आखेटोपहारको अवैध ओसारपसार र बरामदपछि यसको व्यवस्थान

आखेटोपहारको अवैध ओसारपसार र बरामदपछि यसको व्यवस्थान

पछिल्लो समय मुलुकभर दुर्लभ वन्यजन्तुहरुको चोरी शिकारी बढ्दो छ । प्राकृतिक विविधताले भरिपूर्ण भनेर चिनिएको मुलुकमा जीवजन्तुको अवैध शिकार रोकिएको छैन । दुर्लभ जीवजन्तुको अवैध शिकारमा झन् बढोत्तरी हुनु चिन्ताको विषय बनेको हो ।

बाघ, भालु, हात्ति, गैंडा, गोही, चितुवालगायतका संरक्षित वन्यजन्तुहरुको चोरी शिकारी र बढ्दो अवैध व्यापारले यिनीहरुको अस्तित्व नै लोप हुने अवस्थामा पुग्ने बताइन्छ । विश्वमा वन्यजन्तु संरक्षण हरेक राष्ट्रका निम्ति चासोको विषय बनेको छ ।

दुर्लभ वन्यजन्तुको अस्तित्व जोगाउन सरकारले विभिन्न नीतिको तर्जुमा गरे पनि खासै प्रभावकारी बन्न सकेको देखिँदैन । फितलो नियमका कारण दुर्लभ वन्यजन्तु संकटमा पर्दै आएको छ । वन्यजन्तुको छाला प्रयोगमा आउने र चर्को शुल्कमा बिक्रीवितरण हुने भएकाले तस्करले यसको चोरी शिकारी धेरै गर्ने गरेको पाइन्छ । दुर्लभ वन्यजन्तुको चोरी शिकारीमा प्रतिबन्ध लगाए पनि यसलाई रोक्न सकिएको छैन ।

गत शुक्रबार काठमाडौं महानगरपालिका–३ र बूढानीलकण्ठ नगरपालिका–८ गल्फुटारबाट प्रहरीले दुई थान चितुवाको छाला र एक थान खप्पर बरामद गर्यो । दुर्लभ वन्यजन्तुको आखेटोपहारसहित चार जना पक्राउ परे । पक्राउ पर्नेमा २९ वर्षीय फुरी शर्मा, ३५ वर्षीय विष्णु सुनार, २४ वर्षीय विनोद श्रेष्ठ र ३० वर्षीय विकास पुर्कुटी हुन् । आखेटोपहार ओसारपसार गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आखेटोपहारसहित डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको छ ।

त्यसैगरी, गत चैत २२ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१, मनोहराको नयाँ बस्तीबाट पाँच थान कस्तुरीको विना र पाँच थान भालुको पित्तसहित तीन जना समातिए । पक्राउ पर्नेमा ४७ वर्षीय क्षत्रबहादुर बेगा, १८ वर्षीय किशोर र ४६ वर्षीय लोकेन्द्र बेगा छन् । बरामद भएको आखेटोपहारसहित प्रहरीले उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला डिभिजन वन कार्यालय, भक्तपुर पठाएको थियो ।

नेपाल प्रहरीको तथ्याङ्कलाई आधार मान्ने हो भने आर्थिक वर्ष २०७७÷७८ मा लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै आखेटोपहार बरामद भएका छ । लुम्बिनीबाट उक्त अवधिमा ७१ जना स्वदेशी र १३ जना विदेशी आखेटोपहारसहित पक्राउ परेका हुन् । त्यसैगरी, सुदूरपश्चिम प्रदेशका १८ र कर्णाली प्रदेशका १४ जना वन्यजन्तुको अंगसहित फेला परेका थिए । प्रदेश नम्बर १ मा १० जनाबाट आखेटोपहार बरामद गरिएको प्रहरी तथ्याङ्कले देखाउँछ ।

गण्डकी प्रदेशमा आठ र बागमती प्रदेशमा पाँच जना आखेटोपहारसहित समातिएका थिए । प्रहरीले राजधानी उपत्यकाबाट १० जनालाई आखेटोपहार ओसारपसार गर्ने क्रममा समातेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १९ जनालाई संरक्षित वन्यजन्तुको अंगसहित फेला पारेको थियो । प्रहरीले दिनहँुजसो आखेटोपहार बरामद गर्ने गरेको माथिको तथ्याङ्कले देखउँछ । तर, ती बरामद गरिएका आखेटोपहारलाई के गरिन्छ ? यो सबैको चासोको विषय बनेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार बरामद भएका आखेटोपहार निश्चित समयका लागि सम्बन्धित डिभिजन वन कार्यालयमा नै राख्ने गरिएको छ । जिल्ला अदालतबाट मुद्दा फैसला नभएसम्म उक्त आखेटोपहार डिभिजनले राख्ने गरेको हो । मुद्दा फैसला भएपछि सशस्त्र वन संरक्षक तालिम केन्द्र, टिकौलीमा भएको भण्डारणमा आखेटोपहार सुरक्षित रुपमा राख्ने गरिएको विभागका सूचना अधिकारी दिलबहादुर पुर्जा पुनले बताए ।

त्यसैगरी, चितवन राष्ट्रिय निकुञ्जको कसरामा पनि भण्डारण केन्द्र बनाइएको छ । कतिपय आखेटोपहार भने नष्ट गरिने सूचना अधिकारी पुनले जनाए ।

आखेटोपहार उपयोग गर्न मिल्छ कि मिल्दैन ?

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० मा आखेटोपहार प्रयोग गर्न दिने वा नष्ट गर्नेसम्बन्धी व्याख्या गरिएको छ । बुँदा नम्बर ३३ को ‘क’ मा प्राकृतिक वा अन्य कारणबाट मृत्यु भएका वन्यजन्तुबाट संकलन गरिएको वा प्रचलित कानूनबमोजिम जफत गरिएको आखेटोपहार वन मन्त्रालयले उपयुक्तताको आधारमा शैक्षिक वा अनुसन्धान संस्थालाई प्रयोग गर्न दिने, प्राकृतिक विज्ञान संग्रहालयमा प्रदर्शनीको लागि राख्ने वा नष्ट गर्ने स्वीकृतिका लागि नेपाल सरकारसमक्ष प्रस्ताव पेश गर्छ ।

सरकारले शैक्षिक प्रयोजनका लागि स्वीकृति दिएमा आखेटोपहार शैक्षिक संस्था वा अनुसन्धान केन्द्रलाई दिइन्छ । प्राकृतिक विज्ञान संग्रहालयमा प्रदर्शनीमा राख्न स्वीकृत भएका ओखटोपहार दुरुपयोग नहुने गरी सुरक्षित रुपमा राख्ने जिम्मेवारी सम्बन्धित संग्रहालयको हुनेछ ।

त्यसैगरी, नष्ट गर्न स्वीकृत भएका आखेटोपहारलाई मन्त्रालयले तोकेको स्थानमा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा वन विभागले जलाएर नष्ट गर्छ । आखेटोपहार जलाई सकेपछि बाँकी रहेको खरानीलाई प्रयोग गर्न नसक्ने गरी विभागले नै व्यवस्थापन गर्ने व्यवस्था छ । शैक्षिक वा अनुसन्धान संस्थालाई प्रयोग गर्न दिइएको, प्राकृतिक विज्ञान संग्रहालयमा प्रदर्शनीमा राखिएको र नष्ट गरिएको बाहेक अन्य आखेटोपहार सुरक्षित राख्ने जिम्मेवारी विभागको हुने भनिएको छ ।

किन हुन्छ आखेटोपहारको ओसारपसार ?

डिभिजन वन कार्यालय, भक्तपुरका अनुसार ओखेटापहारको ओसारपसार र बिक्रीवितरण एउटा भ्रम मात्र हो । कार्यालयका वन अधिकृत प्रेमप्रसाद खनालका अनुसार कतिपयले सौन्दर्य र सौखका निम्ति पनि ओखेटोपहारको प्रयोग गर्छन् । सामाजिक प्रतिष्ठा र झारफुकहरुमा विश्वास गर्नेले आखेटोपहार खरिद गर्ने भएकाले त्यसको ओसारपसार हुने गरेको उनको भनाइ छ । बाघको जुँगा, हड्डी, भालुको पित्त, हात्तिको दाह्रा, पुच्छरको रौं अचुक औषधि हुनेजस्तो अन्धविश्वासले दुर्लभ वन्यजन्तुको अस्तित्व खतरामा परेको वन अधिकृत खनाल बताउँछन् ।

टिप्पणीहरू