जिल्ला हाँक्ने नेता वडामै कसरी रोकिए ?

जिल्ला हाँक्ने नेता वडामै कसरी रोकिए ?

जे हुन्छ एमाले अध्यक्ष केपी ओलीकै निर्वाचन क्षेत्रमा हुन्छ । त्यसमा पनि एमालेभित्रै यस्तो हुन्छ । प्रसंग झापास्थित कमल गाउँपालिकाको हो । अघिल्लो कार्यकालमा गाउँपालिका उपाध्यक्ष रहेका बेनुप्रसाद शिवाकोटी यसपटक वडा सदस्यमै चिप्लिए ।

पार्टीले जिल्ला समन्वय समितिको सभापति बनाउने भनेपछि हौसिँदै वडा सदस्यमा उठेका थिए । तर, कमल गाउँपालिकाको ६ नम्बर वडामा एमालेबाट उठेकामध्ये शिवाकोटीले मात्र हारे । अन्य सबै एमालेकै उम्मेदवार विजयी हुँदा उनीमात्रै कसरी पराजित भए होलान् ? झापा एमाले अहिले यसको कारण खोज्दै छ ।

कमल–६ नम्बरमा वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुईमध्ये एकजना वडा सदस्यमा एमालेकै उम्मेदवार विजयी हुँदा शिवाकोटी मात्र पराजित भएका हुन् । शिवाकोटीलाई उनकै वडाबासीले यसपटक पत्याएनन् । बरु कांग्रेसका ओमप्रसाद पराजुलीलाई वडा सदस्यमा जिताइदिए । एक हजार ५११ मत ल्याएर पराजुली वडा सदस्यमा विजयी हुँदा शिवाकोटीले एक हजार ४८८ मत मात्र प्राप्त गरे ।

०७४ सालको स्थानीय तह निर्वाचनमा भने राम्रै मतान्तरका साथ शिवाकोटी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला उनले ४ हजार ४२६ मतले कांग्रेसकी दिपा भण्डारी गौतमलाई पराजित गरेका हुन् । शिवाकोटीले ९ हजार ४१८ मत ल्याएर विजयी बन्दा दिपाले ४ हजार ९९२ मत पाएकी थिइन् । लोकप्रिय मतसाथ गाउँपालिका उपाध्यक्ष बनिसकेर अहिले वडा सदस्यमा पराजित हुँदा ६२ वर्षीय शिवाकोटीलाई गाउँमा मुख देखाउन अप्ठ्यारो परेको छ ।

हुन त पाँच वर्षअघि पनि मतगणनाको परिणामले कमल गाउँपालिका देशभर चिनिएको थियो । ०७४ को चुनावपछि मतगणना गर्दा गाउँपालिका अध्यक्षमा एमालेकी मेनका काफ्ले र कांग्रेसका हुकुमसिंह राईको मत बराबर भयो । काफ्ले र राईले समान ८ हजार २७५ मत प्राप्त गरे । चुनावबाट पनि परिणाम नआएपछि अन्ततः गोलाप्रथा गरेर एक जनालाई अध्यक्ष चुन्नुपरेको थियो ।

चिट्ठामा हुकुमसिंहले हारे, मेनकाले बाजी मारिन् । त्यसबेला गोला तान्दा हारेका हुकुमसिंह अहिले भने शानदार मतका साथ गाउँपालिकामा अध्यक्ष चुनिएका छन् । भर्खरै उनले एमालेका भीमप्रसाद राईलाई ३ हजार २१५ मतले पराजित गरेका थिए ।

– दीपक धमला

टिप्पणीहरू