जनआस्थासँग म जसरी जोडिएँ

जनआस्थासँग म जसरी जोडिएँ

जनआस्थाले प्रकाशनको २५ औं वर्ष पार गरेको छ । यसको पहिलो अंकदेखि नै मैले एघार अंकसम्म नोट अफ डिसेन्ट लेखेको हुँ ।

जनआस्था छापिन थाल्दा ठूला पानाका दैनिकहरु भयंकर लगानी र व्यावसायिकतासाथ प्रारम्भ भइसकेका थिए । साप्ताहिकहरुमाझ पनि चर्को प्रतिस्पर्धा र कतिमा त अस्तित्व रक्षाको संकट देखा पर्न थालिसकेको थियो । तर जनआस्थाले अन्य साप्ताहिकलाई उछिन्दै गयो । वितरण बढाउँदै लग्यो ।

देशका पुराना र स्थापित साप्ताहिकहरु समीक्षा, मातृभूमि, समाज, नयाँ सन्देश इत्यादि लोप हुँदै जान लागेको समय थियो त्यो । कैयौं साप्ताहिक जन्मने र मर्ने क्रम जारी थियो । अब त अमेरिकाको विश्वप्रसिद्ध ‘न्युज विक’ समेत प्रिन्ट हुन छाडिसक्यो । तर, जनआस्थाले नयाँ आयाम ‘खोजी पत्रकारिता’मा जोड दिँदै गयो । चाहे शासनसत्तामा रहेका उच्च व्यक्तिहरु हुन् या प्रशासक, सेना, दरबार, प्रहरी, न्यायालयका गोप्य र अनियमित धन्दा नै किन नहोउन्– जनआस्थाले छरपष्ट पारिरह्यो ।

यस्तो अनुसन्धान र खोजी पत्रकारिता गर्न ठूलो मुटु चाहिन्छ । अनि ठाउँको ठाउँ सूत्र पहिल्याउनु र त्यस्ता श्रोतलाई जोगाउनु त्यत्तिकै निपूण कला हो । श्रोतको गोपनीयता रक्षामा धैर्य र इमानको आवश्यकता हुन्छ । नत्र उही भनाइ छ– काठको भाँडोमा खाना एकपटक मात्र पाक्छ । प्रकट भएको सूत्र जलेर भष्म नभए पनि नराम्ररी पिल्सन्छ । जनआस्थाको सम्पादकका रुपमा किशोर श्रेष्ठबिना सत्ता, राजनीति र अपराधको पनि राजधानी काठमाण्डुमा खोजी पत्रकारिता लामो समय चल्न सम्भव थिएन ।

यतिबेला नेपालमा दर्ता भएका र नभएका पत्रकारहरुको संस्था १० हजार नाघिसकेको छ । अस्ति भर्खर एकजना अपरिचित व्यक्तिले फोन गरेर भन्नुभयो, ‘म तपाईंको टीभी अन्तर्वार्ता लिन आउँछु, समय पाऊँ ।’ दुई दिनपछि उहाँ आउनुभयो । साथमा कोही छैन । एक्लै क्यामेराका साथ देखेर भनें, ‘अरु हुनुहुन्न ?’ उहाँले भन्नुभयो, ‘यो अनलाइन टिभी हो । सबै काम एक्लै गर्छु । सोध्छु पनि मै, रेकर्ड गर्छु पनि मैले नै ।’

अनौठो लागेर सोधें, ‘प्रसारण गर्ने अफिस, स्टुडियो, स्टाफ कोही छैन ?’

उहाँले भन्नुभयो, ‘म र मेरो क्यामेरा छ ।’

मैले थपें, ‘प्रसारणचाहिँ कसरी गर्नुहुन्छ ? त्यसका लागि केही कुरा त चाहिएला नि !’

उहाँले भन्नुभयो, ‘त्यो पनि चाहिँदैन, म यसलाई युट्युबमा हालिदिन्छु । उसैले विज्ञापन थप्छ । जति विज्ञापन चल्छ, त्यसअनुसार केही पैसा मैले पाउँछु ।’

सुन्दा गजब लाग्यो । सञ्चारजगत कुन दुनियाँमा पुगिसकेछ । स्टाफ छैन, एउटै संवाददाता छैन, अफिस छैन, विज्ञापन पनि खोज्नुपर्दैन, कागज किन्न र प्रिन्ट गर्न केही खर्च लाग्दैन, तैपनि टिभी चलाउन सकिन्छ ।

फेरि फर्कौं जनआस्थाकै प्रारम्भिक कालतर्फ । जनआस्थामा त्यस समय प्रधानसेनापति र लाइनमा रहेका भावी प्रधानसेनापतिद्वारा भएको भ्रष्टाचारको समाचार प्रकाशित भयो । त्यस समय मेरा घनिष्ठ अर्का पत्रकारले भन्नुभयो, ‘यो किशोर कालगतिले मर्दैन ।’ केही नबोली चुप लागेर सुनिरहें । राजा परमाधिपति भएका बेला, शाही सेनालाई छुनै नहुने, विरोधमा सार्वजनिक रुपले बोल्नै नहुने बेला कमाण्डर इन चिफकै राजीनामा मागेर समाचार लेख्नु र सोही साँझ सेनापतिको जागिर जानु चानचुने कुरै थिएन ।

मान्छे किन लेख्छ ? धेरै रिसर्चपछि पत्ता लागेको सत्य कुरा यही हो कि ‘लेख्न मन लागेर लेख्छ ।’

यो लेख्न मन मसँग जहाँ हुँदा पनि रहिरह्यो । आज ८२ वर्षको उमेरमा पनि जनआस्थालगायतमा लेख्दैछु र छापिँदैछ । जनआस्थामा वर्तमान नेपालका कैयौं ठूला र सफल दैनिकसम्बद्ध सम्पादक र पेशेवर पत्रकारहरुले कुनै समय काम गर्नुभएको रेकर्ड छ । कैयौं प्रसिद्ध कार्टुनिष्ट र फोटोग्राफर पनि यसैमा संलग्न हुनुहुन्थ्यो । ‘जनआस्था’ को पहिलो अंक निस्कँदा म विराटनगर (मोरङ–५) बाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिएँ । किशोर श्रेष्ठको फोन आएपछि त्यहीं लेखेर एयर डकुमेन्ट गरी पहिलो नोट अफ डिसेन्ट पठाएँ । नोट अफ डिसेन्टमा प्रचलित धारणासँग भिन्न ढंगले सत्य लेख्ने प्रयास गर्थें । पहिलो अंकमा लेखेको थिएँ कि संसार सत्यभन्दा पनि झूठले चलाइरहेको छ । यसको प्रमाणस्वरुप मैले भनें– सात अर्ब जनसंख्यामध्ये आज पनि झण्डै पाँच अर्बले संसार भगवानले चलाएको मान्दछ ।

आज चाल्र्स डार्बिनको ओरिजिन अफ स्पेसिज प्रकाशनको पौने दुई सय वर्षपछि पनि सबैभन्दा बढी मान्छेले विश्वास गर्ने क्रिश्चियन धर्मको ‘बाइबल’ मा भनिएको छ– भगवानले ६ दिन लगाएर समस्त ब्रह्माण्ड, पृथ्वी, जल, थल, प्राणी र मानिस बनाए र सातौं दिन आराम गरे । पितापुर्खाहरुका यस्तो कल्पना संसारका सबै धर्महरुमा पाइन्छ । यस्तै झूठलाई आजका मान्छेले पत्याइरहेकै छन् र संसार ‘इन गड वी ट्रष्ट’ भनी चलिरहेको छ ।

जनआस्थाको पहिलो अंकमा सम्पादकमण्डलमा किशोर श्रेष्ठभन्दा माथि सल्लाहकारको रुपमा मेरो नाम छापिएको छ । किशोरले अरु पार्टी र शासक–प्रशासकको मात्र गलत कामको भण्डाफोर गरेनन्, बरु सत्तारुढ नेकपा (एमाले) को आफू सदस्य भएर पनि यसका मन्त्री र ठूला नेताहरुको गलत कामलाई निष्पक्षतापूर्वक सार्वजनिक गरिरहे । त्यस समय म नेकपा (एमाले) सांसदका साथै केन्द्रीय सल्लाहकार कमिटीको सभापति पनि थिएँ ।

जनआस्थामा गृहमन्त्री केपी शर्मा ओलीकै झापा जिल्लामा भारतले जंगेपिलर सार्दा रविन साय्मिको कार्टुन छापियो, जसमा नयाँ जंगेपिलर भनी ओलीको चित्र कोरिएको थियो । कहिले नयाँ पद सिर्जना गरी शक्तिशाली उपमहासचिव चलाइरहनुभएका वामदेव गौतमबारे समेत समाचार आयो ।

मेरो नियमित स्तम्भ लगातार निस्केपछि पार्टी केन्द्रीय कमिटीमा त्यो विषय उठाइयो । र, म जनआस्थाको सल्लाहकारबाट राजीनामा दिन बाध्य भएँ । मैले छोडेपछि आवास तथा भौतिक योजना राज्यमन्त्री प्रेमसिंह धामीले ‘नोट अफ डिसेन्ट’ लेख्न थाल्नुभयो ।

मान्छे लेख्न मन लागेर लेख्छ । यसरी प्रेमसिंह धामीले मन्त्री रहँदा पनि लेख्न छाड्नुभएन । धामीसँग मेरो मित्रताको प्रसंग पनि जोडिहालौं । पहिलोपटक नेपालमा कम्युनिष्ट प्रधानमन्त्री र अरु मन्त्री बनाउने सम्बन्धमा केन्द्रीय कमिटीको बैठक त्यस समय बागबजारस्थित भाडाको घरको माथिल्लो तलामा बस्यो । सामुन्ने सादा काठको कुर्सीमा स्थायी कमिटीका सदस्यहरु र सामु काठका बेञ्चहरुमा केन्द्रीय सदस्यहरु थियौं । संयोगले प्रेमसिंह धामी र म एउटै बेञ्चमा परेछौं । उहाँ प्रथमपटक सुदूरपश्चिम जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

प्रधानमन्त्रीमा मनमोहन अधिकारी र अरु मन्त्रीहरुको नाम आएपछि वामदेव गौतमले सबै पूर्वतिरका मात्र पर्नुभयो भन्नुभयो । मैले भनँे, ‘प्रेमसिंह धामी सुदूरपश्चिमकै हुनुहुन्छ ।’ मैले त्यसो भनेपछि राज्यमन्त्रीहरुको नाम भन्न छाडेर महासचिव माधव नेपाल र अरु नेता एकैछिन पल्लो कोठामा जानुभयो । र, राज्यमन्त्रीमा प्रेमसिंह धामीको नाम अशोक राई, सलिममियाँ अन्सारी, सुवास नेम्वाङ, भीम रावल, हरि पाण्डेसँगै प्रस्ताव गर्नुभयो । शायद अरु नाम पहिले नै तय थिए होलान् र प्रेमसिंह धामीको नाम पनि थपिएर आयो होला ।

उहाँले जनआस्थामा लेखिरहनुभयो । उहाँको अन्तिम लेख नुवाकोटको जिप दुर्घटनामा मृत्यु हुनुअघि प्रकाशित भयो । फेरि पनि भन्छु, जनआस्थासँग मेरो सहयात्रा आज पनि छ र मलाई यसमा गर्व छ ।

टिप्पणीहरू