सर्वश्रेष्ठ धर्तीपुत्रपुत्रीको निजी संसार

सर्वश्रेष्ठ धर्तीपुत्रपुत्रीको निजी संसार

लोउ एण्ड्रियास–सलोमी रूसी मनोविश्लेषक, कथाकार, नियात्रा लेखक र निबन्धकार । जर्मन दार्शनिक फ्रेडरिक नित्से, अष्ट्रियाली मनोचिकित्सक तथा मनोवैज्ञानिक सिगमण्ड फ्रायड , जर्मन लेखक, दार्शनिक र चिकित्सक पाउल रि र अष्ट्रियाली कवि एवं उपन्यासकार रेनर मारिया रिल्केजस्ता विश्वविख्यात तथा लोकप्रिय व्यक्तित्वहरूका अनन्य मित्र ।

लोउको जन्म रुसको सेन्टपिटसबर्गमा भएको हो । आमाबाबुको एक्ली छोरी । दाजुहरू भने ५ जना । युरोपमा नाजीहरूको उदयपश्चात् उनको परिवारलाई फिनल्याण्डका यहुदी आप्रवासी सम्झेर आक्रमण गरियो, यद्यपि, उनका आमाबुबा फ्रान्सिसी र जर्मनमूलका थिए । लोउ धनी र सुसंस्कृत परिवारकी थिइन् । त्यसैले राम्रो शिक्षालगायत रूसी, फ्रान्सिसी र जर्मन भाषा सिक्ने मौका पाइन् । उनको परिवार कट्टर प्रोटेस्टाइन धर्म मान्थ्यो । तर, लोउको आचरणको कारण सानैमा चर्च र पादरी डाल्टोन उनीदेखि रिसाए । त्यसैले १६ वर्षकै उमेरमा चर्च त्यागिन् र दर्शनशास्त्र र साहित्यको अध्ययनमा लागिन् ।

पादरी गिलोट डाल्टोनका प्रतिद्वन्द्वी थिए । डाल्टोन लोउदेखि रिसाउनुको कारण थियो लोउ गिलोटको उपदेशबाट प्रभावित बन्दै जानु । लोउले गिलोटबाट दर्शनशास्त्र, धर्मशास्त्र र फ्रान्सिसी – जर्मन साहित्य सिके । सधैँ सँगैको बसाइले गर्दा लोउ र गिलोट निकै नजिकिए । गिलोट विवाहित थिए अनि लोउभन्दा २५ वर्षले जेठा । तर, उनले आफ्नी धर्मपत्नीसँग सम्बन्धविच्छेद गरेर भए पनि लोउसंग घरजम गर्ने सोच बनाए र बिहेको प्रस्ताव राखे । तर, लोउले मानिनन् । उनी बिहे र यौन सम्बन्ध रुचाउँदैन थिइन् । तर, लोउले गिलोटको प्रस्तावलाई नमान्दा पनि दुवैको सम्बन्ध भने बिग्रेन । दुवै पछिसम्म असल मित्र बनिरहे ।

बाबुको निधनपश्चात् लोउ ज्युरिच गइन् । त्यहाँको विश्वविद्यालयमा भर्ना भएर दर्शनशास्त्र, तर्कशास्त्र, प्राचीन धर्मशास्त्र, इतिहास र मनोविज्ञान सिक्न थालिन् । तर, यसबीच उनको फोक्सोमा समस्या देखाप¥यो । खोक्दा रगत निस्कन शुरु भयो । चिकित्सकले गर्मीस्थानमा बस्न जान सल्लाह दिएबमोजिम आमासँगै सन् १८७९ मा रोम पुगिन् । २० वर्षकी थिइन् । त्यहाँ उनको भेट जर्मन लेखक, दार्शनिक पाउल रिसँग भयो । पाउलले पनि बिहेको प्रस्ताव राखे तर, उनले सँगै बसेर अध्ययन गर्ने भन्दै दाजु र बहिनीको नातामा बस्न मञ्जुर गरिन् ।

पाउलले ३ जनाको एउटा शैक्षिक कम्युन बनाउने र त्यसमा आफ्ना साथी फ्रेडरिक नित्से एक जनालाई पनि सम्मिलित गराउने प्रस्ताव राखे । यसरी लोउ र नित्सेको पहिलो भेटघाट सन् १८८२ मा भयो । जतिबेला लोउ २१ र नित्से ३८ का थिए ।  नित्से जर्मनीका थिए । ग्रिक साहित्य, धर्मशास्त्र, भाषाविज्ञान, र दर्शनशास्त्रमा दक्षता हासिल गरिसकेका व्यक्ति । २४ वर्षकै उमेरमा बेस्ल विश्वविद्यालयको प्राध्यापक भइसकेका । मनोविश्लेषणवाद, अस्तित्ववाद एवं परिघटनामूलक चिन्तनको विकासमा नित्सेले अतिमहत्वपूर्ण भूमिका निभाइसकेका तथा व्यक्तिवादी तथा राज्यवादी दुवै प्रकारका बिचारकहरूको प्रेरणाको श्रोत बनिसकेका थिए ।

‘ईश्वरको मृत्यु भइसक्यो’– यो उनको प्रसिद्ध भनाइ थियो । उनको कृति ‘जरथुस्त्रका वाणी’ विश्वका श्रेष्ठतम साहित्यिक कृति मानिन्छ । ‘पुण्य र पापको सामु’ र ‘मूल्यको परम्परा’ ले त दर्शनशास्त्रमा नयाँ मोड नै ल्याइदियो । उनको योगदान दर्शनशास्त्र र साहित्यमा मात्र सीमित थिएन, कला, विज्ञान, इतिहास, संगीत, धर्म, संस्कृतिसम्म फैलिसकेको थियो ।

अरूले जस्तै नित्सेले पनि लोउलाई पहिलो भेटमै मनपराए । जीवनसाथी बनाउने सोच बनाएर रिमार्फत लोउसँग बिहेको प्रस्ताव राख्न लगाए । तर, लोउले नित्सेको प्रस्ताव पनि अस्वीकार गरिन् । उनी नित्सेलाई साथी मात्र मान्थिन्, श्रीमान् बनाउन चाहन्नथिन् । नित्सेले मन खिन्न बनाएनन् । रि र लोउसँगै शैक्षिक कम्युन बनाउन लागिपरे । यसक्रममा उनीहरू स्विट्जरल्याण्ड र इटली घुमे । भ्रमणमा लोउकी आमा पनि सँगै हुन्थिन् । इटलीको बसाइकै क्रममा दुई जना मात्र भएको मौका पारेर एक दिन नित्सेले लोउकोसामु पुनः बिहेको प्रस्ताव राखे । तर, यसपटक पनि जवाफ ‘नाइँ’ नै रह्यो ।

उनीहरू तीनै जना पुनः कम्युन बनाउनतिर लागे । यसबीच, बहिनी एलिजाबेथले लोउलाई ‘अनैतिक महिला’ भन्दै दाजुलाई लोउबाट टाढिन जोड लगाइन् । पछि, नित्सेले एलिजाबेथले आफू र लोउलाई एक हुन नदिन भूमिका खेलेको थाहा पाए । उनीहरू जर्मनीको लाइपजिगमा थिए । केही दिनपछि रि र लोउले नित्सेलाई छाडेर जाने निधो गरे । छुटेपछि बल्ल लोउले वास्तवमै नित्सेले आफूलाई मन पराएको महसुस गरिन् । किनभने छुट्टिने बेलामा नित्सेले उदास स्वरमा भनेका थिए, ‘बेलाबेलामा हाम्रो भेट भइरहोस् है !’

एकाएक लोउसितको बिछोडपछि नित्सेको मन खिन्न भयो । उनले दिमागी सन्तुलन नै गुमाए । उनी रिलाई पत्र लेखेर सोध्थे, ‘अब हाम्रो भेट कहिल्यै हुन्न र ?’
लोउसँग टाढिएपछि निदाउन सकेनन् । ठूलो मात्रामा अफिम सेवन गर्न थाले । बिरामीकै क्रममा एकदिन इटलीको पहाडीनगर रेपाल्लोतिर भागे । त्यतैको बसाइका क्रममा विश्व साहित्यमा उत्कृष्ट मानिएको उपन्यास ‘जरथुस्त्रका वाणी’ १० दिनमा सकाए । उता, सन् १८८४ मा लोउको परिचय हेलेन भोन ड्रुस्कोबित्जसँग भयो । उनी दर्शनशास्त्रमा विद्यावारिधि गर्ने दोश्रो महिला हुन् । उनैमार्फत लोउको परिचय मनोविश्लेषक सिगमण्ड फ्रायडसित भयो ।

भनिन्छ केही समय दुवैबीच रोमान्स चल्यो । त्यसपछि लोउ र रि बर्लिन पुगे । सँगसँगै जीवन बिताए । यसैबीच, लोउको जीवनमा भाषाविद् फ्रेडरिख कार्ल एण्ड्र्यासले प्रवेश गरे । लोउले उनीसित पनि घरजम गर्न मानेकी थिइनन् । आफूसँग बिहे नगरे आत्महत्या गर्ने धम्की एण्ड्र्यासले दिएपछि सन् १८८७ मा बिहेका लागि तयार भइन् । एण्ड्रयाससँग बिहे गरेपछि रिले लोउको जीवनबाट टाढा जानु उपयुक्त ठाने । लोउ त्यसबेला जर्मन पत्रकार जार्ज लेडेबोर र अष्ट्रियन कवि तथा उपन्यासकार रैनर मारिया रिल्केसँग पनि खुलेआम सम्बन्ध राख्न थालिसकेकी थिइन् ।

रिल्केसँग भेट सन् १८९७ मा भएको हो । त्यसबेला लोउ ३७ की विवाहिता स्त्री र रिल्के भर्खर २१ वर्षका युवक थिए । लोउको पुस्तक ‘इन काम्फ उन गट’ लगायत पत्रपत्रिकामा धेरै लेख प्रकाशन भइसकेका थिए । रिल्के उनका स्थायी पाठक थिए । एण्ड्र्याससँग बिहे गरेर पनि रमाउन नजानेकी लोउ युवा रिल्केको सामिप्यमा रमाउन थालिन् । रिल्केले उनीसित शारीरिक सम्बन्ध गाँस्न पटकपटक अनुरोध गर्थे तर हरेकपटक अस्वीकार गर्थिन् ।

तर, एक दिन मानिन् । त्यसपछि भने उक्त सम्बन्ध नियमितजस्तो बन्न पुग्यो । एक दिन रिल्केसँगै लोउ दम्पती रुसको भ्रमणमा गए । त्यसक्रममा लोउले रिल्केलाई रुसी भाषा सिकाइन् ताकि लियो तोल्स्टोय र पुस्किनको साहित्य पढ्न सकुन् । पछि उनको तोल्स्टोयसँग भेट पनि भयो । लोउ र रिल्केको रोमान्स करिब ३ वर्षसम्म चल्यो । पछि सम्बन्ध मित्रतामा सीमित रहन पुग्यो । दुबैवीच, पत्राचार रिल्केको निधन हुनुअघिसम्म अर्थात् सन् १९२६ सम्म चल्यो । दुबैले यसबीच करिब २०० पत्र आदानप्रदान गरे । रिल्के र लोउको सम्बन्ध बारे फ्रायडले लेखेका छन्’ उनी महान् कविको संगीत र ध्यान दिने आमा दुवै थिइन् ।’

सन् १९११ को मनोविश्लेषक सम्मेलनमा लोउको फ्रायडसँग पुनः एकपटक भेट भयो । त्यो बेला लोउ ५० की भइसकेकी थिइन् भने फ्रायड ८१ । दुबैले एकार्काले प्रस्तुत गरेका कार्यपत्रमाथि छलफल गरे । त्यसक्रममा लोउ फ्रायडलाई ’ डियर प्रोफेसर’ भनेर संबोधन गर्थिन् भने फ्रायड लोउलाई ‘प्रिय’ ।

७४ वर्षको उमेरमा लोउले मनोविश्लेषकको रूपमा काम गर्न छाडिन् । उनको मुटुमा समस्या देखाप¥यो । मधुमेहले पनि छोयो । दिनहुँ कमजोर हुँदै गइन् । पटकपटक अस्पताल बसिन् । लोग्ने एण्ड्र्यास ८९ वर्षको बूढो भइसकेका थिए । अनि बिरामी पनि । तैपनि, पत्नीलाई हेर्न दिनहुँ अस्पताल पुग्थे । उनको निधन सन् १९३० मा क्यान्सरबाट भयो । पाँच वर्षपछि सन् १९३५ मा लोउको पनि क्यान्सरको शल्यक्रिया गरियो ।

उनको निधन सन् १९३७ मा ८६ वर्षको उमेरमा भयो । उता, लोउसितको बिछोडपछि नित्से त बहुला नै बने । एकदिन इटलीको ट्युरिन शहरको सडकमा सार्वजनिकस्थानमा बसेर पब्लिकलाई डिस्टर्ब गरेको अपराधमा प्रहरीले उनलाई सम्झाइबुझाई घर पु¥याइदिनुप¥यो । अर्को पटक सडकमा हिँडिरहेको घोडाको गर्धन समात्न पुगे र नराम्रोसँग लडे । अन्त्यमा मानसिक सुधारकेन्द्रमै भर्ती हुनुप¥यो ।

जहाँ उनले ‘मेरी बहिनी र म’ पुस्तक तयार पारे । उक्त पुस्तकमा उनले आफूभन्दा २ वर्षले मात्र कान्छी बहिनी एलिजाबेथबीच यौन सम्बन्ध रहेको कबुल गरेका थिए । पछि उनलाई यौनरोग सिफिलिस पनि भयो । उनी वेश्यालय जाने गरेको खुल्यो । सन् १८९८ र ९९ को बीच उनलाई दुई पटक हृदयाघात भयो, जसबाट उनी आंशिक पक्षघातको शिकार बने । हिँडडुल र बोल्न नसक्ने भए । हुँदाहुँदै शरीरको बायाँ अंग चल्नै छाड्यो । फेरि निमोनिया भयो, सन् १९०० को अगस्ट २५ मा हृदयाघात । उनी ५६ वर्षका थिए ।

टिप्पणीहरू