डोटीमा काँग्रेसको प्रगति, एमाले एउटा पालिकामा सीमित

डोटीमा काँग्रेसको प्रगति, एमाले एउटा पालिकामा सीमित

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामध्ये डोटीका नौ वटै स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा पर्ने यो जिल्लामा कुनै बेला एमाले बलियो पार्टीका रुपमा उदाएको थियो ।

अघिल्लो स्थानीय तह निर्वाचनमा एक नगरपालिकासहित चार गाउँपालिका जितेको एमाले अहिले एक गाउँपालिकामा सीमित भएको हो । २०७४ को चुनावमा काँग्रेसले जिल्लाका तीन वटा पालिकामा मात्र जितेको थियो । तर, यो निर्वाचनमा काँग्रेसले थप सफलता पाएको छ । अहिले काँग्रेस एक्लैले दुई नगरपालिकासहित सात वटा पालिका जितेको छ । यसैगरी माओवादी केन्द्रले एक गाउँपालिकाको अध्यक्ष मात्रै जितेको छ ।

अघिल्लो निर्वाचनमा एमालेले जितेका पालिकामध्ये दिपायल सिलगढी नगरपालिका पनि एक हो । उक्त नगरमा विगतमा एमालेले मेयर र उपमेयर दुवै पदमा जितेको थियो । एमालेकी मञ्जु मलासीले ४४२८ मत ल्याएर काँग्रेसबाट मेयरमा नवनिर्वाचित बाजी सिं खड्कालाई पराजित गरेकी थिइन् । तर, यो पटकको चुनावमा खड्काले ५१३८ भोट पाएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मण मलासी ३५१५ मतमा सीमित भए ।

यता, एमालेका निवर्तमान उपमेयर शिवराज खड्काले ४५३६ भोट प्रप्त गरेर प्रतिस्पर्धी प्रसीस महरालाई हराएका थिए । त्यसको बदला काँग्रेसले यो चोटीको चुनावमा कलावती महरा साउदलाई उपमेयरमा जिताएर लिएको छ । उनले ४७६८ मत ल्याएर रुपा कठायतलाई हराएकी हुन् । उपमेयरमा पराजित रुपाले ४१२९ मत ल्याएकी थिइन् ।

त्यसैगरी अहिले पूर्वीचौकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा रामप्रसाद उपाध्याय र उपाध्यक्षमा पशुपति खड्का निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष उपाध्यायले अघिल्लो चुनावमा एमालेका दीर्घराज बोगटीसँग हारेका थिए । निवर्तमान एमालेका बोगटीले ३६१५ मत ल्याउँदा काँग्रेसका उपाध्यायले ३५६८ मत ल्याएका थिए । तर, यस पटकको निर्वाचनमा उपाध्याय प्रतिस्पर्धी एमालेका कृष्णकुमार खड्काभन्दा २९२८ मतान्तरले निर्वाचित भएका हुन् ।

यता, उपाध्यक्षमा काँग्रेसकी पशुपति खड्का ४७२४ मतले विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी एमालेकी शारदा कुमारी साउदले २४४४ मत प्रप्त गरेकी छन् । विगतको निर्वाचनमा एमालेकी निर्मलादेवी साउद ३५८७ मत ल्याएर उपाध्यक्षमा विजयी भएकी थिइन् ।

नेकपा एमाले जोरायल गाउँपालिकामा मात्र दोहोरिएको छ । गाउँपालिका अध्यक्षमा एमालेका दुर्गादत्त ओझा निर्वाचित भएका छन् । निर्वतमान अध्यक्षसमेत रहेका ओझाले यस पटकको चुनावमा ३४४९ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका दिपक कुमार विष्टले ३४१२ मत प्रप्त गरेका छन् । विष्ट अघिल्लो निर्वाचनमा पनि ओझासँगै पराजित भएका थिए । उपाध्यक्षमा एमालेकी जमुनाकुमारी बोहोरा रोकाया दोस्रो पटक पनि निर्वाचित भएकी छन् । उनले ३५९९ मत ल्याउँदा प्रतिद्वन्दी काँग्रेसकी चन्द्राकुमारी साउदले ३५१७ मत पाएकी छन् ।

अघिल्लो निर्वाचनमा हारेका काँग्रेसका धर्मराज जोशी यस पटक सायल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । उनी ३२४३ मत ल्याएर निर्वाचित भएका हुन् । विगतको चुनावमा पनि काँग्रेसका जोशी र प्रतिस्पर्धी तेजबहादुर डुम्रेलबीच कडा टक्कर भएको थियो । तर, एमालेका डुम्रेल अध्यक्ष पदमा विजयी हुन सफल भएका थिए । यसपटक उनले २२४० मत ल्याएर अध्यक्ष पद गुमाएका छन् ।

उपाध्यक्षमा पनि काँग्रेस नै विजयी भएको छ । उपाध्यक्षमा काँग्रेसकी निर्मला बोहोरा ओली विजयी भएकी हुन् । उनले २९३७ मत प्राप्त गर्दा प्रतिद्वन्दी एमालेकी बिस्नादेवी सिंहले २१५४ मत ल्याएकी छन् । पहिले जितेको आदर्श गाउँपालिका पनि एमालेले गुमाएको छ । अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्षमा एमालेका टेकबहादुर रोकाया र उपाध्यक्षमा कमलादेवी ओझा निर्वाचित भएका थिए ।

तर, अहिले ती दुवै पदमा काँग्रेसले कब्जा गरेको छ । गाउँपालिका अध्यक्षमा काँग्रेसका गणेशबहादुर खड्का विजयी भएका छन् । उनले ३७७३ मत पाएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी डम्बरबहादुर ओलीले ३३७७ मत पाएका छन् । गाउँपालिका उपाध्यक्षमा काँग्रेसकै लक्ष्मी धामी विजयी भएकी छन् । उनले ३६७४ भोट प्राप्त गर्दा प्रतिस्पर्धी एमालेकी जानकी शाही खड्काले ३३८९ मत ल्याएकी हुन् ।

काँग्रेस दोहोरिएका पालिकाहरुमा शिखर नगरपालिका एउटा हो । काँग्रेस विगतदेखि नै यो नगरमा बलियो पार्टी मानिएको छ । काँग्रेसले अघिल्लो निर्वाचनमा पनि मेयर र उपमेयर दुवै जितेको थियो । यसपटकको चुनावमा अझै भारी मत थपेर दुवै पद जित्न सफल भएको हो ।

मेयरमा दीर्घबहादुर बलायरले ६५६२ भोट पाएर जितेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भीमबहादुर बलायरले ४१९१ मत ल्याएर हारेका हुन् ।उपमेयरमा काँग्रेसकी सुनिता रावल ६३२६ मतसँगै निर्वाचित भइन् । यस्तै, प्रतिद्वन्द्वी एमालेकी लक्ष्मीदेवी मल्ल ४६४५ मतले हारेकी छन् ।

बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष काँग्रेसले जितेको छ । अध्यक्षमा भैरव बहादुर साउद र उपाध्यक्षमा डम्मरी कुमारी बिष्ट विजयी भएका हुन् । साउदले २३४३ मत पाए भने प्रतिस्पर्धी एमालेका चक्रबहादुर घर्तीमगरले १६८४ मत पाएका छन् ।

उपाध्यक्षमा बिष्टले २४०७ मत ल्याएकी हुन् । यस्तै, एमालेकी सपना सिराडीले २२७६ मत प्रप्त गरेकी छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उक्त गाउँपालिकामा काँग्रेस नै विजयी भएको थियो । के.आईसिं गाउँपालिका पनि अन्य पालिका जस्तै काँग्रेसको विगतदेखिको विरासत हो । यस पटक पनि काँग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ । वडा तहमा पनि उस्तै देखिन्छ ।

गाउँपालिका अध्यक्षमा काँग्रेसका लोकेन्द्रबहादुर शाही ४२६२ भोटले विजयी भएका छन् । माओवादी केन्द्रका प्रतिस्पर्धी केशवनाथ योगीले २६२१ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा काँग्रेसकी मिनादेवी बिष्ट ४०७२ मतले जितेकी छन् ।

डोटी जिल्लाका अन्य पालिकाहरुमा कमजोर देखिएको माओवादी केन्द्र बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्ष जितेर खाता खोल्न सफल भएको हो । अघिल्लो निर्वाचनमा उक्त गाउँपालिकामा बलियो देखिएको माओवादीले यो पटक उपाध्यक्ष गुमाएको छ । वडाहरुमा पनि उपस्थिति त्यति राम्रो देखिएको छैन ।

अध्यक्षमा माओवादीका कमलबहादुर गडसील निर्वाचित भएका छन् । त्यसमा पनि उनी झिनो मतान्तरले निर्वाचित भएका छन् । उनले २०५८ मत पाउँदा प्रतिस्पर्धी एमालेका हस्तबहादुर बुढाले २०२४ र काँग्रेसका दिलबहादुर बमले १९३४ मत पाए । यस्तै उपाध्यक्षमा काँग्रेसकी विष्नादेवी बमले २०६३ मतले जितेकी छन् । प्रतिस्पर्धी एमालेकी ज्ञानुकुमारी मल्ल बमले १९९१ र माओवादीकी कलावती कुमारी चिमालाले १८७१ मत प्रप्त गरेका हुन् ।

टिप्पणीहरू