स्थापित किन भए विस्थापित ?

स्थापित किन भए विस्थापित ?

२०५४ सालमै काठमाडौं महानगरमा मेयर भइसकेका केशव स्थापित यसपाली पनि मेयरमा निर्वाचन लड्न प्रदेश सांसदबाट राजीनामा दिएर मैदानमा आए । उमेर र राजनीतिक अनुभवको हिसाबले मैदानमा उनका छोराछोरी उमेर सरहका प्रतिस्पर्धीहरु थिए । उनले ती प्रतिस्पर्धीविरुद्ध शुरुका दिनदेखि राम्रो वचन प्रयोग गरेनन् । त्यो यथार्थ हामी सामाजिक सञ्जालमा अहिले पनि देख्न सक्छौं ।

२०६० सालमा पनि काठमाडौं महानगरमा तत्कालीन राजा ज्ञानेन्द्रले टीका लगाएर उनै स्थापितलाई मेयरमा नियुक्त गरिदिए । त्यसबेला मेयरमा नियुक्त हुँदा उनले चाहेका सबै सेवा सुविधाको निर्णय गर्न पाउने अधिकार दिइएको थियो । त्यसपछि उनले गरेका कैयौं काण्डहरु बजारमा छरपस्ट भए ।

यस पटक उनी उम्मेदवार बनेर मात्र आएनन् पराजित भएपछि लगभग उनले आफ्नो राजनीतिक जीवनलाई नै विश्राम दिने अनुमान गरिएको छ ।

शुरुमा उनले देखाएको आवश्यकताभन्दा बढीको आत्मविश्वासले उनले चुनाव जित्छन् भन्नेमा उनका पार्टी नेतृत्व र कार्यकर्ता ढुक्कै थिए । तर, मतगणनाको प्रारम्भिक नतिजादेखि नै देखिएको उनको प्रतिस्पर्धाले ती सबै आत्मविश्वास पानीको फोका साबित भए । सायद मतदाताले मतदानको दिन उनले विगतमा दुई दुई पटक महानगरको नेतृत्व लिँदा गरेका कैयौं कामको लेखाजोखा गरिदिएको हुनसक्छ ।

बालेनको उदयसँगै स्थापित जस्ता नेता उम्मेदवारहरु धेरैजसो पालिकाबाट विस्थापित भएका छन् । पदमा रहँदा जनताको आकांक्षा विपरितका कार्यलाई प्राथमिकता दिएका कारण पार्टी र नेताको इतिहासको फेहरिस्त पल्टाउँदैमा मतदाताले स्वस्तिक चिन्ह लगाउँदा रहेनछन् भन्ने नजिर पनि देखिएको छ ।

काठमाडौं महानगरपालिकाको निर्वाचनलाई विश्लेषण गर्दा किन उदय भयो बालेनहरुको ? किन दलीय राजनीतिभित्रको खराब पक्षलाई मतदाताले घृणा गरे भन्ने विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।

उमेरले पाका भए पनि स्थापितको अभिव्यक्ति सँधै विवादित हुँदै आएको छ । पछिल्लो पटक ‘यु आर नाईस लेडी बट तिम्रो थुतुनो ठीक छैन,’ यो उनको डाइलग निर्वाचनको अवधीभर भाइरल बन्यो । उनका ‘मीटू’ जस्ता पुराना घटना पनि बाहिरिए तर उनमा गल्ति र कमजोरीका सामान्य बाछिटालाई पनि स्वीकार्ने मानवीय पक्ष देखिएन ।

स्थापितको उट्पट्याङ शैलीलाई मतदाताले नरुचाएकै हो । अब पनि उनले राम्रोसँग आत्मसमीक्षा गरेनन् भने बाँकी व्यक्तिगत जीवन झन् पट्यारलाग्दो हुने अवश्यम्भावी छ ।

उनले सभ्य भाषामा हिजो भएका कमीकमजोरीप्रति क्षमा गर्दै आगामी दिनमा त्यस्ता प्रवृत्तिलाई तिलाञ्जली दिने वचन दिएको भए सायद काठमाडौंबासीले स्थापितलाइ जिताउन पनि सक्थे । आफूबाहेक अरु केही र कोही होइनन् भन्ने, अनावश्यक ढंगले होच्याउने उनको गलत शैलीले उनी आफैँलाई राजनीतिक रुपमा थचक्क बसाइदिएको छ ।

आगामी दिनमा फेरि टपरटुइयाँ र आधारहीन गफ गर्ने बानीमा उनले परिवर्तन ल्याउलान् कि नल्याउलान् ? त्यो चाँही रहस्यकै विषय बनेको छ ।

स्थापित मात्रै होइन, उनी जस्ता धेरै पात्रहरु राजनीतिक दलसँग आवद्ध छन् । केहीले अहिले पनि मौकाको फाइदा उठाएर चुनाव जितेका छन् । तर आगामी दिनमा तिनलाई पनि निर्मूल पार्न जरुरी देखिन्छ । जनताले विकास खोजेका छन्, जनतासँग जोडिने नेतृत्व खोजेका छन्, युक्रेनका राष्ट्रपति जेलेन्स्कि वा काठमाडौंका स्थापित जस्ता कमेडियन होइनन् । कमेडियनलाई जिताउँदा मुलुक र जनताको हालत कस्तो हुन्छ भन्ने कुराको गतिलो उदाहरण अहिले विश्वका जनताले टेलिभिजनमा हेरिरहेका छन्

टिप्पणीहरू