राजधानीका सडक र फुटपाथमा माग्ने अचाक्ली

राजधानीका सडक र फुटपाथमा माग्ने अचाक्ली

राजधानीमा सवारी चाप अत्यधिक हुने सडक हो कोटेश्वर,कुपण्डोल, सुन्धारा,न्यूरोड,थापाथली, त्रिपुरेश्वर, स्वयम्भु,चाबहिल,गौशाला क्षेत्र । ती क्षेत्रका सडकमा दैनिक हजारौंको संख्यामा सवारी साधन गुड्छन् । सडकको बीचमा मागेर गुजारा चलाउनेहरुको संख्या निकै देख्न सकिन्छ ।

केही समययता व्यस्त उपत्यकामा सयौंको संख्यामा माग्न हिँडेका महिलादेखि साना बालबालिकासम्म देखिन्छन् । मागेर दैनिकी धान्नेहरुको भीडमा नेपाली मात्र होइन भारतीयसमेत प्रशस्त छन् । भारतबाट संगठित रुपमा समूह बनाएर नेपालमा माग्न आएकाहरु हुलका हुल देखिएका हुन् । विशेषगरी कोरोना महामारी शुरु भएपछि अधिक भारतीय माग्नको लागि नेपाल भित्रिएको सरकारी निकायको अनुमान छ ।

भारतबाट माग्नैको निम्ति आएकाहरुमा पुरुषभन्दा पनि महिला र बालबालिकाको संख्या अधिक छ । झुण्ड बनाएर माग्न बसेकाहरुले बाटो हिँड्ने यात्रीदेखि सवारी चालकलाई समेत दुःख दिने गरेका छन् । गुडिरहेको सवारीलाई रोकेर पैसा माग्ने,हिँडिरहेकाको गोडा समाउनेजस्तो अशोभनीय कार्य उनीहरुले सडकमा खुलमखुल्ला गरिरहेका छन् । यसबाट सडक दुर्घटनाको समेत सम्भावना बढेको ट्राफिक प्रहरीको अनुभव छ ।

“चिसोमा खाली खुट्टा,फोहोर कपडा र काखमा बोकेको बच्चा देख्दा जसलाई पनि दया जाग्नु स्वाभाविक हो ।”

विशेषगरी उनीहरु पर्यटकको शरीरमै झुण्डिएर पैसा माग्ने गर्छन् । त्यसमा साना बालबालिका बढी संलग्न भएको पाइन्छ । मानिसले बोकेको झोला तान्ने,पैसा नदिएमा हात नछोड्ने,पछि लागेर हैरान पार्ने उनीहरुको दिनचर्या नै हो । यसो गर्दा विशेष कामले सडकमा हिँडेका सवारी साधनका चालक,यात्रु र सडक पेटीमा हिँडेका पैदलयात्रीहरुलाई सास्ती हुने गरेको गुनासो छ ।

शहरमा त्यसरी झुण्डमा हिँडेका अधिकांश महिलाले दूधे बालक बोकेको भेटिन्छ । चिसोमा खाली खुट्टा,फोहोर कपडा र काखमा बोकेको बच्चा देख्दा जसलाई पनि दया जाग्नु स्वाभाविक हो । त्यहि अवस्थाको फाइदा उठाउँदै उनीहरुले सडकमा माग्ने कार्यलाई बढावा दिएको धेरैको अनुमान छ ।

शारीरिक रुपमा हट्टाकट्टा भएकाहरुले यसरी मागेर खानु नैतिक अपराध हो । यस्ताको व्यवस्थापनमा स्थानीय तह तात्न आवश्यक भइसकेको नागरिक अगुवाहरुको भनाइ छ ।

नेपालीको आनिबानीले यस्तो मौलायो : ट्राफिक प्रहरी

ट्राफिक प्रहरीका प्रवक्ता सञ्जीव शर्मा दासले नेपालीहरु धेरै दयालु भएकाले सडक र बाटोमा माग्नेको संख्या बृध्दि भएको बताउनुभयो । उहाँका अनुसार पैसा माग्नेबित्तिक्कै दिने बानीले यस्तो कार्यलाई बल पुग्छ । त्यसैले नदिने हो भने यस्तो प्रवृत्तिमा स्वतः न्यूनीकरण हुने दासको बुझाइ छ ।

नेपाल भित्रिएका यस्ता मागी खाने प्रवृत्तिका मानिसलाई सीमानामै कडाइ गर्नुपर्ने धेरैको भनाइ छ । उपत्यकालगायतका ठूला शहरबाट उनीहरुको व्यवस्थापन गर्न स्थानीय तह,नेपाल प्रहरी र ट्राफिक प्रहरीवीच समन्वयको खाँचो रहेको ठहर गरिएको छ । सबै सरकारी निकायले हातेमालो गरेर सडकमा देखिएको गलत प्रवृत्तिलाई रोक लगाउनुपर्नेमा प्रहरी प्रवक्ता बिष्णु केसीको जोड छ ।

तथ्याङ्क यकिन छैन : बालअधिकार परिसर

राष्ट्रिय बालअधिकार परिसरका कार्यकारी निर्देशक मिलनराज धरेलले राजधानीमा माग्न हिँड्ने गरेका मानिसको ठ्याक्कै तथ्याङ्क नभएको जानकारी दिनुभएको छ । उहाँले पछिल्लो समय मगन्तेहरुले धेरै दुःख दिएको गुनासो आएकाले आफूहरुले अर्को सातादेखि अनुगमन गर्ने बताउनुभयो ।

बाबुआमाले नै माग्न पठाउँछन् : बालबालिका,खोजतलास तथा समन्वय केन्द्र

बालबालिका खोजतलास तथा समन्वय केन्द्रका एक जना अधिकारीले बाबुआमाले नै आफ्ना बालबालिकालाई माग्नको लागि सडकमा पठाउने गरेको दाबी गर्नुभएको छ । कतिपय अन्यत्रबाट आएकाले माग्ने कामलाई पेशा नै बनाएको उहाँको भनाइ छ ।

केन्द्रले टिम परिचालन गरेर सडकमा माग्न बस्नेहरुको न्यूनीकरणमा जोड दिने बताएको छ । सडकमा माग्ने कतिपयले आफ्नो धेरै पुस्ताले यसरी नै जीवन बिताएको बताएका छन् ।

पछिल्लो समय विश्व नै आधुनिकतातिर लागिपरेको छ । श्रम र परिश्रमको चर्चा हुँदै गर्दा नेपालमा भने माग्ने प्रवृत्ति मौलाउँदो छ । हुन त केही वर्षअघि मुलुकका सडक र विशेषगरी राजधानीका सडकलाई माग्नेमुक्त बनाइएको घोषणा गरिएको थियो । तत्कालीन ओली सरकारले उक्त घोषणा गरेको हो । तर,उक्त अवस्थामा न हिजो परिवर्तन आएको थियो न आज नै सुधार छ ।

टिप्पणीहरू