पढाइसँग साँचो प्रेम गरौं

तातो खाए जीब्रो पोल्छ भन्ने ज्ञान मानिसले अनुसन्धान, ज्ञान, सूचना, जानकारी, अनुभव आदिबाटै पायो । यसरी नै कुनै पनि राष्ट्रिय महŒवका सामाजिक विषय वा राजनीतिक नीति बनाउँदा वा नीति लागू वा परिमार्जन गर्नुपर्दा विभिन्न स्तरमा अध्ययन र अनुसन्धान आवश्यक हुन्छ । सार्वजनिक नीति लागू गर्दा विभिन्न पक्ष र सरोकारवाला अन्य निकायको सरोकार, हित, सहयोग, समर्थन तथा सहभागिताजस्ता कुरा आउने भएकाले त्यसमा समग्र पक्षको मूल्यांकन र अवस्था अध्ययन गरिनुपर्छ । अनुसन्धानले विषयमा निखार ल्याउँछ । अनुसन्धानमा आधारित भएर गरिएका कदम वा विषयमा जोखिमको मात्रा न्यून हुन्छ । अनुसन्धानले हचुवामा निर्णय गर्ने प्रथालाई निरूत्साहित गर्छ । अनुसन्धान केमा गर्नुपर्छ र केमा गर्नु पर्दैन भन्दा पनि केमा अनुसन्धान चाहिन्न ? भन्ने सवाल आउँछ । एउटा किसानले चार आना जग्गामा गोलभेंडा खेती गर्न पनि उसको आफ्नै अध्ययन र अनुसन्धानले सहयोग गरेको हुन्छ । अनुसन्धान नगरी लागू गरिएको नीति नचपाई निलेको मकैको गेडाजस्तो हुन्छ, जुन पच्न अप्ठेरो हुन्छ र जस्ताको तस्तै निस्कन पुग्छ ।

नीतिहरूको पनि मूल नीति हो राजनीति । मूल नीतिले अन्य नीति, योजना, कार्यक्रम, प्रणाली र शासन आदिमा असर तथा प्रभाव पार्छ । हजामले आफ्नो कैँचीमा निरन्तर धार लगाएजस्तै राजनीतिक दल र संगठनले पनि नीति, विचार, सिद्धान्त, कार्यक्रम, योजना, व्यवहार, तरिका, प्रणाली र विधि र व्यवहारमा निरन्तर बौद्धिक धार र निखारपन ल्याउनै पर्ने हुन्छ । धार नलगाएको हतियारमा खिया लागेजस्तै नियमित अनुसन्धान, विमर्श र व्यवस्थित बौद्धिक खोज नगरेको नीति र विचार समयक्रममा काम नलाग्ने हुन्छ । नेपालको राजनीति र पार्टीको सांगठानिक इतिहासमा तुलनात्मक दृष्टिकोणले हेर्दा तत्कालिन नेकपा एमालेमा नीति, विचार, सिद्धान्त र कार्यक्रमका सम्बन्धमा बढी छलफल, बहस तथा अन्तरक्रिया हुने गरेका थिए ।

नेपालका बुर्जुवा तथा यथास्थितिवादी पार्टीले नीति, विचार र कार्यक्रमका सन्दर्भमा विचार विमर्श गर्नुपर्ने औचित्य र खाँचो देखेनन् र देख्दैनन् । उनीहरू दारू–पानी, पैसा, रक्सी, मासु र बियर, हुलहुज्जत र गुण्डागर्दी आदिको भरमा निर्वाचन जित्ने कुरालाई मात्र राजनीति वा राजनीतिक कर्म वा संगठनको काम र पार्टीको काम हो भन्ने मानसिकता पालेर बसेका छन् र बस्दैछन् । यस्तो सोच र चिन्तन राजनीतिक प्रणाली र पार्टीको भूमिका नबुझ्ने सोच र चिन्तन हो । नेपाली समाज र राजनीतिका हरेक पक्ष–पाटामा अध्ययन र अनुसन्धानको महŒव आजको समय र सन्दर्भमा अझै धेरै बढेको अनुभूति गरिएको छ । त्यसैले होला नेकपाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको छ । हालै सचिवालय सदस्य वामदेव गौतमले कार्यकर्ताले पनि परीक्षा दिनुपर्ने धारणा ल्याएर पार्टीमा नीति, अध्ययन, अनुसन्धान, विश्लेषण, विवेचना र राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना–परिघटनाका सम्बन्धमा अपडेट हुनुपर्ने खालको विचार सार्वजनिक गर्नुभएको थियो । हरेक दृष्टिकोणबाट आजको सन्दर्भ र समाजमा नीति, सिद्धान्त, दर्शन, विचार आदिको अध्ययन र अनुसन्धानको सन्दर्भ र महŒव बढेको देखिन्छ ।

टिप्पणीहरू