क्राइम बिटका पत्रकार आफै राती क्राइम गर्न तम्सिएपछि कुटिए

क्राइम बिटका पत्रकार आफै राती क्राइम गर्न तम्सिएपछि कुटिए

मुलुककै चर्चित अनलाइन मिडियामा कार्यरत एकजना पत्रकार नराम्रोसंग कुटिएका छन् । क्राइम बिटमा कलम चलाउने पत्रकार आफैले क्राइम गर्न खोजेपछि नराम्रोसंग धुलाई खाएका हुन् । गत हप्ता बानेश्वरको एक डान्सबारमा मापसे सेवन गरेपछि उनले अपशब्द बोल्न थालेको र बारमा नाच्ने युवतीहरुमाथि अभद्र व्यवहारसमेत गरेको बताइन्छ । युवतीलाई नराम्रो व्यवहार गरेपछि उनी आँखामा चोट लाग्नेगरी नराम्रोसंग चुटिएका हुन् ।

कुट्ने क्रम नरोकिएपछि महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोलीले पत्रकारको संरक्षणका लागि पक्राउ गरेको थियो । तर,ठुल्ठूला पहुँचका कारण हाल उनी छुटिसकेका छन् । पत्रकारले नै युवतीमाथि अभद्र गर्नु अकल्पनीय विषय हो । पत्रकारको गएगुज्रेको चर्तिकलाका कारण पेशामाथि नै प्रश्न उठ्न थालेको छ । अरुका निम्ति रोलमोडल साबित हुनुपर्ने पत्रकारहरुमाथि आचारसंहिता प्रतिकूल तुच्छ व्यवहार गर्दै हिंडेको आरोप छ ।

बारमा काम गर्ने युवतीमाथि अवाञ्छनीय गतिविधि गर्ने पत्रकारलाई कारबाही गरिएन बरु पहुँचको आडमा सो गतिविधि भित्रभित्रै लुकाउने काम भयो । यता,महानगरीय प्रहरी वृत्त, बानेश्वरका इन्चार्ज मिमबहादुर लामाले पत्रकार समातिएकोबारे आफूलाई केही थाहा नभएको बताए । उनले भने,हामीले कुनै पत्रकार समातेका छैनौँ ।त्यसैगरी,महानगरीय प्रहरी परिसर,काठमाण्डौका प्रवक्ता दिनेशराज मैनाली पनि पत्रकार समातिएको विषयमा केही थाहा नभएको भन्दै पन्छिएका छन् । सानालाई ऐन,ठूलालाई चैन भनेको यही हो भनेर माथिको घटनाले पुष्टि गरेको छ । डान्स बारमा नाचेर पेट पाल्ने महिलाको चाहिँ इज्जत हुन्न ? प्रेस काउन्सिल र पत्रकार महासंघले यो घटनाको छानवीन गर्नु पर्दैन ? भन्ने प्रश्न यतिखेर उठेको छ ।सबैका निम्ति कानुन सराबरी भनिएपनि यो व्यवहारमा लागू भएको छैन् । स्थानीय निर्वाचनको आचारसंहिता लागेको बेला पत्रकारले नै यस्तो क्रियाकलाप गर्दा अरुका वारे कसले समाचार लेख्ने ? निर्वाचनका लागि प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघले आचारसंहितासमेत लागू गरिसकेका छन् । तर,मुलुक र समाजका लागि आइडल पर्सन बन्नुपर्ने पत्रकारले नै बाटो बिराउँछन् भने अरुबाट के अपेक्षा राख्न सकिएला ?

टिप्पणीहरू