राजनीति नबुझ्दै गोलीको शिकार

राजनीति नबुझ्दै गोलीको शिकार

कुखुराको चल्ला चोरी, हाडनाता करणीको आरोपमा जेल परेकाहरूले कैदी जीवनलाई चलाखीपूर्वक प्रजातान्त्रिक संघर्षको बलिदानमा अनुवाद गर्दा राजनीति म्यानपावर व्यवसायभन्दा माथि उठ्न सकेन । राजनीति ती प्राणीका कारण बिटुलियो, जसले गाईको सिङले हानेको शरीरको खत निरंकुश शासकले दिएको यातनासंग जोडेर आफूलाई हिरो प्रमाणित गर्न खोजदे । थुनिनु, कुटिनु, पिटिनु आधारभूत योग्यता बन्यो । राजनीतिक परिवर्तनलाई अनादर गरेको नठानियोस् तर राजनीतिक क्रान्तिमा सहादत प्राप्त गर्नेहरूको पृष्ठभूमि हेर्दा थाहा हुन्छ– हाम्रो परिवर्तनको जमिन कति मजबुत छ ? राजनीतिको ‘र’ नबुझेकाहरू गोलीको शिकार बनेका छन् । तिनैको सपना साकार पार्नमा केन्द्रित राजनीतिले त्यो सपनालाई चिनियाँ लिपिजस्तै नबुझिने बनायो । त्यसैले प्रत्येक जनक्रान्ति मानव भीडमा सीमित भयो । शहिदहरू प्रत्येक वर्ष पात्रोमा फेरिने तस्वीरका पाहुनाजस्ता भए ।

राजनीतिमा अनास्था पैदा गर्नमा सञ्चारमाध्यमले केही हदसम्म भूमिका निर्वाह गरेकै हुन् । पहिले नेता पुल्पुल्याउने, पछि डस्ने रोगबाट सञ्चारजगत ग्रसित छ । नेताहरूलाई बस्त्रहीन बनाएर त्यसको मनोरञ्जन लुट्ने काइदामा लागेको नेपाली सञ्चार क्षेत्र एकपछि अर्को कठिन यात्रामा छ । नेताहरू पछ्याउनुलाई समाचारको कारखाना ठान्ने मूलधारको पत्रकारितालाई सामाजिक सञ्जालले पानी पिउन नपाउने गरी पछारेको छ । ब्रेकिङ, स्कूप एकादेशको कथा बनेको छ । युट्युबरहरूले एक महिनाअघि उठाएका समाचार एक महिनापछि दैनिक अखबारको खुराक हुने गरेका छन् । अनलाईन समाचार फेसबुकको पेजमा बिकाउको साइत हेरेर बसेका छन् । समाचारका स्रोतहरू आफ्नै एकाउन्टबाट समाचार सार्वजनिक गर्न हतारिएका छन् । मूलधारमा काम गर्ने पत्रकार समयमै तलब नपाएर रुवाबासी गरेका भेटिन्छन् । युट्युबरहरू लाखौं रूपैयाँको गड्डी बोकेर मानवताको मल्हम लगाउने प्रतिस्पर्धामा छन् । को, कतिबेला कसरी उम्दा प्रतिभा भएर जन्मन्छ, कसैले पूर्वानुमान गर्ने अवस्था छैन । जन्मँदै तीनपाते प्रतिभा भएर उम्रिने गरेका छन् । खरायो र सिंहको कथा कण्ठ गरेर सधैं एउटै लिकमा समय चल्छ भन्ने स्थायी अन्तरामा बाँचेको मिडियाका उद्योगीले आत्मनिरीक्षण गर्ने दिन आएको छ । आकाशको मौसमी बद्ली र नेपाली राजनीतिको समीकरण, ध्रुवीकरणलाई एउटै चश्माबाट हेर्ने संस्कृतिमा बद्लाव आउन जरुरी छ । थुप्रै अंग नभएका उद्योग चलाएर एउटा चौथो अंगको चिर्कटो सम्हालेको अहंमा यहाँ फेरि अर्को सीकाउन्ट बिटी जन्मिएला र त्यसको सल्लाहकार हुने सपना कुनै उद्योगीले नदेखे हुन्छ ।

बजारको आवश्यकताभन्दा लाज बचाउने धोतीमा उपयोग भएका मिडियाले ‘ओंठमा लाली, पेट खाली’का जनशक्ति उत्पादन गरे । पिप्ली लाईभको व्यंग्यले भारतीय सञ्चारक्षेत्रलाई झक्झकायो तर नेपालमा फोटोकपी संस्कृति हावी भयो । ६ महिनाको ज्याला साहुकोमा धरौटी राखेर ज्ञान, बुद्धि र विवेकको सिंगो महामानवमा आपूmलाई प्रस्तुत गर्दा तिनीहरूको हैसियत टकिङ टमभन्दा माथि उठेन । बरु टीभीमा नदेखिँदा, पत्रिकामा बाइलाईन नलेख्दा र एफएममा नचिच्याउँदा सृष्टि टक्क रोकिन्छ भन्ने भ्रमले बास ग¥यो । सरकारी हण्डी खाएर सरकारलाई दिनरात गाली गर्नुमा बहादुरी ठान्नेहरूको योग्यता अब विस्तारै पत्रुकारितामा अनुवाद हुँदैछ ।

जसरी अन्य पेशामा लागेर कुस्त कमाएपछि केही व्यक्ति मान, प्रतिष्ठाका लागि सञ्चारमा लगानी गर्न ओइरिए, त्यसैगरी सञ्चारक्षेत्रमा अल्मलिएको नयाँपुस्ताले सोच्नुपर्ने बेला आएको छ ।

प्रवेशमा सजिलो र इज्जत आर्जनको लोभमा यता लहसिएको त्यो पुस्ता सीपमूलक काम सिकेर त्यो सीप नेपालमै बेच्न सक्ने स्थितिमा रहन सक्छ । यदि कामलाई ठूलो–सानोमा वर्गीकरण नगर्ने हो भने कपाल काट्ने नाइहरू चाडपर्वमा घर फर्कंदा काठमाडौंबासी जोगी हुनुपरेको छ । खेप गए पनि जिन्दगी जाँदैन । त्यसैले सम्भावना बोकेका सञ्चारकर्मीहरू आफूले आपैंmलाई पुनरावलोकन गरी पेशागत पुनर्निर्माणको कसीमा जोखिन जरुरी छ । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाका भाइ चीनमा मजदुरी गर्छन् । खोइ, ओबामाको इज्जतमा धब्बा लागेको छैन त । दलको साइनोसँग जोडेको कलमले एकदिन धोका दिन्छ । चोरेर जीविका चलाउनेले पनि चोरीलाई घृणा गर्छ । प्रकृतिको एउटा नियम के छ भने सम्भावनाको बाटो कहिल्यै समाप्त हुँदैन ।

एउटा काल थियो– काँच या सिनेमाका पर्दामा देखिने जति सबै हिरोमा दरिन्थे । अब पर्दामा देखिनेले न्याय गर्नुपर्छ भन्ने संसारको सर्वमान्य सत्यले जितेपछि मानिसहरू सचेत भए । कुनै दिन यही भूगोल हो– धर्मराज थापाले चौतारीमा गीत उराल्दा भात छड्काउँदै गरेका भान्से, गाई चराउँदै गरेका गोठाला र घाँस काट्दै गरेका खेताला दौडन्थे । मुक्तिको आवाज घन्काउने राल्फा नाममा दुई चार ठिटा गिटार बोकेर गामघर डुल्दा उनीहरूले प्रशस्तै श्रोता पाएकै हुन् । मनोरञ्जनका साधनको सीमितताका कारण त्यो अवसर जुरेको हो । अब सूचना कोच्याउने जमाना गए । मानिसको हातमा लाखौं रोजाइ छन्, जो संसारको जुनसुकै कुनाबाट छिनका छिन रोजी रोजी हेर्ने, सुन्ने क्षमता प्राप्त छ । सुनेको, जानेको, देखेको राम्रो लाग्ने जमानालाई नयाँ आएको आविष्कारले बिरानो बनाउँदै लगेको छ ।

गल्ती भन्ने जान्दाजान्दै नेपाली मिडिया भारतीय सञ्चारको बाटोमा लाग्यो । विहान उठेदेखि बेलुका सुतेसम्म आँशुको विकल्पमा आँशु प्रस्तुत गरेर अझै थाकेको छैन । नेपालको भूकम्पपछि अमेरिका र जापानमा गएको भूकम्प अनि आँधीले त्यहाँ पनि धनजनको क्षति ग¥यो । तर त्यहाँका मिडियाले अहँ आँशुमा खेलेनन् । यसको मतलव यो हैन कि त्यहाँका मान्छेभित्र आँशु हुँदैन । बाँच्नेहरू मरेर बाँच्नु हुँदैन भन्ने सत्यबाट उनीहरू निर्देशित छन् । प्रकृतिले प्रत्येक मान्छेका लागि आफ्नै खालको प्रारब्ध तोकेको छ । यदि सतिलाई धार्मिक मान्यतासंग नजोडेर नघचेटिएको भए पतिसंगै आगोमा जल्नेहरू नगन्य हुने थिए । आवेग अन्तिम सत्य भइदिएको भए एउटाको अन्त्यसंगै जोडिएर आत्मदाह गर्नेहरूको भीडले मानव सभ्यता उहिल्यै नामेट हुने थियो । अहिले भोगेको विपत्तिप्रति घोत्लिेने हैन कि भावी पुस्तालाई यस्तो दुर्दिन देख्न नपर्ने अवस्थाको संकल्प अहिलेको आवश्यकता हो ।

२०१५ सालमा आपूm प्रधानमन्त्री भएपछि बीपी कोइरालाले कम्युनिष्ट पृष्ठभूमिका पत्रकार मदनमणि दीक्षितलाई सरकारको आलोचना गर्ने शर्तमा महिनाको ६ सय दिएर ‘समीक्षा’ को प्रकाशन आरम्भ गराएका थिए । त्यतिमात्र होइन, सहज ढंगले दर्ता नगरिने त्यस परिस्थितिमा पत्रिका दर्ताको सम्पूर्ण प्रक्रिया पनि आपैंmले मिलाइदिएका थिए । पाका पत्रकार दीक्षितले आप्mनो आत्मवृत्तान्तमा पत्रिका प्रकाशनको औचित्य पुष्टि गर्दै भनेका छन्– ‘मुलुकको प्रधानमन्त्री, संसदीय प्रजातन्त्रको स्तम्भ र जहाँनिया शासनको अवशिष्ट रुढिवादी शक्तिका विरुद्ध कोइरालाका विचार अनि व्यवहारलाई समर्थन गरिनेछ ।’ अंकगणितमा १, १ जोड्दा २ हुन्छ । तर राजनीतिमा १, १ को योगफल प्रायः ११ हुन्छ । अघिल्लो पुस्ताका राजनीतिज्ञहरू यो सत्यसंग भलिभाँती जानकार थिए ।

शासन सत्ता हातमा लिएका महेन्द्रले पनि उत्तर–दक्षिणका दुई छिमेकीसंग हेपिनु नपर्ने अवस्था ल्याउन केही रणनीतिक चालबाजी रचेकै हुन् । त्यसको शुरुवात उनले पहाडेलाई तराईमा बसाइँ झारेर गरे । पहाडेलाई तराई झर्नमा बन्देज लगाउनु पर्छ सम्मका आवाज उठिरहेको वर्तमान पृष्ठभूमिमा राजा महेन्द्रले त्यो सन्तुलित बसोबास प्रारम्भ नगरेको भए अहिले मुलुकले कस्तो अवस्था झेल्नु पथ्र्यो होला । यतिमात्र हैन, दरबारकै संरक्षण र लगानीमा केही रेडिकल कम्युनिष्टहरूलाई अप्रत्यक्ष उचालेर उनले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूलाई ठीक लगाउने सूत्रको प्रतिपादन गरे । तर आफ्नै ढोके, हुक्के, चम्चे, बैठके र छातेहरूको असहयोगको शिकार बनेका तिनै राजाको अवसान रहस्यमय ढंगले भयो । पञ्चेका नाममा हुनु नहुनु, गर्नु नगर्नुका काम तमाम भए । बद्नामी राजाले खेप्नु प¥यो । राजा वीरेन्द्रले बाबुले कोरेकै बाटो त पछ्याए । अवधारणालाई नविकरण गर्न सकेनन् । अचाडूहरूले मधेश र पहाडको त्यो घाउ बल्झाइरहेका छन् ।

सुडानका जनता आफ्नै देशमा भारीका भारी सुन त बोक्छन् तर त्यो सुन कसको हो र, कहाँ जान्छ थाहा पत्तो हुँदैन । कामना गरौं, यो घडीमा धमिलो पानीमा माछा मार्नेहरूले कतै त्यही गर्तमा नधकेलुन् ।

टिप्पणीहरू