सामग्री र खर्च जुटाउन सक्ने पारिवारिक व्यक्ति नभएकाले नै त्यतिबेला प्रधानमन्त्री ओलीले उनको अभिभावकत्व ग्रहण गर्नुभएको थियो । ठिल्लेसाङ्मुको बुबाको निधन भइसकेको छ ।

टिप्पणीहरू