डोल्पामा बहुपति प्रथा जीवितै

डोल्पामा बहुपति प्रथा जीवितै

परम्पराअनुसार नेपालमा विभिन्न प्रकारका विवाह हुँदै आएका छन् । मागी, भागी,प्रेम,कानुन, बहुपत्नीलगायतका विवाह नेपालमा हुने गरेको पाइन्छ । तर, पुरातन मान्यताअनुसार तिब्बती संस्कार भनिएको बहुपति विवाह परम्परा पनि नेपालमा जीवितै छ । यस प्रकारको विवाह विशेषत:डोल्पाको ग्रामीण भेगमा जीवित रहेको बताइन्छ ।

कानुनले बहुपति तथा बहुपत्नी विवाह गर्न बर्जित गरे पनि यसको अभ्यास नेपालमा भएको हो । बहुपति विवाह परम्परामा घरको जेठो छोराले विवाह गरेपछि अन्य भाइहरुले विवाह गर्नु पर्दैन । यो प्रथामा घरमा एक पत्नी हुँदा पतिको संख्या दुई वा सोभन्दा बढी हुन्छ ।

हाल यो प्रथा हराउँदै गएको भनिए पनि डोल्पाको ग्रामीण र दुर्गम भेगमा अझै कायम छ । चेतनाको स्तर, कमजोर अर्थतन्त्रलगायतका कारण यो प्रथाले समाजमा जरा गाडेको हो । तर, अहिले यस्ता घटना बिरलै पाइने बताइन्छ । पहिले आलोपालो गरेर भाइहरु घरमा बस्ने गदर्थे । सबै भाई एकजुट हुँदा भने मनमुटाव बढ्ने गरेकाले एकल विवाह अपनाउन थालेको डोल्पाबासीहरुको भनाइ छ ।

बहुपति विवाह धेरै घटेको छ : सिडिओ अधिकारी

नेपालको दुर्गम र विकट जिल्ला डोल्पाको उपल्लो भेगमा बहुपति विवाह हुनेगरेको हो । त्यहाँका प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले दिएको जानकारीअनुसार डोल्पाबुद्ध, शे–फोक्सुण्डो तथा छार्काताङसोङ गाउँपालिकाका छिटपुट परिवारमा बहुपति अर्थात पाण्डु प्रथा कायम छ । एकल विवाह गर्दा घरको अशंवण्डा गर्नुपर्ने र गरिब भइने मानसिकताले गर्दा यो प्रथा अझै जीवित रहेको उनीहरुको मान्यता छ ।

प्रजिअ अधिकारीले आफू १२ वर्षदेखि उक्त जिल्लामा घुलमिल भएको बताउँदै पछिल्लो सात महिनामा भने त्यस्ता घटना जानकारीमा नआएको उल्लेख गर्नुभयो । ‘म सहायक सिडिओ भएर पहिले यहाँ आएको हुँ । अहिले सिडिओ छु । आफैंले आमा एउटै बाबु फरक राखेर नागरिकता त कति दिएँ दिएँ, उहाँले जनआस्थासँगको कुराकानीमा भन्नुभयो । यो प्रथामा श्रीमतीले फरक श्रीमानसँग पालैपालो जीवन कटाउनुपर्छ ।

छोराछोरीको विषयमा भने महिलाले भनेको आधारमा बाबु तय हुने प्रचलन छ । श्रीमतीले भनेर बालबालिकाको बाबु पहिचान गरिने मान्यता नै यस प्रथामा छ । अधिकारीका अनुसार यो परम्परा धेरै पूरानो र जोखिमपूर्ण छ । बहुपति विवाह गर्दा महिलाको स्वास्थ्यमा समस्या आउने मात्र नभई ज्यानसमेत जानसक्छ । आज भोलिका नयाँ पुस्ताले एकल विवाह गर्न थालेका छन् । पुराना पुस्ताबाट पनि यो हराउँदै जान थालेको छ ।

टिप्पणीहरू