किशाेर हत्या आशंकामा ५ जना पक्राउ

किशाेर हत्या आशंकामा ५ जना पक्राउ

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान कुच्चीका विनोद शाहीको हत्याको आशंकामा पाँच जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को टोलीले शंकास्पद उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार घटनामा संलग्न रहेको आशंकामा सुरत शाही, देविन्द्र शाही, रामबहादुर शाही, मिलन शाही र महेन्द्र शाही पक्राउ परेका हुन् । तर, पीडित पक्षले भने नगरप्रमुख र डिएसपीको समेत घटनामा संलग्नता रहेको भन्दै उनीहरुमाथिसमेत कारवाहीको माग गरेका छन् । जसका कारण शाही मृत फेला परेको पाँच दिनसम्म पनि घटनास्थलबाट शव उठेको छैन ।

घटनाको अनुसन्धानका लागि सीआईबीसहित संघीय प्रहरी इकाइ महेन्द्रनगरबाट एसएसपी जनकराज पाण्डे नेतृत्वको टोली खटिएको छ ।

कालिकास्थानमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच स्थानीय तहको चुनावदेखि नै झडपहरु भइरहेका थिए । निर्वाचनमा काँग्रेसका कार्यकर्ताले अर्कै मतदाताको नाममा मत हाल्न खोजेपछि हेल्थ पोष्टमा रहेको दुई वटा बुथमा दुईपक्षबीच कुटाकुट भएको थियो । उक्त झडपमा एमाले कार्यकर्ताहरु चक्र शाहीलगायत घाइते भएका थिए । त्यही घटनाबाट काँग्रेस र एमालेबीच कालिकास्थानमा द्वन्द्व शुरु भएको थियो ।

चुनावपछि एमाले कार्यकर्ताहरुको कुटाइबाट आफ्ना नेता सुरज शाही घाइते बनाएको भन्दै काँग्रेसले प्रशासनमा दिएको उजुरीका आधारमा प्रहरीले १७ गते राति एमालेनिकटका घरहरुमा हस्तक्षेप गरेको थियो । सोही दिनबाट शाही हराएको स्थानीयहरुले बताएका छन् ।

त्यसकै कारण पीडित पक्षहरुले काँग्रेसका जनप्रतिनिधि र डिएसपीको घटनामा संलग्नता रहेको आरोप लगाउँदै उनीहरुलाई पक्राउ गर्न माग गरेका छन् । उनीहरुविरुद्ध विरोधका कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।

टिप्पणीहरू