‘डाक्टरसँगको रिस फेर्न कुकुरको नाम नै डाक्टर राखिदिएँ’

‘डाक्टरसँगको रिस फेर्न कुकुरको नाम नै डाक्टर राखिदिएँ’

आफूलाई जनावरप्रेमी भन्ने धेरै भेटिन्छन् तर जनावरको लागि गरिने माया व्यवहारमा उतार्ने कमै पाइन्छन् । अरुको देखासिकीले घरमा कुकुरलगायतका जनावर पाल्न उत्सुक हुनेहरुले घरमा त्यही जनावरलाई बाँधेर राख्नेदेखि यातना दिनेसम्म गरेको पनि पाइन्छ ।

धेरैले आफ्नो घरमा पालिएका जनावरलाई मात्र माया गर्ने तर सडकका जनावरलाई हिर्काउनेसम्म गर्छन् । यस्तो व्यवहार रोक्न र जनावरहरुको उद्धार गर्न धेरै संघ संस्था जन्मिएका छन् । तर पनि जनावरप्रतिको योगदान र आफ्नो व्यवहारले स्नेहा केयर प्रख्यात बन्दै गएको छ ।

स्नेहा केयर सुन्ने धेरैले कुकुरको हेरचाह गर्ने संस्था भनेर सम्झन्छन् । केयरले आफ्नो कामबाट उक्त छाप छाड्न सफल पनि भएको छ । झण्डै ८ वर्षदेखि सडक कुकुरहरूको कल्याणका लागि केयरले निरन्तर कार्य गर्दै आएको छ । सन् २०१४ मा ललितपुरमा स्थापित यो गैर–लाभकारी संस्थाले जनावरहरूलाई यातना, क्रुरता र कुनै पनि प्रकारको दुरुपयोगबाट जोगाउने लक्ष्य लिएको छ ।

१८ जना कर्मचारीको सहयोगमा कुकुरहरुको उद्धार गर्दै आएको संस्थाको सेल्टरमा हाल एक सय ६७ वटा कुकुर, सात वटा सुँगुर,चार वटा खसी र दुई वटा भैंसी छन् । एउटा कुकुरको मृत्युको बियोगमा जन्मिएको यो संस्थाले हालसम्म १५ हजारभन्दा बढी कुकुरको उद्धार तथा उपचार गरिसकेको छ ।

केयरले अहिले ‘नो रेबिज,नो बेबिज’ अभियान चलाइरहेको छ । जसअन्तर्गत वर्षेनी सयांै सडक कुकुरलाई केयरले रेबिजविरुद्धको खोप तथा बन्ध्याकरण गर्ने गरेको छ । तर आर्थिक परिस्थितिले गर्दा समय समयमा यसमा बाधा उत्पन्न हुने गरेको छ भने कर्मचारीहरुले एकाध महिनासम्म तलब नलिएर समेत काम गर्दै आएको बताइन्छ ।

“पसलमा काट्न ठिक्क पारेको खसीसँग आफ्नो आँखा जुधे तुरुन्तै उक्त खसी किनेर ल्याउने गरेको उदाहरण समेत दिएकी छन् । तर त्यसरी उद्धार गरेर ल्याइएका खसी भने दुई तीन दिनको अन्तरालमा मर्ने गरेको उनको अनुभव छ ।”

यस्तै विद्यालयमा जनावरलाई माया गर्नुपर्ने विषय नसिकाइएकाले उक्त संस्थाका प्रतिनिधिले विद्यालयमा गएर कुकुर छुँदैमा रेबिज नलाग्ने,जनावरलाई माया गर्नु पर्ने भन्दै ४५ मीनेटको कक्षा लिने गरेको समेत केयरले जनाएको छ ।

हाल केयरले कुकुरमा मात्र केन्द्रित नभई समग्रमा सबै जनावरको बाँच्ने अधिकारको निम्ति लड्ने योजना बनाएको छ । जसअन्तर्गत केयरले २०१९ मा एउटा नाच्ने भालुको उद्धार गरेको थियो । दाइजोमा आएको उक्त भालुलाई भात र दूध खुवाएर नचाउने गरिएको थियो । तर अहिले सो भालु जावलाखेलस्थित चिडियाखानामा रहेको र वाइल्ड लाइफ एसओएसद्वारा स्थापित भारतको आगरास्थित भालु उद्धार सुविधामा पठाउन पहल भइरहेको छ ।

संस्थाले चितवनमा हात्तीदेखि अन्य जनावरमाथि हुने गरेको क्रुरता रोक्न सम्बन्धित निकायलाई पत्राचार समेत गरेको छ । तर क्रुरता रोक्न पहल गरिए पनि पर्यटनको कुरा आएपछि सरकार चुक्ने गरेको संस्थाकी अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी गराइन् ।

“एउटा कुकुरको मृत्युको बियोगमा जन्मिएको यो संस्थाले हालसम्म १५ हजारभन्दा बढी कुकुरको उद्धार तथा उपचार गरिसकेको छ । “

यस्तै पशु ढुवानी गर्दा कानुन विपरीत ल्याइएका भैंसी, राँगादेखि खसीको समेत संस्थाले उद्धार गरेको छ । अध्यक्ष श्रेष्ठले बाटोमा देखेका मात्र नभई कतै मासु पसलमा काट्न ठिक्क पारेको खसीसँग आफ्नो आँखा जुधे तुरुन्तै उक्त खसी किनेर ल्याउने गरेको उदाहरण समेत दिएकी छन् । तर त्यसरी उद्धार गरेर ल्याइएका खसी भने दुई तीन दिनको अन्तरालमा मर्ने गरेको उनको अनुभव छ ।

‘गाडीमा हिँडेको बेला मासु पसलमा काट्न राखिएका खसीसँग आँखा जुध्नेबित्तिक्कै किनेर ल्याउने गरेको छु । तर,उनीहरुले तत्काल मार्ने उद्देश्यले रसायनहरु खुवाएको हुनाले होला त्यस्ता खसी दुई तीन दिनमै मर्ने गरेका छन् । पोष्टमार्टम गर्दा त्यस्तो भेटियो,’श्रेष्ठले भनिन् ।

संस्थाले जति उद्धार गरे पनि कानुन विपरीत जनावरहरु ल्याउन छाडिएको छैन । व्यापारी तथा सवारी चालकले पशुहरु ल्याउँदा हरेक नाकामा पाँच सय, एक हजार दिँदै आउने गरेकाले त्यसमा प्रहरीले पनि वास्ता नगरेको संस्थाको आरोप छ ।

उद्धारका क्रममा आफूहरुलाई चालक र व्यापारीबाट विभिन्न धम्की आउने गरेको भए पनि आफू नडराई काममा अघि बढेको अध्यक्ष श्रेष्ठको दाबी छ । ‘उद्धार गर्ने बेलामा धेरै धम्की आउने गरेको छ । तँलाई ठीक पार्छांै, मुद्दा हाल्छौं र ज्यान मार्नेसम्मका धम्की पनि आउँछन् । तर त्यस्ता कुराबाट नडराई अघि बढेका छौं,’ उनको तीतो अनुभव हो यो ।

केयरले काठमाडौं उपत्यकाभित्र मात्र नभई बाहिर पनि आकस्मिक सहयोग गर्ने गरेको छ । कैलालीमा बाढी आएको समयमा केयरका कर्मचारीहरु महिनौं दिनसम्म जनावरको उद्धारमा लागिपरेका थिए । यस्तै कोरोना महामारीमा पनि प्रत्येक दिन कुकुरदेखि बाँदरसम्मका जनावरको पेट भर्न संस्था लागिपरेको थियो ।पशुलाई माया गर्न थालेपछि आफू ‘भीगन’ बनेको श्रेष्ठको अनुभव छ । धेरैजसो होटल तथा रेष्टुराँमा मासु र दुग्धजन्य परिकार मात्र पाइने हुँदा केयरले होटलका सेफलाई बोलाएर भीगन खाना सम्बन्धी तालिम नै दिने गरेको पनि पाइएको छ ।

श्रेष्ठले पढेलेखेकाले नै सडकका कुकुरलाई क्रुरतापूर्ण व्यवहार गरेको देख्दा र सम्झाउन खोज्दा उल्टै आफूमाथि जाइलागेको नरमाइलोे अनुभव पनि सुनाएकी छन् । ‘एकजना डाक्टरले कुकुरलाई आफ्नो गाडीले हानेर कुकुरको खुट्टा भाँचिदिएपछि हामीबीच भनाभन नै भयो । उहाँले कुकुरलाई नगरपालिकामा लगेर फ्याँक्न भन्नुभयो । डाक्टर जस्तो मान्छे त्यती निर्दयी हुँदा रहेछन् पहिलो पटक थाहा पाएँ । त्यसपछि डाक्टरप्रतिको मेरो सोच नै परिवर्तन भयो । त्यसैको रिसमा मैले अहिले त्यो कुकुरको नाम डाक्टर राखेकी छु,’ उनले रहस्य खोलिन् ।

मनमा कुकुरप्रतिको अथाहा माया बोकेकी श्रेष्ठका घरमै १२ वटा कुकुर छन् । उनको हरेक दिन कुकुरबाट सुरु र अन्त्यपनि कुकुरसँगै हुन्छ । धेरैले नेपाली जातको भन्दा पनि विदेशी कुकुर पाल्न अघि सरेकोमा दुःख व्यक्त गर्दै उनले जनावरलाई सके माया गर्नु पर्ने र नसके हानी पनि पुर्याउन नहुने उनको निचोड छ ।

पशुकल्याण संघकी अध्यक्ष समेत रहेकी श्रेष्ठले सेल्टरमा धेरै ठाउँ नभएका कारण उद्धार गरेर ल्याइएका कुकुरलाई उपचारपछि जहाँबाट ल्याइएको हो त्यहिँ लगेर छाड्ने गरेको जानकारी दिइन् । तर कुकुर सेल्टरमा बसेको तीन महिना कटेमा भने त्यसो गरिँदैन ।

फोटो: स्नेहा केयर

टिप्पणीहरू