अध्यक्ष प्रचण्डसँग जेलबाटै आग्रह

आदरणीय कमरेड प्रचण्ड (अध्यक्ष), नेकपा, यो पत्र लेखौं कि नलेखौंको दोधारमा झण्डै तीन वर्ष बिताएँ । लेख्नै पर्छ भन्ने लागेर हिम्मत जुटाएको छु । दिवंगत प्रिय भाइ प्रकाशप्रति श्रद्धासुमन टक्र्याउँछु र आदरणीय कमरेड सीता दाहालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

रोल्पाको थुर्पा लेकमा पहिलोपटक मैले तपाईंंलाई प्रत्यक्ष रूपमा भेटेको छु, हात मिलाएको छु, सैन्य भेलामा तपार्इंले दिएको उद्घाटन मन्तव्य सुनेको छु । रुकुमका कमरेड योद्धाजीले तपाईंंको लामो कपाल मिलाइदिँदा नजिकै उभिएर श्रद्धाभावसाथ हेरिरहेको गोरो वर्णको पातलो अग्लो केटा मै थिएँ । तपाईंहरू (छापामार)को जस्तो धेरै छोटोचाहिँ नबनाउनुहोला है, ठिक्क मिलाई दिनुहोला….. । तपाईंले गर्नुभएको सरल भाषाको निवेदनलाई मैले उत्सुकतासाथ नोट गरेको थिएँ । पछि थाहा पाएँ शहरतिर हिँडडुल गर्दा, रहँदाको कपालले क्यामोफ्लाज गर्न सजिलो हुन्थ्यो । छद्म भेषमा दुश्मनको इलाकामा समेत हिँडडुल गर्नुपर्ने भएकाले त्यसो  गर्नुपरेको रहेछ । स्मरण रहोस्, त्यतिञ्जेलसम्म प्रचण्डको कुनै खाले तस्बिर सार्वजनिक भएको थिएन । दोस्रो भेट जनमुक्ति सेना नेपालको पहिलो राष्ट्रिय भेला कुरेलीको उपवाङमा भएको हो । यतिबेला आधा फुलेका दाह्रीजुँगा झपक्क पालिएको थियो । थुर्पामा भेट्दा तन्नेरी, चंख र भर्खरको जुझारु  युवा लागेको थियो । त्यतिबेला म आरएफ प्लाटुनको कमाण्डर थिएँ । तेस्रो पटकचाहिँ दोस्रो खारा लडाइँको कार्ययोजना बनाउँदा र लडाइँबाट फर्किएपछिको समीक्षात्मक छलफलमा सामेल छु । जित्नै पर्ने लडाइँबाट फर्किनुपर्दाको पीडा राख्दै गर्दा तपाईंकै सामुन्नेमा बलिन्द्रधारा आँशु बगाएको छु । मेरो एउटा लेख ‘खारा मोर्चाका ऐतिहासिक शिक्षाहरू’ प्रकाशन भएपछि मेरो आदर्शको कमाण्डर दाइ पासाङलाई परेको चोटलाई अहिले पछि स्मरण गर्नेछु । सम्भवतः यसबारे चुनबाङ बैठक भर्खरै सम्पन्न जनरल स्टाफको बैठकमा समेत छलफल भएको थियो । मेरा कमाण्डरले महतको लडाइँमा अध्ययन नै नगरी बंकर छेउ पुग्ने र प्युठानको भिंग्रीमा आफ्नो ग्रुपलाई नै नभेट्ने सिकारु युवालाई सक्षम बनाउनुभयो । मलाई कमाण्डर बनाउन लायक मात्रै होइन हार्न नजान्ने कमाण्डर बनाउनुभयो । हालका उपराष्ट्रपति उनै पासाङप्रति म सधैँभरि सकारात्मक तथा आभारी छु । मैले तपाईंले गर्नुभएको खारा मोर्चाको ३ बुँदे संश्लेषणको व्याख्या मात्रै गरेको थिएँ । त्यसले पारेको भ्रमप्रति पासाङसँग क्षमा मागिसकेको छु । अन्तिम युद्धविराम र शान्तिवार्ताको प्रारम्भमा तपाईं मकवानपुरको हाँडीखोला (चकरमकरी) आउँदा म त्यहीँको ब्रिगेड कमाण्डर भएकाले सम्पूर्ण सुरक्षा व्यवस्था हेर्ने अवसर पाएको थिएँ । एकदिन बिहानै आफ्नो कोठामा कुमार दाइ (हरि अधिकारी) र मलाई भेटेर हाम्रो जनमुक्ति सेनाको मनोविज्ञान कस्तो हालतमा छ भनेर चासो राख्नुभएको थियो । हामीले छोटो रिपोर्ट ग¥यौं । त्यसपछि तपाईंले सबै साथीलाई लड्नका लागि तयारी हालतमा राख्नुहोला र लड्नुपर्छ भन्ने कुरा बिर्सनुहँँुदैन । हामीले जनताको राज्यसत्ता ल्याउनका लागि लड्नै पर्छ । प्रतिक्रयावादी साशकले यो वार्ताबाट हामीलाई केही दिने छैन । यसै मौकामा तालिमलगायत तयारीका कामलाई घनीभूत पार्नुपर्छ । वार्ता ट्याक्टिस मात्र हो । हामीले अन्तिम युद्धको घनीभूत तयारी गर्नुपर्छ है ! साथीहरूलाई यही सन्देश सुनाउनुहोला । राजधानी काठमाडौं हिँड्नुभयो । त्यसपछिका कैयौं पार्टीका बैठक, सभा, समारोहमा तपाईंलाई सुनेको छु । पार्टीले बनाएको ठूलो पर्दाको चलचित्र लाल सलाम पनि नजर गर्नुभएको छ । यो परिचयमा अब बढी नलेखांै । बरु प्रदीप नेपाल सरको खेदपूर्ण, दुराशययुक्त भनाइसँगै केही बुँदागत सवाल राख्ने अनुमति चाहन्छु ।

दुई कम्युनिष्टलाई एक गराउनमा तपाईंको भूमिका के ?

मैले धेरै पहिला प्रचण्डलाई एमालेमा आउनुस् वरिष्ठ नेता बनाउँछौ भनँे, टाउको हल्लाउनुभयो, मेरो कुरा मन पराउनुभएन, मैले त एउटा एजेण्डा हालिदिएको मात्र हो । एक भएको राम्रो तर हाम्रो र उहाँहरूको कार्यशैली नै मिल्दैन । हामी सदाचारी हांै । महराजस्तो केशमा मैले देशनिकाला गरेको छु । हामी त्यस्तोमा हुर्कियौँ, उहाँहरू यौन स्वतन्त्रतामा हुर्किनुभयो । उहाँहरू जबर्जस्तीमा हुर्किनुभयो, हामी निर्देशनमा हुर्कियाँै । सेल्टर बनाउनुप¥यो भने जनताकहाँ जाने, आफू सानो हुने, सेल्टरदातालाई ठूलो बनाउने हाम्रो चरित्र हो । उहाँहरू बन्दुक लिएर जाने, हकार्ने नभए ढ्वांग पार्ने किसिमले आउनुभयो । वर्ष २५ अंक ३४, ०७६ साल मंसिर ४ गते प्रकाशित अन्तर्वार्ता ।  माओवादी र दशवर्षे जनयुद्धको योभन्दा विवेकशून्य मूल्यांकन के हुन सक्छ ! के माओवादी महान् जनयुद्धले विकास, संरक्षण र लागू गरेको संस्कार यही हो ? महरा सरप्रति यति धेरै प्रहार किन ? के महरालाई लागेको आरोप यो पृथ्वीमा अरू कसैलाई लागेको छैन  कुनै अर्को ग्रहमा देखिएको समस्या हो र महरा सरको ? महरालाई लगाइएको आरोप, कथित मानसिक पीडित महिलाको बोली फेराई नाटक अनि विभिन्न खाले टीकाटिप्पणीबारे हामी जानकारी नै छाँै । करणी गरिएको भनेर कतै भनिएको छैन । करणी प्रयास (उद्योग) शीर्षकमा मुद्दा दर्ता भएको छ । अदालतले हेर्दै छ । प्रदीपजीहरू किन यति धेरै रमाउनुभएको ? जाहेरी पक्षले प्रतिवादीलाई लगाएको आरोप झुटो हो, मलाई केही भएकै हैन वा हाम्रो सहमतिमा खुशीसाथ सम्बन्ध भएको हो भन्ने व्यहोराको इन्कारी बयान अदालतमा बुझाउँदा, प्रतिवादी सामान्य धरौटीमा छुट्ने सफाइ पाउने नजिर प्रशस्तै छन् । महरामाथिको आक्रमण र पार्टीका नेताले खदिएको गैरजिम्मेवार व्यवहारले त एमालेमा गाभिनु आत्महत्या गर्नुसरह हो भन्ने कुराको पुष्टि गर्न सक्छ होइन र ? अनि महरा सरलाई प्रहरीले हिरासतमा कोच्दै गर्दा सहकर्मी अर्का जोखबहादुर महरा सरले काठमाडौंको टोखामा अढाई करोडको महल किन्नुभयो भन्ने खबर सुन्दा नमज्जा लाग्यो । नाइट बस र एस्काभेटरको मालिकसमेत बन्नुभएका जोखबहादुर वर्षौंदेखि तपाईंसँगै हुनुहुन्छ । हामीले यसलाई संयोग अथवा के भनेर बुझ्ने ? तपाईंको निजी सचिवालयको नेतृत्व गरिरहेको एउटा महरा काठमाडौंमा सपनाको महल किनेर तामझामपूर्वक भित्रिँदै गर्दा अर्को महरा प्रहरी हिरासतको कष्टडीमा थुनिँदै गरेको समाचारले मनमा खिन्नता आउँछ ।

तपाईंलाई आफ्नो खुशीअनुसार जिउने अधिकार छ । तर, हामीजस्ता हजारौं युवालाई नयाँ जनवादी व्यवस्थाको ठुल्ठूला सपना देखाएर अलपत्र पार्ने हकचाहिँ छैन । जसले आफ्नै विगत बिर्सिएको छ, सम्झन चाहन्न, त्यसले आफ्नो भविष्य बनाउन सक्दैन । कृपया आफ्नो विरासतलाई साक्षी राख्दै यसबारे केही बोलिदिनुहोला भन्ने आग्रहसहित यसपालि बिदा भएँ, लालसलाम !

– कास्की कारागार, पोखरा

टिप्पणीहरू