रातारात मतपत्र छाप्न सक्नेले विद्यार्थीका किताबलाई हेप्ने ?

रातारात मतपत्र छाप्न सक्नेले विद्यार्थीका किताबलाई हेप्ने ?

यो वर्ष मुलुकभरका विद्यालयमा जेठको पहिलो सातादेखि नयाँ शैक्षिक सत्र शुरु हुँदै छ । तर, पाठ्यपुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले सामुदायिक विद्यालयका विद्यार्थीलाई यसपटक समयमा पुस्तक उपलब्ध गराउन सक्ने छैन । यसको कारण स्थानीय तह निर्वाचनको मतपत्र छाप्ने जिम्मासमेत उसले नै पाएकाले हो ।

मतपत्र तोकिएकै समयभन्दा एक दिनअगाडि छाप्नसक्ने संस्थाले विद्यार्थीले बर्सेनि पढ्ने पाठ्यपुस्तक समयमा छाप्न नसक्नु दुर्भाग्य नै हो । उसले करिब दुई करोड थान मतपत्र छापेर गत बिहीबार नै निर्वाचन आयोगलाई बुझासकेको छ । त्यतिधेरै मतपत्र जनक शिक्षाले एक महिनाभन्दा कम अवधिमा छापेको हो । आयोगले ७७ वटै जिल्लाका स्थानीय तहमा गत शुक्रबार नै मतपत्र पठाइ पनि सकेको छ । तर, त्यही जनक शिक्षाले विद्यार्थीका पाठ्यपुस्तक एक वर्षको अवधिमा पनि छाप्न सकेन । अहिलेसम्म एक करोड थानभन्दा बढी पुस्तक छापिइसकेको दाबी उसको छ ।

‘अहिलेसम्म जनक शिक्षाले पाठ्यपुस्तक छाप्नेतिर ध्यान दिएको छैन, दिनहुँ विद्यार्थीहरु पुस्तक कहिले आउँछ भन्दै सोध्ने गर्छन् ।’ काठमाडौँका एक पुस्तक पसलेले भने, ‘हाम्रो मुलुकमा शिक्षाभन्दा ठूलो राजनीति भएको छ । राजनीतिक पहुँच र आवश्यकता भए एक वर्ष लाग्ने काम एक महिनामै सकिन्छ ।’

भक्तपुरमा छापिएका पुस्तक ढुवानी गरेर वितरण केन्द्र, विक्रेता, विद्यालय हुँदै विद्यार्थीको हातसम्म पुग्न कम्तीमा थप सातदेखि १० दिन लाग्छ  । त्यसमा पनि विकट क्षेत्रका विद्यार्थीलाई थप कठिनाइ हुने गरेको छ ।
जनक शिक्षाले छापेका पुस्तक भक्तपुरको सानोठिमी, जनकपुर, विराटनगर, भरतपुर, बुटवल, पोखरा, नेपालगञ्ज, धनगढी र सुर्खेत वितरण केन्द्रबाट विक्रेतालाई दिने गरिएको छ । अहिले कर्मचारीहरु स्थानीय तह निर्वाचनमा खटिएकाले ढुवानीमा समस्या भएको जनक शिक्षाले जनाएको छ ।

जनक शिक्षाका प्रवक्ता चित्रकुमार आचार्यले छापिएका पुस्तक देशभरका नौ वटै वितरण केन्द्रमा पठाइसकिएको जानकारी दिए । त्यसमा पनि चार, सात र नौ कक्षाका पूरै थान पुस्तक छाप्न बाँकी रहेको उनले बताए । कम्तीमा २० लाख पुस्तक छाप्न बाँकी छ । हाम्रा कर्मचारीलाई पनि निर्वाचनमा खटाइएकाले जेठ १५ गतेपछि मात्र ढुवानीको काम शुरु हुन्छ होला ।’

उनले मतपत्र छाप्न थोरै समय लाग्ने बताए । ‘हामीलाई सरकारले एक पैसा पनि धेरै दिएको छैन । पुस्तक जति छाप्न सक्यो, त्यति नै आम्दानी हुने हो । सरकारले यति बजेट भनेर पहिले नै दिएको हुँदैन,’ उनले अगाडि थपे, ‘त्यस्तो हो भने, मतपत्रभन्दा हामीलाई पुस्तक छाप्दा धेरै फाइदा हुन्छ । कागजको मूल्य हेरेर पैसा लिने गरेका छौँ । निर्वाचनको मतपत्र छाप्न छुट्टै समय लिएर सबै कर्मचारी त्यसमा केन्द्रित भएका होइनन् । पुस्तक र मतपत्र फरक प्रेसबाट छापिएको हो । समय पनि उही हो । त्यति हो, पुस्तक छाप्दा केही समय बढी खर्च हुन्छ ।’

जेठको आधाआधीपछि पाठ्यपुस्तक बिक्री वितरणको कार्य शुरु भएमा विद्यालयले नयाँ शैक्षिक सत्र शुरु गरेको करिब दुई साता व्यतित हुनेछ । त्यतिञ्जेल विद्यार्थीले पुरानै पुस्तकको भर गर्नुपर्ने हुन्छ । यसअघि कोरोना महामारीमा कक्षाहरू ढिलो सञ्चालनमा आए पनि विद्यार्थीले पुस्तक भने समयमै पाएका थिए । तर, अहिले चुनावको बहानामा जनक शिक्षाले पुस्तक छपाइमा चलखेल गरेको शिक्षकहरुको आरोप छ । जनक शिक्षालाई कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा दिइएको छ । कक्षा १ देखि ३ का पुस्तक निजी पब्लिकेसनले छापेर बेच्दै आएका छन् ।

त्यसबारे शिक्षाविद् विद्यानाथ कोइराला फरक विचार राख्छन् । उनले विद्यार्थीलाई पढ्नकै लागि नयाँ पाठ्यपुस्तक आवश्यक नहुने बताए । वर्षैपिच्छे नयाँ पुस्तक छपाइमा लगानी गर्नु उचित नहुने उनको ठहर छ । भने, ‘हामीले एउटा पब्लिकेसनलाई आरोप लगाएर केही हुँदैन । उनीहरूले जतिसक्दो पैसा कमाउने हो । जुनबाट धेरै आम्दानी हुन्छ त्यही काम गर्नु स्वाभाविक पनि हो ।’

कोइरालाले थपे, ‘अरूभन्दा खास गरेर यसमा सरकार गम्भीर हुनुपर्ने हो । तर, अहिले त्यो अवस्था छैन । नयाँ पुस्तकको छपाइमा खर्च गर्नुभन्दा एउटा विद्यालयमा त्यही लगानीमा पुस्तकालय खोलेको भए अहिले विद्यार्थीहरूले पढ्ने पुस्तकको अभाव महसुस गर्ने थिएनन् । त्यसैले म भन्छु, यो कुरामा सरकारले माफी माग्नुपर्छ ।’

पुराना पुस्तकलाई उचित रुपमा व्यवस्थापन गरेर शिक्षकले पढाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘चुनावमा प्रयोग हुने मतपत्रजस्तै बलियो कागजमा पुस्तक छापेर वर्षौंसम्म राख्दा के हुन्छ ? मैले सुनेको छु मतपत्र पानीमा भिज्दा पनि केही हुँदैन रे! हो त्यस्तै गरेर पुस्तक छापौँ त ! यो अवस्था आउँदैन ।’

टिप्पणीहरू